सेकेण्डरी सेयर मार्केटमा प्रवेश गर्न चाहनुहुन्छ ? यस्ता छन् मापदण्डहरु !


प्राथमिक बजार अन्तर्गत साधारण शेयर (आइपीओ) मार्फत शेयर बजारको राम्रै स्वाद लिन पाएका शेयर लगानीकर्ताहरु हाल  शेयरको दोश्रो बजारमा पनि निकै आकर्षित हुँदै गएका छन् । तर शेयरको दोश्रो बजारलाई सर्सर्ती हेर्दा यो दुहुनो गाई जस्तो भएपनि यसले लात्ती पनि जोडैले बजार्ने गर्छ । दुहुने क्रममा लात्ती खानबाट बच्न सक्नेहरुमात्र यसबाट सफल भएका छन् र यसको सत्य पनि यहि नै हो । प्राथमिक बजारको तुलनामा दोश्रो बजार निकै जोखिमपूर्ण भएकाले शेयर कारोबार गर्न इच्छुकले दोश्रो बजारमा प्रवेश गर्नुपूर्व धेरै कुराहरुमा निकै राम्रोसँग बिचार पु¥याउनु पर्दछ ।

नेपालमा हाल बैंक तथा वित्तिय संस्थाअन्तर्गत बाणिज्य बैंक, विकास बैंक, वित्तिय संस्था (फाइनान्स कम्पनी) र लधुवित्त गरी चार प्रकारका स्विकृत वित्तिय संस्थाहरु सञ्चालनमा रहेका छन् भने बिमा, हाइड्रोपावर, होटल र अन्य कम्पनीहरु पनि स्विकृत सञ्चालनमा रहेका  छन् । हालसम्म नेपालमा २६ वटा वाणिज्य बैंक, २३ वटा विकास बैंक, २३ वटा वित्तिय संस्था, ५० वटा लधुवित्त, ७ वटा जीवन बिमा, १५ वटा निर्जिवन बिमा, ३३ वटा हाइड्रोपावर र अन्य कम्पनीहरु गरी जम्मा २१२ वटा कम्पनीहरु धितोपत्र बोर्डमा सुचिकृत भई कारोबार गरिरहेका छन् ।

धितोपत्र बोर्डले हाल चुक्तपूँजीको नियमा परिवर्तन ल्याएसंगै वित्तिय संस्थाहरुले धमाधम साधारण शेयर (आइपीओ) निष्काशन गरी पूँजी संकलन गरीरहेका छन् । यसरी साधारण शेयरमार्फत शेयरको प्राथमिक बजारमा प्रवेश गर्नेहरु दोस्रो बजारप्रति निकै आकर्षित छन् । दोश्रो बजारमा शेयरको कारोबार अंकित मूल्यभन्दा निकै बढिमा हुन्छ । अर्थात् शेयरको अंकित मूल्य रु १०० हुन्छ, जुन साधारण शेयर (आइपीओ)को प्रति कित्ता मूल्य हो । यहाँ कुन कम्पनीको शेयर कतिमा किन्ने र बेच्ने भन्ने एउटा चातुर्य खेल हो जसको कुनै निर्दिष्ट मापदण्ड हुँदैन जसले कहिले र कतिमा किन्ने वा बेच्ने भन्ने उत्कृष्ट र स्पष्ट उत्तर पाइयोस् । सामान्यतयाः दोश्रो बजारमा शेयरको मूल्य कुनै कम्पनीको माग र आपूर्तिलाई हेरेर निर्धारण हुने मान्यता राखिन्छ तर माग र आपूर्तिलाई पनि आर्थिक वातावरण, राजनैतिक वातावरण, कम्पनीको मुनाफा, लाभांश र बोनस शेयर बितरणको मिती, शेयर बिक्रिकर्ताको अप्रत्यक्ष बिज्ञापन, शेयर खरिदकर्ताको आर्थिक अवस्था र मनोवृत्ति जस्ता बिबिध तत्वहरुले प्रभाव पारिरहेका हुन्छन् ।

तसर्थ शेयर बजारमा लगानी गर्दा स्वविवेकले आफ्नै बिश्लेषणात्मक शैलीको प्रतिपादन गरी कारोबार गर्नु एकदमै उत्तम र सफलताको सुत्र मानिन्छ ।

 

शेयरको दोश्रो बजारमा प्रवेश गर्नुपूर्व केके कुरामा ध्यान दिने ?

