वैदेशिक रोजगारले टुटाएको सम्बन्ध


खै यो माया भन्ने चिज कस्तो कस्तो ? कसैले भन्छन्, जति टाढा भयो उति गाढा हुन्छ माया । कसैले भन्छन्, टाढाको माया घामछाँया । कोही अन्जानमा आफ्नो भैदिन्छन् त कोही चिनजानमा । मायाको रुप एक होइन, अनेक हुन्छन् । अनि, पाउन जो कोही तल्लिन हुन्छन् । जस्को मिठो यादले दैनिकी अघि बढाउँछन् मानिस । मायामा अडेको मानिसको जीवन । यो भनाईको तात्पर्य स्वयम् भोग्नेलाई मात्र थाहा हुन्छ भन्छन्, तर अहिले त मायासँगै आफ्ना हरेक सम्बन्ध जोगाउन धन सम्पत्ती नै चाहिन्छ । अनि स्वदेशको रोजगार नामको मात्रै । बचत गर्न त परकै कुरा दैनिकी धान्न नै धौ–धौ ।

मेरो पनि जीवनले अलिअलि वास्तविक कुरा थाहा पाउँदै थियो, उहाँसँगको भेटपछि । समयले भन्दा पनि हामीलाई कल्पनाको जिम्मेवारीले सोच विचार बलियो बनाउँदै लग्यो । भेट हुनुअघि नै हामी दुवैले आ–आफ्नो व्यवसाय सुरु गरिसकेका थियौँ । उमेरले हामी दुवैजना २० कै तल थियौं । व्यवसायको विषयमा कुरा हुँदै गर्दा हाम्रा कुराहरु बाक्लिन थाले ।

परिस्थितिका साथै व्यवहारले हामी नजिक बन्दै गयौं । उहाँको परिवार आउँदा मलाई चिनाउनु हुन्थ्यो, अनि मैले मेरो परिवार आउँदा उहाँलाई । यसै मेसोमा हाम्रो यो नजिकपनलाई अरुले देख्दा प्रेम भन्थे, तर हामीलाई भने त्यस्तो आभास भने भएको थिएन । तर, यसै क्रममा हाम्रो परिवारिक अवस्था मिल्दोजुल्दो भएपछि विवाहको प्रस्ताव दुवै पक्षबाट आयो । एक अर्कालाई सकेको बुझेका थियौँ, अनि सहजै हामीले प्रस्ताव स्वीकार गर्यौँ ।

विहेको मिति तोकियो । दुई/चार हजारको काम हामी आँफै टार्न सक्ने भैसकेका थियौँ । तर विवाह नै उम्काउन भने सकेनौं  । केही ऋण लियौँ । आप्mनै व्यवसाय रहेकोले पनि होला परिवारलाई खर्च गराउने मनसाय हामी दुवैमा पटक्कै आएन । थोरै भएपनि परिवार सामू आफ्नो खुट्टामा उभिएको देखाउने मन, दुवै मिली सपना लगभग पुरा गर्यौँ ।

अनि फर्कियौँ त्यही दैनिक गुजारा चलाउने शहर, जहाँ हाम्रो पहिलो भेट भएको थियो । एकै लहरमा थियो हाम्रो व्यवसाय । जस्ले दुई ढोका एकै बनाउन सहज भयो । दिनहरु अघि बढ्दै गए, साथै परिवारको जिम्मेवारी पनि बढ्दै आए ।

विहेको २ वर्षपछि व्यवसायले हाम्रो व्यवहार धान्न मुस्किल पर्दै गयो । काखमा सानी ६ महिनाकी छोरी । पहिलेदेखि नै मेरो स्वास्थ्य अवस्था अलि कमजोर । त्यसैमाथि अप्रेसनबाट डेलिभरी । करिब ३ महिना शारिरिक र मानसिक दुवै रुपमा कमजोर भएँ ।

वैदेशिक रोजगार बाध्यता हो भन्ने सुनेकी थिएँ, तर भोगेपछि आँफैले थाहा पाएँ । जीवन मायामा होईन पैसामा समर्पित हुँदो रहेछ ।

बढ्दो खर्च, खँस्किदो व्यवासाय । मन बुझाउने ठाउँ पनि भरिँदै आएपछि पोखिँदो रहेछ । ४ वर्ष व्यापार व्यवसायको अनुभव पछि श्रीमानले विदेश जाने मनसाय राख्नुभयो । ‘२/४ हजार त ढुक्कले खर्च गर्न सकिन्न, अब नेपाल बसेर काम छैन अब म विदेश जान्छु ।’ देशको अवस्थाले हरेक युवाको मानसपटलमा यो सोचले ठाउँ जमाईसकेको छ भन्दै केही दिन यो विषयमा मौन बसेँ । कुराकानी सँग–सँगै जाने प्रक्रिया अघि बढाउनु भयो । कुरा गरेको करिब डेढ महिना जतिमा संयुक्त अरब इमिरेट्स (दुबई) बाट भिसा आयो । त्यसपछि हामी दुईको जीवनको सुरुवात गराएको त्यो पसल पनि बेच्ने निर्णय गरेसँगै केही वर्षका लागी हुने विछोडका दिनहरु मानसपटलमा छाउन थाले ।

