शेयर बजारमा नयाँ ट्रेन्डः के हो त ‘बुक बिल्डिङ’ ?


कुनै पनि पब्लिक कम्पनीले प्रबन्धपत्रमा तोकेअनुसारको पूँजी पुर्याउनको लागि बिभिन्न माध्यमहरुबाट शेयरको बिक्रि गरी पूँजीको संकलन गर्दछ । यसरी कम्पनीले पूँजी संकलन गर्दा अग्राधिकार शेयर निष्काशन, संस्थापक शेयर निष्काशन, (अंकित मूल्य, प्रिमियम मूल्य र बुक बिल्डिङ्गमा) साधारण शेयर (आईपीओ) निष्काशन, शेयरको लिलाम बिक्रि र हकप्रद शेयरको निष्काशन गरेर ति शेयरको बिक्रिमार्फत पूँजीको संकलन गर्दछ । साधारणतया धेरैजस्तो कम्पनीहरुले रु १०० अंकित मूल्यमा सर्वसाधारणहरुबाट साधारण शेयरको बिक्रिमार्फत पूँजीको संकलन गर्दछन् । बित्तिय अवस्था राम्रो भएका कम्पनीहरुले साधारण शेयरलाई अंकित मूल्यमा नभई प्रिमियम र बुक बिल्डिङ्ग बिधिमार्फत पनि निष्काशन गर्न सक्दछन्, जुन ति कम्पनीको न्यायोचित मूल्य निर्धारण गरी पूँजी संकलन गर्ने एक विशिष्ट बिधि हो ।

शेयरको प्रिमियम मूल्य भनेको के हो  ?

हामी सबैले जाने बुझेअनुसार नेपालमा हालसम्म साधारण शेयर (आईपीओ) निष्काशन गर्दा सम्बन्धित कम्पनीले १०० रुपैयाँ अंकित मूल्य राखेर निष्काशन गरेको पाएका छौँ । कुनै–कुनै कम्पनीले भने अंकित मूल्यभन्दा केहि बढि मूल्य राखेर पनि साधारण शेयरको निष्काशन गर्दछन, जसको गतिलो उदाहरणको रुपमा केहि बर्ष अघि ३०० रुपैयाँ प्रतिशेयर मूल्य निर्धारण गरेर साधारण शेयर निष्काशन गरेको शिवम् सिमेन्टलाई लिन सकिन्छ । यसरी कुनै पनि कम्पनीले साधारण शेयरको मूल्य अंकित मूल्यभन्दा केहि बढि राखेर निष्काशन गर्दछ भने त्यसलाई साधारण शेयरको प्रिमियम मूल्यमा भएको निष्काशन भन्ने बुझिन्छ । कम्पनीले प्रिमियम मूल्यको निर्धारण गर्दा प्रतिशेयर नेट वर्थको दुई गुणा सम्म मूल्य राख्न पाउँदछ । जस्तै कम्पनीको नेट वर्थ १५० छ भने उक्त कम्पनीले साधारण शेयरको निष्काशनका लागि नियामक निकायको अनुमतिमा रु १०० (अंकित मूल्य) देखि रु ३०० सम्म मूल्य कायम गर्न पाउँदछ । राम्रो वित्तिय अवस्था भएको कम्पनीको न्यायोचित पूँजी संकलनको लागि यो बिधि उपर्युक्त भएतापनि साना लगानीकर्ताहरुको पहुँचताको लागि भने यो बिधि अनुपर्युक्त मान्न सकिन्छ । प्रिमियममा निष्काशन भएका शेयर पनि अंकित मूल्यका शेयर झैं न्युनतम १० कित्तासम्म पाउन सकिन्छ ।

बुक बिल्डिङ्ग बिधि भनेको के हो ?