साधारणतया बैंक तथा वित्तिय संस्थाहरुको बिश्लेषणको आधारभूत पक्ष भन्ने बित्तिकै प्रतिशेयर आम्दानी (इपिएस्), मूल्य आम्दानी अनुपात (पिइ रेसियो), खुद मूल्य (नेटवर्थ) प्रमुख रहन्छन् । यी तत्वहरुले कम्पनीको चुरो वित्तिय अवस्थाको जानकारी दिन्छ । यि बाहेक  सिसिडि अनुपात, खराब कर्जाको अवस्था, खुद आम्दानी र यसको श्रोत, पूँजीकोषको अवस्था, लगानी र ऋणको प्रवाह जस्ता तत्वहरुको पनि विस्तृत अध्ययन र बिश्लेषण गर्नु पर्दछ । कम्पनीको खुद आम्दानी र प्रतिशेयर आम्दानी उच्च भएमा कम्पनीले नियम अनुसार शेयरधनीहरुलाई मुनाफाको बितरण गर्दछ तर कम्पनीको जगेडा कोष वा पूँजीगत आधार नै नकारात्मक भएको अवस्थामा भने यस्तो नहुन पनि सक्छ । कहिलेकाँहि स्थिर सम्पतिको बिक्रीबाट प्राप्त मुनाफाले पनि कुल मुनाफामा असर गर्दछ जसले गर्दा हामीले सोचेभन्दा फरक नतिजा कम्पनीले दिनसक्छ । यस्तो कुरामा बिचार पुर्याउन कम्पनीबाट प्रकाशित त्रैमासिक वित्तिय विवरणलाई बेला-बेलामा नियाल्ने र वित्तिय सूचकको बिश्लेषण गर्ने बानी बसाल्नु पर्दछ ।

 

वित्तिय सूचककहरु केके हुन् र कसरी बिश्लेषण गर्ने ?

पूँजी (Capital)

अधिकृत, जारी र चुक्ता गरी कुनैपनि कम्पनिको तीन प्रकारका पूँजी रहेका हुन्छन् । व्यवसायको जम्मा पूँजी भविष्यमा कति हुने भनेर तय गरिएको व्यावसायिक आकार नै अधिकृत पूँजी हो भने त्यसमध्ये जारी गरिएको पूँजी नै जारी पुँजी र जारी गरिएको मध्ये चुक्ता भएको पूँजी नै चुक्ता पूँजी हो । कम्पनीको कुल पूँजीलाई १०० (कुनैको १०) ले भाग गरी साधारण शेयर निष्काशन गरिन्छ ।

लगानी शुत्रः कुनैपनि कम्पनीको शेयर खरिद गर्नुपूर्व उक्त कम्पनीको चुक्ता पूँजी कति तोकिएको छ र सो अनुरुप भविष्यमा कम्पनीले चुक्तापूँजी पु¥याउन सक्छ या सक्दैन भन्ने कुरामा बिशेष ध्यान दिनु जरुरी हुन्छ । लगानी गर्न कम्पनी छान्दा चुक्तपूँजी नपुगेको तर पु¥याउन सक्ने आधार भएको कम्पनी छान्नुपर्दछ । यसमा पनि राम्रो आम्दानी गर्ने र धेरै बोनस दिने कम्पनी छान्दा अझै उपयुक्त हुन्छ ।

ध्यान दिनुपर्ने कुराः कम्पनीले तोकिएको पूँजी कति हो ?, तोकेअनुरुप पूँजी पुर्याउन सक्छ या सक्दैन ?, पूँजी भित्र्याउने श्रोत के के हुन ? र भएको पूँजीको प्रयोग कसरी भइरहेको छ ?, अर्थात् ओभर क्यापिटलाइज र अन्डर क्यापिटलाइजको अवस्थामा बिशेष ध्यान दिनुपर्दछ ।

 

प्रतिशेयर आम्दानी (Earning Per Share)

लगानी सम्बन्धि एउटा सर्वमान्य महत्वपूर्ण मापकको आधार प्रतिशेयर आम्दानी अर्थात इपीएस् पनि हो । यसले कम्पनीले चुक्तापूँजीमा गरेको आम्दानी वा एउटा शेयरले गरेको आम्दानीलाई देखाउँदछ । यो जति बढि भयो लगानीको लागि उति नै बढि राम्रो मानिन्छ । प्रतिशेयर आम्दानीले लाभांशको निर्धारण गर्दछ । सामान्यतया प्रायः कम्पनीहरुले आफ्नो चुक्तापूँजी बराबर वा सोभन्दा बढि जगेडा कोष रहेको अवस्थामा प्रतिशेयर आम्दानीको ८० प्रतिशतसम्म वा कमाएको आम्दानी सबै लाभांशको रुपमा बितरण गर्दछन् ।

