
एमालेलाई सफलतामा पुर्याएपछि मात्रै विश्राम लिन्छु : ओली
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्वबाट बीचमै नहट्ने स्पष्ट घोषणा गरेका छन्। उनले पार्टीलाई सफलताको उचाइमा पुर्याएपछि मात्रै विधिसम्मत प्रक्रियाअनुसार विश्राम लिने बताएका छन्।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले आफू सहज अवस्था र अवसरका लागि मात्र अध्यक्ष नबनेको उल्लेख गरे। अप्ठ्यारो परिस्थिति आउँदा नेतृत्व छोडेर भाग्ने सोच आफूमा नरहेको उनको भनाइ थियो।
‘सजिलो अवस्था आयो भने अगाडि बढ्ने र अप्ठ्यारो आयो भने झोला फ्याँकेर हिँड्ने व्यक्ति म होइन,’ ओलीले भने, ‘पार्टीलाई सफलतामा पुर्याएर मात्रै विश्राम लिनेछु।’
पार्टीभित्र आफ्नो नेतृत्वबारे कुनै आशंका नराख्न आग्रह गर्दै उनले बीच बाटोमै पार्टीलाई अलपत्र पारेर नजाने बताए। चुनौतीपूर्ण परिस्थितिसँग सामना गर्दै पार्टी र आन्दोलनलाई अघि बढाउने आफ्नो प्रतिबद्धता कायम रहेको उनको भनाइ छ।
ओलीले पछिल्लो समय पितृशोक, गिरफ्तारी र शल्यक्रियालगायत कारणले नियमित राजनीतिक गतिविधिमा केही व्यवधान आएको उल्लेख गर्दै अब पार्टीका नेता–कार्यकर्तासँगको भेटघाट र संवादलाई थप तीव्र बनाउने बताए।
उनले पार्टी, आन्दोलन र देशलाई विद्यमान चुनौतीबाट पार लगाउँदै अगाडि बढाउने आफ्नो संकल्प यथावत रहेको समेत दोहोर्याए।



कागजपत्र |
