
कांग्रेस सभापति थापालाई खुल्ला पत्र
आदरणीय सभापति गगन थापा ज्यू,
नेपाली कांग्रेसको आजको अवस्था कुनै एक दिनको परिणाम होइन—यो विगत तीस वर्षदेखि थुप्रिँदै आएको विकृति, अहंकार र गलत नेतृत्व संस्कारको परिणाम हो। यो यथार्थबाट कोही भाग्न सक्दैन। तर अझ खतरनाक कुरा के छ भने, यही यथार्थलाई बहाना बनाएर आज पनि जिम्मेवारीबाट पन्छिने प्रवृत्ति जारी छ।
आज आम कार्यकर्ताहरू भन्छन्— तीस वर्षमा बिग्रिएको कांग्रेस एकै दिनमा कसरी बन्छ? यो तर्क ठीकै हो। तर यही तर्कलाई ढाल बनाएर फेरि पनि पुरानै संरचना, पुरानै पात्र र पुरानै प्रवृत्ति जोगाउने हो भने त्यो सुधार होइन—सिधै धोका हो।
बिपी कोइरालाले समयमै चेतावनी दिनुभएको थियो—प्रजातन्त्र आएपछि पैसावाला, सुकिला मुकिला, प्रभावशाली मान्छेहरूले पार्टी कब्जा गर्न खोज्छन्। आज गणन्त्रण आएपछि त्यो चेतावनी व्यवहारमै देखिएको छ। विचार र त्यागले बनेको संगठन अहिले पैसाले, पहुँचले र शक्ति प्रदर्शनले चल्न थालेको छ ।
२०६२/६३ पछि व्यवस्था बदलियो, गणतन्त्र आयो। तर कांग्रेसभित्र विचार कमजोर हुँदै गयो, स्वार्थ बलियो बन्दै गयो। संगठन बनाउने होइन, कब्जा गर्ने प्रवृत्ति हाबी भयो। पञ्चायतकालमा ठेक्का कब्जा गर्न गुन्डा प्रयोग हुन्थे भन्ने सुनियो आज गणन्त्रणमा संगठन कब्जा गर्न त्यही मानसिकता भित्रिएको छ । यसले सबैभन्दा ठूलो चोट ती कार्यकर्तालाई लागेको छ, जसले यो पार्टी जोगाएका थिए। द्वन्द्वका बेला गाउँ छोड्नेन जोखिम मोलेर उभिने कार्यकर्ताहरू आज किन चुप छन् ? किनकि उनीहरूले बुझिसके—यो पार्टी अब उनीहरूको रहेन।
आज कांग्रेसले गुमाएको सबैभन्दा ठूलो कुरा विश्वास हो। अब समय भाषण गर्ने होइन, छान्ने हो-कसलाई अघि ल्याउने ? कसलाई हटाउने ? कसलाई विश्वास गर्ने ? यही निर्णयले तपाईंलाई इतिहासमा कहाँ राख्ने भन्ने तय गर्छ। अन्तिम प्रश्न सिधा छ- तपाईं कांग्रेसलाई बदल्न आउनुभएको हो, कि यही बिग्रिएको संरचनामा आफूलाई मिलाउन? यदि फेरि पनि सम्झौता रोज्नुभयो भने, भोलि तपाईंमाथि पनि उस्तै भनिनेछ—’फरक देखिएका थिए, तर फरक गर्न सकेनन्।’
केन्द्रले पनि यो रोग रोक्न खोजेन। जो खर्च गर्न सक्छ, जो ‘व्यवस्था’ मिलाउन सक्छ, जो जे गरेर पनि जिताउन सक्छ—त्यही प्राथमिकतामा पर्यो । इमानदार कार्यकर्ता पाखा लागे, राजनीति सेवाबाट कमाइको साधन बन्दै गयो। सभापती ज्यू अब तपाईं ‘आशा’ होइन, ‘परीक्षण’मा हुनुहुन्छ।
तपाईं वरिपरि को छन् भन्ने कुराले नै तपाईंको राजनीति देखाउँछ। गलत मान्छे बोकेर सही राजनीति हुँदैन—यो कुरा अब लुकाउन मिल्ने छैन। यदि साँच्चिकै शुद्धिकरण गर्न चाहनुहुन्छ भने, निर्णय कठोर हुनुपर्छ। गुन्डागर्दी, तस्करी, लागूऔषध कारोबार, हिंसा र डरधम्कीमा जोडिएका पात्रहरूलाई पार्टीबाट हटाउने हिम्मत गर्नुपर्छ। साधारण सदस्यबाटै सफाइ नगरेसम्म सुधार सम्भव छैन। र एउटा कुरा स्पष्ट गरौं— यहाँ कोही पनि कांग्रेसी कार्यकर्ता कसैको लास र दास भएर बस्न चाहँदैन।
यहाँ कोही पनि मतदाता त्यस्ता मानिसबाट शासित हुन तयार छैन, जो आपराधिक समूहको आडमा राजनीति गर्छन्।
जनताले अब चिनेका छन्—को नेता हो, को मुखौटा हो। भीड जम्मा गरेर, डर देखाएर, पैसा खर्च गरेर केही समय जितिएला, तर जनताको मन जित्न त्यसले सक्दैन भन्ने कुरा प्रमाणित भईसकेको छ ।
बिपीको राजनीति जनविश्वासमा टिकेको थियो। उहाँले देखाउनुभएको बाटो स्पष्ट थियो—नैतिकता बिना राजनीति टिक्दैन। आज कांग्रेसले गुमाएको सबैभन्दा ठूलो कुरा यही विश्वास हो। अब समय भाषण गर्ने होइन, छान्ने हो—कसलाई अघि ल्याउने ? कसलाई हटाउने ? कसलाई विश्वास गर्ने ? यही निर्णयले तपाईंलाई इतिहासमा कहाँ राख्ने भन्ने तय गर्छ। अन्तिम प्रश्न सिधा छ— तपाईं कांग्रेसलाई बदल्न आउनुभएको हो, कि यही बिग्रिएको संरचनामा आफूलाई मिलाउन? यदि फेरि पनि सम्झौता रोज्नुभयो भने, भोलि तपाईंमाथि पनि उस्तै भनिनेछ—’फरक देखिएका थिए, तर फरक गर्न सकेनन्।’ अझै समय छ—पार्टी जोगाउने कि केवल कब्जा गर्ने भन्ने निर्णय गर्ने।
– एक चिन्तित कांग्रेसी कार्यकर्ता
रोशनराज पाण्डेय
तरुण दल केन्द्रीय सदस्य



कागजपत्र |