प्रतिशेयर आम्दानी निकाल्न खुद आम्दानीलाई जम्मा शेयर संख्याले भाग गरे हुन्छ ।

सूत्रः प्रतिशेयर आम्दानी=खुद आम्दानी/जम्मा शेयर संख्या

लगानी सूत्रः प्रतिशेयर आम्दानी जति बढि भयो लगानीको लागि उत्तिनै राम्रो मानिन्छ । तर न्युनतममा भने प्रतिशेयर आम्दानी रु १० भएको कम्पनी लगानीको लागि उपयुक्त मानिन्छ ।

ध्यान दिनुपर्ने कुराः प्रतिशेयर आम्दानी रु १० भन्दा कम भएका कम्पनी कामै नलाग्ने भन्ने हैनन् । यो मापक लामो समयका लागि लगानी गर्नेहरुको लागिमात्र उपयुक्त बिधि हो ।

 

मूल्य आम्दानी अनुपात (Price Earning Ratio)

यसलाई पिइ रेसियो पनि भन्ने गरिन्छ जसले निश्चित आम्दानी गर्न तिर्नुपर्ने मूल्यलाई जनाउँदछ । यो जति कम भयो लगानीको लागि उत्तिनै बढि उपयुक्त मानिन्छ । सामान्यतया १० भन्दा कम मूल्य आम्दानी अनुपात भएको कम्पनी लगानीको लागि राम्रो मानिन्छ ।

सूत्रः बजार मूल्य/प्रतिशेयर आम्दानी

लगानी सूत्रः सामान्यतया १० भन्दा कम मूल्य आम्दानी अनुपात भएका कम्पनी लगानीको लागि बिशिष्ट मानिन्छन् । त्यसैगरी १० देखि १५ राम्रो, १५ देखि २० ठिकै र २० देखि माथि भने बिचार गरेर मात्र किन्नु उपयुक्त हुन्छ ।

ध्यान दिनुपर्ने कुराः मूल्य निर्धारणमा माग र आपूर्तिले बिशेष महत्व राख्ने हुँदा त्थसलाई ध्यानमा राख्दै समग्र समूहको अनुपात र अन्य कम्पनीहरुको प्रचलित पिई रेसियो पनि हेर्नुपर्दछ ।

 

नेटवर्थ (Net-Worth)

यसले कम्पनीको बर्तमान अवस्थालाई देखाउँदछ । अर्थात हामीले रु १०० मा किनेको शेयरको वर्तमान अवस्थानै नेटवर्थ हो । कम्पनीले आम्दानीको हिस्सा शेयरधनीलाई नबाँडी जगेडा कोषमा जम्मा गर्दछ भने यसको नेट वर्थ पनि बढ्दै जान्छ र नेटवर्थ जति बढि भयो उत्तिनै बढी कम्पनी बलियो मानिन्छ ।

लगानी सूत्रः नेटवर्थ जति बढि भयो उत्तिनै लगानीको लागि राम्रो मानिन्छ । त्यसैले धेरै नेटवर्थ भएको कम्पनीमा लगानी गर्नु राम्रो हुन्छ ।

ध्यन दिनुपर्ने कुराः नेटवर्थ नकारात्मक अर्थात १०० भन्दा कम भएको कम्पनीले जत्तिनै मुनाफा कमाएपनि बाँड्न सक्दैन । किनकी कम्पनीले आम्दानीलाई जगेडा कोषमा राख्दछ । त्यसैगरी कम्पनीले बिगतमा आफ्नो नेटवर्थ बढाउने अद्देश्यले मुनाफा बितरणमा कञ्जुस्याँइ गरेको छ, छैन बिचार गर्नुपर्दछ ।

 

खुद मुनाफा (Net Profit):

खुद मुनाफा भन्नाले कम्पनीले सबै खर्च कटाएर शेयरधनीहरुलाई बाँड्न मिल्ने आम्दानी रकम भन्ने बुझिन्छ । मुनाफा सञ्चालन, गैरव्यावसायिक, सम्पति बिक्री जस्ता कुराहरुबाट प्राप्त हुन्छ ।

लगानी सूत्रः जत्ति धेरै खुद मुनाफा भयो कम्पनीले जगेडा कोषको अवस्था अनुसार सबै बाँडफाँड गर्ने हुँदा लगानी गर्दा खुद मुनाफ धेरै भएको कम्पनी छान्नु उपयुक्त हुन्छ ।

