एमाले पुनर्गठन आवश्यक छ : उपाध्यक्ष पौडेल


काठमाडौं –  नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टीको वर्तमान कार्यशैली र संगठनात्मक संरचनामा पुनरावलोकन आवश्यक रहेको बताएका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा आयोजित कार्यक्रममा बोल्दै उपाध्यक्ष पौडेलले एमाले अहिले सञ्चालन भइरहेको ढंगले आगामी दिनमा अगाडि बढ्न नसक्ने निष्कर्षमा पार्टी पुगेको उल्लेख गरे ।

उनका अनुसार पार्टीको संगठनात्मक जीवनलाई पुनर्गठन गर्नुपर्ने आवश्यकता देखिएको छ, जसका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ । पौडेलले निर्वाचनको समीक्षा प्रतिवेदन तयार गर्ने तथा संगठन पुनर्गठनसम्बन्धी प्रस्ताव तयार गर्न कार्यदल गठन गरिएको जानकारी दिए ।

‘हाम्रो पार्टी अहिले जसरी सञ्चालन भइरहेको छ, त्यही ढंगले अगाडि बढ्न सक्दैन भन्ने निष्कर्षमा हामी पुगेका छौँ,’ पौडेलले भने, ‘संगठनात्मक जीवनलाई पुनर्गठन गर्नुपर्ने आवश्यकता छ। त्यसका लागि निर्वाचन समीक्षा प्रतिवेदन र पुनर्गठनसम्बन्धी प्रस्ताव ल्याउन कार्यदल बनाइएको छ, जसले काम गरिरहेको छ।’

ओलीकै उपस्थितिमा आएको उक्त अभिव्यक्तिलाई कार्यक्रममा सहभागीहरूले विशेष ध्यानका साथ लिएका थिए । पौडेलले पार्टीलाई अझ प्रभावकारी र सुदृढ बनाउन संगठनात्मक सुधार अपरिहार्य रहेकोमा जोड दिए ।

प्रतिक्रिया