भक्तपुरमा श्रीमानले गरे श्रीमतीको हत्या, छोरा घाइते


भक्तपुर – भक्तपुरको भक्तपुर नगरपालिका वडा नं. १० छालिङ रोड स्थित आर्मी व्यारेक नजिकै एक महिलाको हत्या भएको छ ।

काठमाडौं शंकरापुर नगरपालिका वडा नं. ६ नाङ्लेभारे घर भई आर्मी व्यारेक पछाडि डेरा गरी बस्ने ३३ वर्षीया सलिना तोलाङ्गे विश्वकर्माको हत्या भएको हो ।

सलिनाको हत्या उनकै श्रीमान ३८ वर्षीय विदुर विश्वकर्माले गरेको प्रहरीले जनाएको छ ।

बुधबार बेलुकी पौने आठ बजे घरायसी विवादको क्रममा विदुरले सलिनामाथि खुकुरी प्रहार गरेका थिए । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश जबेगुले जानकारी दिए ।

आमा–बुवाको झगडा छुटाउन गएका उनीहरुका आठ वर्षीय छोरालाई समेत खुकुरी प्रहारको घाउ रहेको प्रहरीले जनाएको छ । भक्तपुर अस्पतालमा उपचार गरी उनी भने डिस्चार्ज भइसकेका छन् । हाल ती बालकलाई प्रहरी परिसर भक्तपुरको बाल मैत्री कक्षमा राखिएको छ ।

घटनास्थलमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट प्रहरी उपरीक्षक (एसपी) सूर्य बहादुर खड्काको कमाण्डमा अनुसन्धान अधिकृत सहितको टोली खटिएको थियो । हाल घटनाको विस्तृत अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया