पाँच वर्षमै १ हजारबाट ३ लाख ६० हजारको यात्रा, आईपीओ ‘होल्ड’ कि ‘सोल्ड’ ?


संसारको पूँजी बजारलाई नियालेर हेर्ने हो भने नेपालको शेयर बजार एकदमै सानो लाग्न सक्छ तर आफ्नो थोरै आम्दानीलाई सानो लगानीबाट सुरु गर्ने लगानीकर्ताहरुको लागि भने यहि बजार नै फेरी संसार बन्न पुगेको छ । धितोपत्र बोर्डले शेयर बजार सबैको पहुँचमा पुगोस भनेर न्यूनतम १० कित्ते निती ल्याएको थियो, जुन बुक बिल्डिङ्ग विधि बाहेकको आईपीओमा हालसम्म पनि यथावत नै रहेको छ । यहि निती व्यवस्थाले गर्दा पनि नेपाली शेयर बजारमा धेरै आकर्षित हुँदै गएका छन् । १० कित्ते नितीले ठूला लगानीकर्ताहरुलाई असर गरेतापनि भएका धेरै साना लगानीकर्ताको लगानी गर्ने बानीमा भने दिन दुई गुणा रात चौगुणाको दरले विकास गरिरहेको छ । आकर्षणको अर्को पक्ष कागजी व्यवस्थाको अन्त्यसँगै सुरुवात भएको डिजिटल कारोबार व्यवस्था पनि हो ।

धेरैलाई थाहा नहुन सक्छ अनि सुन्दा पनि कुनै दन्तेकथा वा मनगढन्ते कहानी सुनाए झैँ लाग्न सक्छ तर सत्य सत्य नै हुन्छ । कुरा के हो भने नेपाल पुर्नबिमा कम्पनीको आईपीओ खुल्नुभन्दा अघिसम्म नेपालमा डिम्याट अकाउन्टका मालिकहरु लगभग चार लाखको हाराहारीमा मात्र थिए भने डिम्याट हुनेजति सबैले आईपिओ पनि भर्दैनथे । यो तथ्यांक कुनै दशकअघिको नभएर गतबर्ष चैततिरको हो । त्यतिबेला शेयर बजारको बारेमा धेरैलाई ज्ञान नै थिएन अनि प्रायः जानकारहरु पनि शेयर बजारलाई भ्रमको खेति हो भन्न पछि पर्दैनथे । तर झण्डै एकबर्षको अन्तरालमा शेयर बजारका अनविज्ञ र ति अल्पविज्ञ आलोचकहरुलाई पनि शेयर बजारले आफ्नो पक्षकै पोल्टोमा पार्दै गएको छ । हालसम्मको तथ्यांक हेर्दा डिम्याट खाता खोल्नेहरुको संख्या ३१ लाख नाघिसकेको छ । एकबर्षको अन्तरालमा शेयर बजारमा झण्डै २७ लाख नयाँ लगानीकर्ताको प्रवेश हुनु निकै अचम्मको कुरा हो । शेयर लगानीकर्ताहरु यसरी बढ्दै जानु यसको बजार बिस्तार र बिकासको लागि पनि निकै उत्कृष्ट पक्ष हो ।

यसरी धेरै नयाँ लगानीकर्ताको प्रवेश सँगै सबैको कौतुहलताको मुख्य बिषय ‘आईपीओ छिट्टै बेच्ने कि राख्ने ?’, आफूले निकै दुख गरेर कमाएको पैसाको लगानीबाट कहिले र कति प्रतिफलको आशा राख्ने ?, आईपीओलाई होल्ड गरे बनिएला त करोडपति ?

आईपीओको एउटा चाखलाग्दो प्रसङ्गः ५ वर्षमै १ हजारदेखि ३ लाख ६० हजारसम्मको यात्रा

आजभन्दा ४ बर्षअघि जनउत्थान सामुदायिक लघुबित्तको १० कित्ता आईपीओ परेर हालसम्म होल्ड गरेर राख्नेहरु आजसम्म बोनस र हकप्रद शेयर गरेर ४० कित्ताको मालिक बनिसकेका छन् । जसमा १० कित्ता हकप्रद शेयर र १५ कित्ता बोनस शेयर रहेको छ । हालसम्मको यसको बजार मूल्य लगभग ४००० रुपैयाँको हाराहारीमा रहेको छ । जसअनुसार चारबर्ष अघिको रु १००० को लगानी आजसम्म रु १ लाख ६० हजार (४०×४०००) हुन आउँछ । त्यसैगरी यो बर्षको ५० प्रतिशत शेयर र त्यसपछि पारित हुने २०० प्रतिशत हकप्रद शेयर दुबै जोडिँदा यसको कुल शेयर संख्या करिब १८० कित्ता हुन आउँछ । त्यसपछि यसको बजार मूल्य समायोजन भएर रु २००० नै भएपनि १० कित्ता मालिकको मोटामोटी ५ बर्षमा जम्मा ३ लाख ६० हजार (१८०×२०००) रुपैयाँ हुन आउँछ । जहाँ तपाईँको आईपीओ, बोनस र हकप्रद शेयरमा गरेर कुल लगानी १४ हजार ५ सय मात्र हुन आउँछ ।