कमजोर शरिर, काखमा बच्चा अनि परदेशिने तयारीमा श्रीमान्  । मन दुखाउन र एक्लो महसुश गर्न अरु कारण के चाहियो र ? मनलाई बेस्सरी बाँधे । जब जाने दिन आयो …. त्यो क्षण एक शब्द पनि बोल्न सकिनँ । निमेषभर आँखाहरू जुधे । भरिएको तलाउ सरि छचल्किए आँसुहरु । के भनेर बिदा गरौं ? उस्तै दुविधामा हुनुहुन्थ्यो उहाँ पनि । उहाँको आँखाको भावले बताईरहेको, पढ्न सक्ने भएकी थिएँ यतिबेरसम्मको सामिप्यताले । त्यो नौ महिनाकी छोरीसँगको अंकमाल छुट्याउन कम्ता मुस्किल परेन । विदाईको हात हल्लाउँदै गर्दा मुटु फुट्ला सरि भएको थियो ।

वैदेशिक रोजगार बाध्यता हो भन्ने सुनेकी थिएँ, तर भोगेपछि आँफैले थाहा पाएँ । जीवन मायामा होईन पैसामा समर्पित हुँदो रहेछ । श्रीमान् जानु भएको दुई वर्षसम्म घरपरिवार र आफ्नो जीवन सबै ठिकठाक नै चल्दै थियो । बच्चा सानो भएकोले कुनै जागिर गर्न पनि समय नमिल्ने । तर, उता परिवारले भने म बेलगाम भएर बसे जस्तो नजरले हेर्न थाल्नु भएको रहेछ । श्रीमानलाई पनि फोन गरेर नातिनी खेलाउन पाएनौँ, बुहारी घर आउँदिन भन्नु हुँदोरहेछ ।

उहाँ विदेश जानु भएपछि गाउँ गएर बसौँ जस्तो नभएको मलाई पनि नभएको त कहाँ हो र? फेरी भोलि गएर बच्चाको उच्चशिक्षा र आफूले पनि सानोतिनो काम गर्ने आशले गाउँ फर्कन मनले मानेन । पहिले त यो कुरामा बेखुस कोही हुनुहुन्नथ्यो ।

केही समयको अन्तरालमै यो विषयले हाम्रो सम्बन्धमा प्रवेश गर्यो । बुझ्न र बुझाउन नजिक भए जस्तो टाढा हुँदा सहज नहुने रहेछ । दूरीले टाढा भएपछि सम्बन्धमा मन दुख्न ठूलो कुरा पनि नचाहिने रहेछ । गल्ती दुवैको छैन, खुलेर पीडा पोख्ने ठाउँ छैन । फोनको कुराकानी घट्न कत्ती समय पनि लागेन ।

अनि विनागल्तीले दुखेका मनहरु गोटा पर्दै जान थाले । उता श्रीमान्को मन पनि पक्कै दुखेको थियो होला । तर, मन खोल्न न उहाँले सक्नुभयो न मैले नै सकें । करिब १ वर्ष यसैगरी बिताइदियौं हामीले । उहाँ विदेश जानु भएको पनि ३ वर्ष पूरा भयो । कुराकानी पातलिँदै गएपछि उहाँ नेपाल फर्कनुभएको थाहा पाउन मैले सामाजिक सञ्जालको सहारा लिनुपर्यो । त्यसबखत मुटु चस्स भयो, त्यो भन्दा पनि बढी चाहिँ एयरपोर्टबाट सिधै घर जानु भएको थाहा पाएपछि भयो । सोचेकी थिएँ, प्रत्यक्ष भेटेर मन माझा–माझ होला, तर त्यो रहेन । अनि एक हप्तापछि फोन गर्नुभयो र भन्नुभयो ‘डिभोर्सको प्रक्रियामा जाँदैछु । विचार के छ ? एक हप्तापछि सिग्नेचर गर्न आउनु, अनि छोरी मै सँग बस्छे ।’

जुन शब्दले मनभन्दा बढी हातगोडा काम्न थाले । एकपछि अर्को गर्दै परिवारबाट समेत डिभोर्स दे, भन्दै दवावपूर्ण फोनहरु आउन थाले । मैले मलाई प्रष्ट्याउने अवसर उहाँ, परिवार अनि काला कोटधारीसम्म पाइँन, अर्थात् कसैले सुन्न चाहेनन् ।

अनि सकियो चाहेर, बुझेर अघि बढाएको जीन्दगीको प्रतिक्षाको घडी । नौ महिना कोखमा बोकेकी छोरी, काखमा दिँदै बलिन्धारा आँसुसहित दुई बुढी औंलाले एउटा नेपाली कागजमा ल्याप्चे हानेर, लागें जिन्दगीको रंग फेरिएला र कुनै दिन फक्रिने आशामा… !

प्रतिक्रिया