
काभ्रेमा सशस्त्र प्रहरीका असई र एक युवती मृत फेला
काठमाडौं- सशस्त्र प्रहरी बलका सहायक निरीक्षक (असई) शक्ति राम र एक युवती काभ्रेपलाञ्चोकमा मृत अवस्थामा फेला परेका छन्। दुवै जनाको शव पाँचखाल नगरपालिका–३ स्थित ठुली सामुदायिक वन क्षेत्रमा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार बुधबार बिहान स्थानीयवासीले वनभित्र दुईवटा रुखमा महिला र पुरुषको जस्तो देखिने सडेगलेका शव झुण्डिएको जानकारी दिएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरी चौकी पाँचखालबाट प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीले घटनास्थलमा पुगेर शवको पहिचान गर्ने क्रममा मृतक पुरुष सशस्त्र प्रहरी बल नेपाल नं. १५ गण, काभ्रेमा कार्यरत सहायक निरीक्षक शक्ति राम रहेको पुष्टि गरेको थियो। उनी पर्साको बहुदरमाई नगरपालिका–८ रामनगरीका बासिन्दा हुन्।
त्यसैगरी, मृतक महिला कैलालीको घोडाघोडी नगरपालिका–१ निवासी २६ वर्षीया शर्मिला चौधरी रहेको खुलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार असई शक्ति राम वैशाख १९ गते गणबाट दुई दिनको बिदा लिएर बाहिरिएका थिए। त्यसपछि उनी सम्पर्कविहीन भएपछि परिवारले खोजतलासका लागि निवेदन दिएको थियो। सशस्त्र प्रहरी बलले वैशाख २१ गते नै उक्त निवेदन जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा पठाएको जनाएको छ।
यता, शर्मिला चौधरीका भाइ रञ्जित चौधरीले पनि वैशाख २५ गते प्रहरी वृत्त बालाजुमा बहिनीको खोजतलासका लागि निवेदन दिएका थिए। शर्मिला वैशाख १८ गते शक्ति रामलाई भेट्न काभ्रे गएको खुलेको छ।
दुवै जनाको मोबाइल फोनमा सम्पर्क हुन नसकेपछि प्रहरीले खोजी कार्य अघि बढाएको थियो। अनुसन्धानका क्रममा शर्मिलाको मोबाइल फोनको अन्तिम लोकेसन काभ्रेपलाञ्चोक क्षेत्रमा देखिएको थियो।
बुधबार स्थानीयवासीबाट प्राप्त सूचनाका आधारमा घटनास्थलमा पुगेको प्रहरीले दुवै जनाको शव फेला पारेको हो।
प्रहरीले शवलाई पोस्टमार्टमका लागि धुलिखेल अस्पतालमा राखिएको जनाएको छ। घटनाको कारण खुल्न बाँकी रहेको र यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।



कागजपत्र |
