भाषणमा एकता, व्यवहारमा समाप्त पार्ने रणनीति !


काठमाडाैं – विशेष अधिवेशनमार्फत सभापतिको जिम्मेवारीमा पुगेपछि गगन थापाले नेपाली कांग्रेसलाई एकढिक्का बनाउने, पुस्ताबीच समन्वय गर्ने र सबै धारलाई समेट्ने प्रतिबद्धता बारम्बार सार्वजनिक रूपमा व्यक्त गरिरहेका छन् । उनका भाषणहरू सुन्दा पार्टीभित्र नयाँ आशा, नयाँ ऊर्जा र सहमतिमूलक नेतृत्वको आभास हुन्छ । तर व्यवहारमा भने उनले चालेका कदमहरूले बिल्कुलै फरक चित्र देखाइरहेका छन् ।

पछिल्लो समय राष्ट्रियसभामा कांग्रेस संसदीय दलको नेता चयनको घटनाले गगन थापाको वास्तविक राजनीतिक चरित्र झन् स्पष्ट पारेको छ । कृष्णप्रसाद सिटौला जस्तो नेता, जसले दशकौँदेखि नेपाली कांग्रेस, लोकतान्त्रिक आन्दोलन र राष्ट्रिय राजनीतिमा निर्णायक भूमिका निर्वाह गरेका छन्, त्यस्ता व्यक्तित्वलाई अपमानजनक ढंगले पाखा लगाएर राष्ट्रियसभाको नेताबाट हटाइनु सामान्य घटना होइन । यो केवल एउटा पदको फेरबदल मात्र होइन, योगदान, अनुभव र राजनीतिक इतिहासमाथिको अपमान हो । उनले राष्ट्रियसभामा कांग्रेस संसदीय दलको नेता परिवर्तन मात्र होइन सिटौलाको एक किसिमले ‘बर्खास्त’  गरेका हुन् ।

सिटौलाको राजनीतिक उचाइ, संघर्ष र योगदानको तुलना सामान्य गुटीय समीकरणसँग गर्न सकिँदैन । तर त्यही स्थानमा कमला पन्तलाई संसदीय दलको नेता बनाउने निर्णयले स्पष्ट संकेत दिएको छ — अहिले कांग्रेसभित्र योग्यता, योगदान र राजनीतिक हैसियतभन्दा पनि कसले कसको सेवा गर्‍यो, कसले कसलाई खुसी बनायो भन्ने आधारमा निर्णय हुन थालेका छन् ।

उनका भाषण जति आकर्षक भए पनि व्यवहारमा भने असहमति राख्नेहरूलाई कमजोर बनाउने, अग्रज नेताहरूलाई किनारामा पुर्‍याउने र संगठनलाई आफ्नै समूहमा सीमित गर्ने प्रवृत्ति देखिन थालेको छ । यही कारण अहिले कांग्रेसभित्र धेरै नेताहरूले खुला रूपमा भन्न थालेका छन् कि बाहिरबाट लोकतन्त्र, सहमति र रूपान्तरणको कुरा गर्ने गगन थापाको राजनीतिक शैली व्यवहारमा भने अत्यन्त नियन्त्रणमुखी, असहिष्णु र सामन्ती बन्दै गएको छ ।

कमला पन्त नेपाली कांग्रेसकी सामान्य नेतृ हुन् । उनको आफ्नै ठाउँमा सम्मान होला, तर नेता सिटौलाको राजनीतिक उचाइ, योगदान र प्रभावसँग उनको कुनै तुलना हुन सक्दैन । कांग्रेसभित्र सिटौलाले निर्माण गरेको राजनीतिक विरासत र राष्ट्रिय राजनीतिमा खेलेको भूमिकालाई मेटेर सामान्य गुटीय सन्तुलनको नाममा गरिएको यो निर्णयले पार्टीभित्र गम्भीर असन्तोष जन्माएको छ ।

यो निर्णय पार्टी एकता, सहमति र सम्मानका आधारमा गरिएको होइन भन्ने कुरा अहिले कांग्रेस वृत्तमै खुला रूपमा चर्चा हुन थालेको छ । बिशेष अधिवेशनको समयमा बनेका समीकरण, निकट समूहको दबाब र आफूलाई सहयोग गर्नेहरूलाई पुरस्कृत गर्ने मानसिकताले यस्तो अवस्था सिर्जना भएको आरोप लागिरहेको छ ।

यसले एउटा गम्भीर प्रश्न उठाएको छ — गगन थापा साँच्चै पार्टी मिलाउने अभियानमा छन् कि आफ्नो वरिपरि मात्रै शक्ति केन्द्र निर्माण गरेर फरक विचार र प्रभावशाली नेताहरूलाई क्रमशः समाप्त पार्ने रणनीतिमा ?

उनका भाषण जति आकर्षक भए पनि व्यवहारमा भने असहमति राख्नेहरूलाई कमजोर बनाउने, अग्रज नेताहरूलाई किनारामा पुर्‍याउने र संगठनलाई आफ्नै समूहमा सीमित गर्ने प्रवृत्ति देखिन थालेको छ । यही कारण अहिले कांग्रेसभित्र धेरै नेताहरूले खुला रूपमा भन्न थालेका छन् कि बाहिरबाट लोकतन्त्र, सहमति र रूपान्तरणको कुरा गर्ने गगन थापाको राजनीतिक शैली व्यवहारमा भने अत्यन्त नियन्त्रणमुखी, असहिष्णु र सामन्ती बन्दै गएको छ ।

यदि साँच्चै पार्टीलाई एक बनाउने चाहना भएको भए, योगदान दिएका नेताहरूलाई अपमानित गरिने थिएन । फरक धारलाई समाप्त पार्ने होइन, सम्मानजनक स्थान दिइने थियो । तर अहिले देखिएको प्रवृत्तिले भने कांग्रेसभित्र एकताको नाममा नयाँ प्रकारको एकाधिकारवादी राजनीति संस्थागत गर्न खोजिएको संकेत गरिरहेको छ ।

प्रतिक्रिया