कुनैपनि राम्रो बित्तिय अवस्था भएको र निश्चित तोकिएको मापदण्ड पुरा भएको कम्पनीले अंकित मूल्य रु १०० मा साधारण शेयर निष्काशन नगरी कम्पनीको अवस्था अनुसार न्यायोचित मूल्य निर्धारण गरी सोहि मूल्यमा शेयरको बिक्रि गर्नेगरी साधारण शेयरको निष्काशन गर्ने प्रक्रियालाई नै बुक बिल्डिङ्ग प्रणाली भनिन्छ । साधारण शेयर निष्काशनको यो बिधि सर्वप्रथम अमेरिकाबाट सुरु भएको थियो । सुरु–सुरुमा थोरै राष्ट्रहरुले यस विधिको परिक्षणको तवरले अवलम्बन गरेतापनि यो बिधि न्यायोचित पाइएकोले हाल विश्वका जुनसुकै ठूला राष्ट्रहरुको शेयर बजारमा बुक बिल्डिङ्ग बिधिको मात्र अवलम्बन गरिन्छ । नेपालमा पनि नियामक निकायले २०७३ बाट नै बुक बिल्डिङ्गको लागि अनुमति दिएतापनि हालसालैबाट मात्र यस बिधिको लागि कम्पनीहरु तयार हुँदै गरेको पाइएको छ ।

बुक बिल्डिङ्ग बिधिमा कसरी शेयरको मूल्य निर्धारण गरिन्छ ?

सर्वप्रथम कम्पनीले संस्थागत लगानीकर्ताहरुसँग कम्पनीको कति कित्ता शेयर किन्ने र कति मूल्यमा किन्ने भन्ने कुराको जानकारी संकलन गर्दछ । जानकारीहरु संकलन गरेपश्चात कम्पनी र बिक्रि प्रबन्धक मिलेर एउटा प्राइस ब्यान्ड (प्राइस रेन्ज) तयार गर्दछन्, जुन प्राइस रेन्जमा बिडिङ्ग गराएर एउटा कट् अफ् प्राइस निर्धारण हुन्छ । त्यो बिडिङ्ग गराएर तय भएको कट् अफ् प्राइस भन्दा १० प्रतिशत कम मूल्य तोकेर सर्वसाधारणहरुमा शेयरको निष्काशन तथा बिक्रि गरिन्छ ।

साना लगानीकर्तालाई यो बिधि न्यायोचित होला ?

सम्बन्धित कम्पनीको लागि न्यायोचित मूल्य निर्धारण भएतापनि यस बिधिले साना लगानीकर्तालाई भने पक्कै अन्याय गर्दछ । रु १०० मा पाइने साधारण शेयर लाई लगानीकर्ताहरुले निर्धारित ठूलै मूल्यमा खरिद गर्नुपर्ने हुन्छ, जुन मूल्य कम्पनीको बित्तिय अवस्था अनुसार प्रतिशेयर रु २०० देखि रु ५०० वा सो भन्दा बढि पनि हुन सक्दछ । यो सँगै न्यूनतम् १० कित्ताको लागि आवेदन दिएर १० कित्तासम्म नै पाइने शेयर पनि बुक बिल्डिङ्गमार्फत निष्काशन हुँदा न्युनतम ५० कित्ताको लागि आवेदन दिनु पर्दछ र शेयर प्राप्त हुँदा पनि ५० कित्ता नै प्राप्त गर्न सकिन्छ ।

अब मानौँ कि कुनै कम्पनीको बुक बिल्डिङ्ग मुल्य रु ४०० तोकिएको छ । कुनै लगानीकर्ताले शेयर आवेदन दिँदा न्यूनतम् ५० कित्ताको लागि दिनुपर्दछ । यहाँ साधारण शेयरमा लगानीको लागि लगानीकर्ताले न्यूनतम् २०,००० रुपैयाँ (५०×४००) बराबरको लगानी गर्नुपर्दछ । साना लगानीकर्ताको लागि यति ठूलो रकम जुटाउने कार्य सहज पक्कै छैन । त्यसमाथि न्यूनतम् १००० रुपैयाँ लगानी गरिरहेका लगानीकर्ताहरुका लागि यत्ति ठूलो रकम संकलन गर्नु चुनौतीको बिषय हो भन्दा फरक नहोला ।