ध्यान दिनुपर्ने कुराः सम्बन्धित कम्पनीले कमाएको मुनाफा सञ्चालनबाट प्राप्त भएको हो वा सम्पतिको बिक्रीबाट भएको हो त्यो बिचार गर्नुपर्दछ । सञ्चालनबाट प्राप्त मुनाफा मात्रै कम्पनीले वितरण गर्दछ ।

 

पूँजीकोष अनुपात (Capital Adequacy Ratio):

बैंक तथा वित्तिय संस्थाले आफ्नो कुल जोखिम भारित सम्पत्तिको आधारमा न्यूनतम पूँजीकोष अनुपात अर्थात CAR कायम गर्नुपर्ने हुन्छ । यसले संस्थाको जोखिम बहन क्षमता र पूँजीको पर्याप्तता जनाउँदछ । हाल यसको न्यूनतम अनुपात १४ प्रतिशत बनाइएको छ । यो धेरै भएमा संस्थामा पूँजी धेरै भएको वा पूँजीको उचित उपयोग नभएको भन्ने बुझिन्छ भने यो थोरै भएमा संस्थामा पूँजीको अभाव भएको भन्ने बुझिन्छ । पूँजीकोषको अनुपात ठिक नभएको अवस्थामा संस्थालाई नियमक निकायले कार्बाही गर्दछ ।

लगानी सूत्रः नगद लाभांशको लागि पूँजीकोष अनुपात धेरै भएको कम्पनी र बोनस शेयरको लागि पूँजीकोष अनुपात थोरै भएको कम्पनी छान्ने ।

ध्यान दिनुपर्ने कुराः हालको अवस्थालाई मध्यनजर गर्दा पूँजीकोष अनुपात १४ वा १५ प्रतिशत भएको कम्पनी लगानीको लागि उपयुक्त हुन्छ ।

 

खराब कर्जा (Bad Debt):

यसलाई ब्याड डेप्ट (Bad Debt), NPL (Non-performing Loan) वा भाका नाघेको ऋणको रुपमा पनि बुझ्न सकिन्छ । सामान्य रुपमा यसको अनुपात ५ प्रतिशत हुनुपर्दछ । यदि त्योभन्दा बढी भएमा कम्पनीले मुनाफा कमाएपनि लाभांश बितरण गर्न सक्दैनन् । यसले संस्थाको व्यवस्थापनको चातुर्यताको अवस्था र ऋणको गुणस्तरियतालाई उजागर गर्दछ ।

लगानी सूत्रः NPL जति कम भयो लगानीको लागि उत्तिनै उपयुक्त मानिन्छ । त्यसैले लगानी गर्दा एनपिएल थोरै भएको कम्पनी छान्ने ।

ध्यान दिनुपर्ने कुराः लगानी गर्दा धेरै जोखिम उठाउने सोचले तोकिएको अनुपात भन्दा एनपिएल बढी भएको कम्पनीमा लगानी नगर्ने । कारण ऋणमा डुबेको मान्छेलाई सापटी दिँदा त फिर्ता आउने सम्भावना न्यून रहन्छ भने त्यो त तपाँइको सिमित दायित्व भएको लगानी हो, बाँकी आफैले ध्यान दिनुहोला ।

माथिका सूचकहरु शेयरमा लगानीको लागि बिशेष उपयोगी हुन् तर पर्याप्त भने पक्कै हैनन् । माथिका अतिरिक्त प्रतिशेयर कुल सम्पत्ति र विगतको लाभांश वितरणको प्रचलन (डिभिडेन्ड पर शेयर), कर्मचारी खर्च र कम्पनीको सम्भावित नोक्सानीको अवस्थालाई समेत विचार गर्नुपर्दछ । यी सूचकहरु लामो समयको लागि लगानी गर्न बढी उपयुक्त हुन्छन् । शेयरको दोश्रो बजारमा प्रवेश गर्नुपूर्व माथि उल्लेखित सूचकहरुको राम्रोसँग अध्ययन गरी लगानी गर्दा कुनैपनि हालतमा तपाँईको विजय निश्चित छ । अरुको लहैलहैमा लागेर वा फलानोले भनेको आधारमा मात्रै शेयरमा लगानी गर्नु मुखर्तामात्र हो । फलस्वरुप अन्त्यमा पछुताउनु बाहेक कुनै बिकल्प रहने छैन ।

प्रतिक्रिया