
२६ वर्षीया पत्नीले प्रेमीसँग मिलेर गरिन् ६२ वर्षीय पतिको हत्या
बागलुङ- बागलुङमा २६ वर्षीया एक युवतीले आफ्ना ३८ वर्षीय प्रेमीसँग मिलेर ६२ वर्षीय पतिको हत्या गरेको सनसनीपूर्ण घटना सार्वजनिक भएको छ ।
ज्यामी काम गरेर गुजारा चलाउँदै आएका देउबहादुर सार्की (६३) को आफ्नै पत्नी लक्ष्मी नेपाली (२६) र उनका प्रेमी राम आकाश विश्वकर्मा (३८) मिलेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख एसपी फणीन्द्र प्रसाईका अनुसार, काम गर्ने सिलसिलामा भ्युटावर निर्माण साइटमा जाँदा लक्ष्मी र राम आकाशबीच नजिकिँदै गएको सम्बन्धप्रति देउबहादुरले आपत्ति जनाउँदै आएका थिए । सोही विवाद अन्ततः हिंसात्मक झडपमा परिणत भएको प्रहरीको भनाइ छ ।
देउबहादुर लमजुङको साविक गिलुङ–९ (हाल क्वहोलासोथार–९) का बासिन्दा हुन् भने लक्ष्मी तनहुँ म्याग्दे–७, पहेरकी भएको खुलेको छ । उनीहरूबीच केही वर्षअघि विवाह भएको भए पनि कानुनी रूपमा विवाह दर्ता नभएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
उमेरको ठूलो अन्तरका कारण उनीहरूबीच सम्बन्धमा निरन्तर तनाव रहने गरेको पनि प्रहरीले जनाएको छ ।
घटना गत सोमबार काम गर्ने साइटतर्फ जाँदै गर्दा भएको हो । उकालो चढेर थकित भएपछि उनीहरू एक प्रतीक्षालयमा बसेका थिए । सोही क्रममा देउबहादुरले राम आकाशतर्फ इङ्गित गर्दै लक्ष्मीलाई गाली गर्दै भने, “त्योसँग किन लागिस् ?”
त्यसपछि विवाद झनै चर्किएको थियो । गाली सुनेपछि राम आकाशले देउबहादुरमाथि मुक्का प्रहार गरेको प्रहरीले जनाएको छ । त्यसपछि लक्ष्मीले ढुंगाले प्रहार गरेकी थिइन् । उनीहरूसँगै रहेका आसपुरे कामीले पनि देउबहादुरमाथि ढुंगा प्रहार गरेका थिए ।
आक्रमणपछि देउबहादुर अचेत भएका थिए । घटनापछि लक्ष्मी, राम आकाश र आसपुरे कामीले घटनास्थलबाट भाग्ने प्रयास गरेका थिए । उनीहरू सामान बोकेर पर्वततर्फ भाग्न लाग्दा चेकपोस्टमा खटिएका प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार प्रारम्भिक बयानमा उनीहरूले भनाभनका क्रममा ढुंगा प्रहार भएको र देउबहादुर अचेत भएको स्वीकार गरेका छन् ।
अनुसन्धानका क्रममा लक्ष्मीले यसअघि दुई पटक विवाह गरिसकेको र ती विवाहबाट सन्तानसमेत भएको तथ्य पनि खुलेको प्रहरीले जनाएको छ ।



कागजपत्र |
