शिक्षकहरूले राजधानी तताउँने, सबैलाई प्रतिकारमा उत्रन महासंघकाे आह्वान


काठमाडौं – आइतबारको झडपपछि नेपाल शिक्षक महासंघले राजधानी केन्द्रित आन्दोलनलाई थप चर्काउने घोषणा गरेको छ। महासंघले शान्तिपूर्ण आन्दोलनरत शिक्षक र कर्मचारीहरूलाई लक्षित गरी सरकारले गरेको ‘क्रूर दमन’ को प्रतिकार गर्ने बताएको छ।

नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले एक विज्ञप्ति जारी गर्दै आन्दोलनलाई समर्थन गर्न सबै पेशागत संगठन, शिक्षा सरोकार समूह र आम नेपाली जनतालाई आह्वान गरेका छन्। उनले भनेका छन्, “नेपाली शिक्षक–कर्मचारीहरू अग्रगामी विद्यालय शिक्षा ऐन नभएसम्म आफ्ना कार्यक्षेत्रमा फर्किने छैनन्।”

महासंघका अनुसार माघ २० गतेदेखि विद्यालय शिक्षामा सुधार र शिक्षक–कर्मचारीको पेसागत हकहितका लागि शान्तिपूर्ण आन्दोलन हुँदै आएको थियो। तर, आइतबार भएको बल प्रयोगपछि सरकारको “अलोकतान्त्रिक, दमनकारी र शिक्षा विरोधी चरित्र” उजागर भएको महासंघको ठहर छ।

शिक्षक महासंघले देशभरका सबै शिक्षक–कर्मचारीलाई अनिवार्य रूपमा काठमाडौं आइ आन्दोलनमा सहभागी हुन आह्वान गरेको छ। आन्दोलन चर्किंदै गएमा देशभरको विद्यालय शिक्षा प्रणाली थप प्रभावित हुने सम्भावना देखिएको छ।

सरकार र आन्दोलनरत पक्षबीच वार्ताकाे पहल नभए स्थिति थप जटिल बन्ने अनुमान गरिएको छ।

प्रतिक्रिया