नियामक निकायले तोकेको मापदण्ड पुरा भएका संस्थाले मात्रै यो बिधिको प्रयोग मार्फत शेयरको बिक्रि गर्दछन् र अन्य साधारण संस्थाहरुले र यो बिधि मार्फत शेयर निष्काशन गर्न नचाहेका संस्थाले भने रु १०० मा नै साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्रि गर्दछन् त्यसैले साना लगानीकर्ताहरु आँत्तिनु पर्ने अवस्था भने छैन ।

बुक बिल्डिङ्ग बिधि अनुसरणको लागि कम्पनीलाई के कस्ता मापदण्ड आवश्यक छ ?

कुनैपनि कम्पनीले बुक बिल्डिङ्ग बिधिबाट शेयरको निष्काशन तथा बिक्रि गर्नका लागि बिभिन्न चारवटा मापदण्डहरु पुरा गरेको हुनुपर्दछ । सर्वप्रथम उक्त कम्पनी बिगतका तीन आर्थिक बर्षसम्म लगातार खुद मुनाफामा सञ्चालनमा रहेको हुनुपर्दछ । उक्त कम्पनीको प्रतिशेयर नेटवर्थ चुक्ता पूँजीको कम्तिमा १५० प्रतिशत कायम भएको हुनुपर्नेछ । उक्त कम्पनीले कम्तिमा औसत वा सो भन्दा माथिल्लो क्रेडिट रेटिङ्गको ग्रेड प्राप्त गरेको हुनुपर्नेछ । त्यसैगरी उक्त कम्पनीको साधारण सभाले बुक बिल्डिङ्ग विधिमार्फत आईपीओ जारी गर्ने निर्णय गरेको हुनुपर्नेछ ।

 कुन–कुन कम्पनीले बुक बिल्डिङ्ग मार्फत शेयर निष्काशन गदैछन् त ?

सोनापुर मिनिरल्स लिमिटेड कम्पनीले छिट्टैनै बुक बिल्डिङ्ग बिधि मार्फत साधारण शेयरको निष्काशन गर्दैछ । एनआईबिएलएस क्यापिटल बिक्रि प्रबन्धकको रुपमा कम्पनीले २ करोड कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । नेपालको पश्चिम क्षेत्रको सबैभन्दा बढि सिमेन्ट उत्पादन तथा बिक्रि गर्ने यस कम्पनीले सोना सिमेन्ट, सोना श्री सिमेन्ट, सोनाटेक सिमेन्ट र सोनाली सिमेन्ट जस्ता बिभिन्न नाममा सिमेन्टहरु उत्पादन गर्दछ ।

त्यसैगरी सर्बोत्तम सिमेन्टले पनि बुक बिल्डिङ्ग बिधि मार्फत साधारण शेयरको निष्काशन गर्न गईरहेको छ । कम्पनीले ४० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्नेछ । सर्वोत्तम सिमेन्ट लिमिटेडले निष्कासन गर्न लागेको साधारण शेयरको रेटिङ सम्पन्न गरेको छ । यस कम्पनीको साधारण शेयरलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी बीबीबी प्लस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनीले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा औषतमा राम्रो रहेको संकेत गर्दछ ।

यसैगरी नेपालमा अब राम्रा बित्तिय अवस्था भएका डाबर नेपाल, सुर्य नेपाल, डिसहोम, सिजी गु्रप, एनसेल जस्ता कम्पनीहरुले निश्चित मापदण्ड पुरा गरी बुक बिल्डिङ्ग बिधिमार्फत् साधारण शेयरको जारी गर्नेछन् ।

 

यो पनि हेर्नुहोस्ः

शेयरबाट पैसा कमाउने हो भने यत्ति चाहिँ जान्नुहोस्

सेकेण्डरी सेयर मार्केटमा प्रवेश गर्न चाहनुहुन्छ ? यस्ता छन् मापदण्डहरु !

 

 

प्रतिक्रिया