त्यसैले आईपीओको १० कित्ता त हो भनेर थोरै नाफा पाउँदैमा बेचिहाल्न जरुरी छैन । राम्रा कम्पनीमा थोरैमात्र लगानी भएपनि त्यसले भविष्यमा राम्रो प्रतिफल दिन्छ जहाँ लगानीसँगै जोखिम पनि एकदमै न्यून हुन्छ । तर, यस्तै सोचले शेयर होल्ड गरेर बस्नेहरु नेकोन एयर र श्रीराम सुगर मिल जस्ता कम्पनीबाट आफ्नो लगानी नै डुबाउन पनि बाध्य भए । त्यसैले आईपीओलाई कहिलेसम्म राख्ने र कहिले बेच्ने भन्ने कुरामा भने निक्कै ध्यान दिन जरुरी हुन्छ । जुन कुराहरुलाई तल निम्नानुसार प्रस्ट्याउन खोजिएको छ ।

आईपीओलाई छिट्टै बेच्ने कि लामो समय होल्ड गर्ने ?

कुनैपनि कम्पनीको शेयरको आईपीओलाई बेच्दा बा दोश्रो बजारबाट शेयरलाई किन्दा प्राइसमा भन्दा पनि कम्पनिको भ्यालुमा ध्यान दिनुपर्दछ । १० कित्ता शेयर छ भन्दैमा हजार रुपैयाँ लगानी त हो भनेर थोरैमात्र नाफामै बेचिहाल्नु हुँदैन । त्यसले भबिष्यमा कस्तो मोड लिन्छ त्यसको बिचार गर्नुपर्दछ, जुनकुरा हामी कम्पनीको साधारण बिश्लेषणबाट नै थाहा पाउन सक्छौँ ।

कम्पनीको बिश्लेषण दुई तरिकाबाट गर्न सकिन्छ । एउटा कम्पनीको वर्तमान आम्दानी र लाभांश बितरणको अवस्थाबाट कम्पनी कस्तो छ र यसको भावि अवस्था कस्तो रहनेछ भन्ने कुरा अनुमान गर्न सकिन्छ भने अर्को कम्पनीको रणनिती र आर्थिक बृद्धिलाई आंकलन गरेर नै आगामी दिनको पूर्वानुमान गर्न सकिन्छ । बिश्लेषण, आंकलन तथा पूर्वानुमानको काम एकदमै जटिल काम हो । होला बिश्लेषणको काम सजिलो तर त्यसको पूर्वानुमानले नतिजालाई सहि साबित गराउन भने निकै कष्टकर हुने गर्छ । जसले वर्तमान भन्दापनि भविष्यको बिश्लेषणबाट कम्पनीको भ्यालु डिटरमाइन्ड गर्न जान्यो त्यो नै शेयर  शेयर बजारमा सामान्य भन्दा केहि बढि हिस्सा प्रतिफलको भागिदार बन्न सफल हुनेछ । यस्तै कुराहरुको एउटा जल्दोबल्दो उदाहरणको रुपमा नेपाल पुर्नबिमा कम्पनीको शेयरलाई लिन सकिन्छ ।

लगानीकर्ताले हल्लाको पछि लागेर कम्पनीको भित्रि कुराको बिचार नगरी मूल्यको आधारमा मात्रै यसको शेयरलाई रु ५०० देखि बेच्न सुरु गरेका थिए भने मूल्य रु ८०० सम्म पुग्दा धेरैले शेयर बेचिसकेका पनि थिए । हाल यसको बजार मूल्य रु १५०० को हाराहारीमा रहेको छ र यसको भविष्य पनि निकै राम्रो भएको कुरामा कुनै दुईमत छैन । रु ५०० मा वा त्यो भन्दा कम मूल्यमा यसको शेयर किन्नेहरु आज ३ देखि ४ गुणा बढी मुनाफाको हिस्सेदार भइसकेका छन् ।

कम्पनीको फ्युचर भ्यालु कसरी डिटरमाइन्ड गर्ने भन्ने कुरा आउन सक्छ । यसको लागि कुनै निश्चित सुत्र भने छैन । त्यसको लागि तपाईँले कम्पनीको बिगतको अवस्था, कम्पनीको काम, कम्पनीको भावि उद्देश्य र रणनिती जस्ता सम्पूर्ण कुराहरु बिभिन्न माध्यमबाट खोजेर अध्ययन गर्नु जरुरी हुन्छ । तर, यो कुरा सबैलाई थाहा हुन्छ कि जति नै जे-जे गरेपनि भबिष्यको कुरा शतप्रतिशत भने पक्कै मिल्दैन, गर्ने भनेको सबैले अनुमान नै हो । बरु धेरै अध्ययनले एउटा सफल लगानीकर्ता बनाउन भने साँच्चै ठूलो भुमिका खेल्दछ ।

अन्ततः कुनैपनि कम्पनीको आईपीओ बेच्दा वा दोश्रो बजारबाट शेयर खरिद गर्दा मूल्यमा भन्दापनि कम्पनीको विगत, वर्तमान अवस्था र भविष्यमा कस्तो प्रतिफल प्राप्तिको सम्भावना छ त्यो कुरामा ध्यान दिनुपर्दछ ।

आईपीओमा ‘कफि क्यान इन्भेष्टमेन्ट’ बिधि के हो र यसबाट फाईदा के त ?

धेरै पहिले अमेरिकामा लगानीकर्ताहरुले आफूले शेयरमा गरेको लगानीको प्रमाणपत्रलाई खाली भएको कफिको बट्टामा हालेर राख्दथे । धेरै समय बितिसकेको हुन्थ्यो र उनीहरुले त्यो बिर्सन्थे । जब उनीहरुलाई त्यो याद आउँथ्यो त्यतिबेलासम्म त्यसबाट प्राप्त हुने प्रतिफल सोचेभन्दा निकै बढि भइसकेको हुन्थ्यो । यसरी पाउने सरप्राइज प्रतिफलको मज्जा लिन धेरै लगानीकर्ताहरुले यस बिधिको नक्कल पनि गर्दथे । यसरी आईपिओ भरेर वा सस्तोमा शेयर किनेर लामो समयसम्म बिर्सने वा जानी-जानी शेयर होल्ड गर्ने बिधि नै कफि क्यान इन्भेष्टमेन्ट बिधि हो ।

आईपीओमा यस बिधिको महत्व एकदमै धेरै रहेको र यस बिधि जानी नजानी अपनाउँदा मिल्ने फाईदा तपाईँले माथिको जनउत्थान लघुबित्तको चाखलाग्दो प्रसंगबाट नै थाहा पाइसक्नुभयो होला । आजभन्दा १५ बर्ष पहिला ३ करोडमा खुलेका बैंक आज ३ अर्वको पूँजी हैसियतमा पुगेका छन् । यस्ता बैकले कमाएको मुनाफा खाने लगानीकर्ता पनि पक्कै मोटाएकै हुनुपर्छ, हैन त ?

ल यो त बैंक को कुरा भयो । लगभग ३० बर्ष पहिले इन्स्योरेन्स वा लघुबित्तमा ४–५ हजार लगानी गर्ने लगानीकर्ता आज करोडौँको मालिक बनेका छन् । समयको अन्तराल सँगै लगानी कस्तो ठाउँमा गरिएको छ त्यसले चैँ मुख्य भुमिका खेल्दछ । मेरो बिचारमा पैसाको साह्रै नै जरुरी छ भने त बेच्दा पनि भयो तर इन्स्योरेन्स वा लघुबित्तमा गरेको सानो लगानीले पनि भबिष्यको ठूलो आकांक्षा परिपूर्ति गर्ने हैसियत राख्ने भएकाले यस्तो ब्लू चिप कम्पनीमा भएका आईपीओ वा जुनसुकै शेयरलाई पनि लामो समयसम्म होल्ड गर्नु नै आर्थिक सफलताको एउटा मुख्य पाटो हो ।

 

यो पनि हेर्नुहोस्ः

शेयर शिक्षा-१ः शेयरबाट पैसा कमाउने हो भने यत्ति चाहिँ जान्नुहोस् 

शेयर शिक्षा-२ः सेकेण्डरी सेयर मार्केटमा प्रवेश गर्न चाहनुहुन्छ ? यस्ता छन् मापदण्डहरु ! 

शेयर शिक्षा- ३ः शेयर बजारमा नयाँ ट्रेन्डः के हो त ‘बुक बिल्डिङ’ ? 

प्रतिक्रिया