

शिक्षकहरूमाथि सरकारको बर्बरताप्रति कांग्रेस चुप बस्दैन : डा. शेखर कोइराला

काठमाडौं — नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले सरकारले शिक्षकहरूमाथि देखाएको बर्बर व्यवहारको कडा आलोचना गर्दै कांग्रेसले यस्तो अन्याय सहन नसक्ने चेतावनी दिएका छन्।
विपी कोइराला सोसलिस्ट इन्टरनेशनल नेपालले सोमबार काठमाडौँमा आयोजना गरेको ‘विपीको समाजवाद र स्थानीय सरकार’ पुस्तक लोकार्पण तथा ‘आजको सन्दर्भमा विपीको समाजवादी चिन्तनको सार्थकता र सान्दर्भिकता’ विषयक विचार गोष्ठीमा बोल्दै कोइरालाले आइतबार शिक्षकहरूलाई दमन गर्नु निन्दनीय मात्र नभई घृणितसमेत भएको बताए।
उनले कांग्रेस सरकारले सहकार्य गरिरहेको एमालेसँग मन्त्रीहरूले मिलेर काम गर्नु स्वाभाविक रहेको बताउँदै सरकारबाहिर रहेका नेताहरूले भने सरकारका गलत काम र कमजोरीविरुद्ध स्पष्ट आवाज उठाउनुपर्ने बताए। कोइरालाले कार्यकर्ताहरूलाई सरकारले गरेका गल्ती र कमी कमजोरीप्रति निर्भीक रूपमा औँला ठड्याउन आग्रह गर्दै आफूले त्यसका लागि आवश्यक साहस र समर्थन प्रदान गर्ने आश्वासनसमेत दिए।
“शिक्षकहरूमाथि हिजो सरकारले देखाएको बर्बरता निन्दनीय मात्र होइन, घृणित पनि हो। नेपाली कांग्रेसले यस्तो व्यवहार कहिल्यै सहन सक्दैन,” कोइरालाले भने, “सरकारभित्रका साथीहरू एमालेसँग सहकार्य गरेर जानुहोस्, मलाई केही आपत्ति छैन। तर हामी सरकारबाहिर रहेका कार्यकर्ताहरूले सरकारका कमी, कमजोरीमा स्पष्ट रूपमा आवाज उठाउनै पर्छ। तपाईंहरूलाई त्यसका लागि म साथ दिन तयार छु।”
उनले अब पार्टी मात्र होइन, राष्ट्रका लागि पनि सशक्त आवाज उठाउनुपर्ने आवश्यकता औंल्याए।

