
घरभित्रका कंश र बाहिरका किचकहरूबीचको लडाईं
'इतिहासले डराउनेहरूलाई होइन, डटेर उभिनेहरूलाई मात्र सम्झिन्छ'
आदरणीय साथीहरू, मिलेर बसेको घर, परिवार र समाजमा कंश जस्ता मामा, शकुनी जस्ता सल्लाहकार, धृतराष्ट्र जस्ता निर्णयहीन अभिभावक र दुर्योधन जस्ता अहंकारी पात्र नहुनु नै सबैभन्दा ठूलो वरदान हुन्छ।
तर दुर्भाग्य, आज हामी त्यही अभिशापसँग जुधिरहेका छौं। हामीलाई अब बाह्य शक्तिकेन्द्रसँग मात्र होइन, घरभित्रै पलाएका गलत संस्कार, गुटबन्दी, अहंकार र षड्यन्त्रसँग पनि लड्नुपरेको छ। तपाईहरूलाई थाहै छ यो लडाइँ सजिलो छैन।
यो असहज छ, पीडादायी छ, कहिलेकाहीँ एक्लो पनि लाग्छ होला दिक्क पनि लाग्छ होला ।तर यो लडाइँ सत्य, निष्ठा र परिवर्तनको पक्षमा भइरहेको छ। त्यसैले आजको हाम्रो आवश्यकता हो ।
दाँया बाँया नगरी, व्यक्तिगत लाभ , डर र स्वार्थ त्यागेर सबै एकजुट भएर परिवर्तन, र सुधारको साथ दिनु। किनकि अन्ततः जित सत्यकै हुनेछ। इतिहासले सधैं यही कुरा पनि प्रमाणित गरेको छ।
तपारूलाई थाहै छ महाभारत केवल प्राचीन कथा होइन। यो सत्ताको लोभ, अन्धो माया र गलत पक्ष रोज्नेहरूको अन्त्य कसरी हुन्छ भन्ने कुराको साँचो साछी र चेतावनी पनि हो। आज नेपाली कांग्रेसको आन्तरिक राजनीति हेर्दा महाभारतका पात्रहरू स्वतः सम्झनामा आउँछन् होला तपाईहरूको मनमा पनि। आज हामीलाई घरभित्रकै धृतराष्ट्र, कर्ण, दुर्योधन र शकुनीहरूसँग लड्नु त छँदैछ, साथै केही बाहिरी पात्र सँग पनि जुध्नुपरेको छ। जो आज हाम्रो घर परिवार कमजोर बन्दै गर्दा खुसी छन् र हर्ष मनाउने तरखरमा छन् । जो आफू पीडित होइनन्, तर हाम्रो घर, हाम्रो पार्टीभित्र पीडा सिर्जना गरेर आफ्नो अस्तित्व बचाउन खोजिरहेका छन्। महाभारतका कीचक, जयद्रथ र अश्वत्थामा जस्तै।
जो सत्ता र प्रचारको आडमा नैतिकता कुल्चन्छन्। जो बाहिर बसेर अरूको परिवार भित्रको द्वन्द्वलाई झन् चर्काउँछन्। जो युद्ध बीचमा मात्र होईन पछि पनि घृणा र प्रतिशोध बाँकी राख्छन्।यस्ता पात्रहरूसँग पनि आज कांगेसीजनलाई लड्नुपरेको छ।
आजको कांग्रेस राजनीतिमा धृतराष्ट्रझैँ शेरबहादुर देउवा आफ्नो अन्धो माया र सत्ताको मोहबाट बाहिर निस्कन सकेका छैनन्।सन्तान मोहमा विवेक गुमाएका धृतराष्ट्रले कुरुवंशलाई विनाशतर्फ धकेलेजस्तै, देउवाको निर्णयहीनता र गुट–मोहले पार्टी मात्र होइन, देशकै राजनीतिक भरोसा कमजोर बनाएको छ।
दुर्योधनको प्रतीक बनेका पूर्ण बहादुर खड्काहरू कार्यवाहक पद जोगाउन सत्य, नैतिकता र पार्टी मूल्य बिर्सेर लागिपरे। आँफुहरू पद बचाउने यही जिद्दीपन आजको कांग्रेस विनाशको सूत्र बन्दै गएको छ।
कर्णझैँ शेखर कोइराला समूह व्यक्तिगत रूपमा सक्षम भए पनि गलत पक्ष रोजेर अन्याय, असमानता र गलत संस्कार बोकेर हिँडिरहेका छन्। महाभारतमा कर्णको त्रासदी यही थियो सत्य चिने, तर साथ सधै गलतलाई दिए। साथीहरू यहाँ कांग्रेस राजनीतिमा सबैभन्दा खतरनाक भूमिका भने शकुनी प्रवृत्तिहरूको नै छ।
‘केही थान टिके’ हरू जो जालझेल, षड्यन्त्र र संगठनभित्रको चालबाजीबाट कांग्रेस कमजोर पार्न सक्रिय छन्। जसरी शकुनीले हस्तिनापुरको विनाशलाई रणनीतिले अघि बढाए, यी पात्रहरूले पनि कांग्रेस सकाउने दिशामा निरन्तर मेहनत गरिरहेका छन्। पछिल्लो चरणमा कांग्रेस फुटाउने र गगन थापा जस्ता नेताहरूलाई कारबाही गर्ने प्रयास स्वार्थको अन्तिम र सबैभन्दा कुरूप रूप हो। आफ्नो भविष्य जोगाउन पार्टीको भविष्य दाउमा राख्ने यही प्रवृत्ति आजको सबैभन्दा ठूलो खतरा हो।
यहि जालझेल र तिकड़मका बीच गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, गुरुराज घिमिरे, फरमुल्लाह अन्सारीहरूसहित हजारौं महाधिवेशन प्रतिनिधिहरू महाभारतका पाण्डवझैँ स्वच्छ राजनीति, सुधार र प्रणाली परिवर्तन खोज्दा हेलित भइरहेका छन्। उनीहरूको अपराध एउटै हो राजनीति सुध्रिनुपर्छ भन्ने सपना देख्नु। परिवर्तनको आशा राख्नु।
तपाई हामीलाई महाभारतले सिकाएको पाठ स्पष्ट छ शकुनीको चाल, धृतराष्ट्रको अन्धो माया र दुर्योधनको अहंकार एकै ठाउँमा मिले पनि अन्त्यमा जीत सत्य र विनाश असत्यको निश्चित हुन्छ । मात्र हामी एकपटक फेरि घरभित्रका शकुनी र बाहिरका कीचकसँग सत्य, न्याय र परिवर्तनका लागि एकजुट भएर लड्नु छ। इतिहासले डराउनेहरूलाई होइन, डटेर उभिनेहरूलाई मात्र सम्झिन्छ।



कागजपत्र |
