बेहाल गणतन्त्र स्मारकः निर्माण नसकिँदै जीर्ण


काठमाडौं – २०६५ जेठ १५ गते राजतन्त्र अन्त्यभएसँगै तत्कालीन नारायणहिटी राजदरबार परिसरलाई नारायणहिटी संग्रहालय घोषणा गरिएको थियो । त्यहि संग्रहालय परिसरकै पूर्वतर्फको ३५ रोपनी क्षेत्रफलमा ‘गणतन्त्र स्मारक’ रहेको छ ।

सोमबार ५० रुपैयाँ प्रवेश शुल्क तिरेर त्यहाँ पुग्दा एउटा म्यूजिक भिडियोको सुटिङ भइरहेको थियो । प्रवेशद्वारबाटै पानीको फोहोराको दृश्यसँगै भित्र प्रवेश गर्दा त्यहाँको वातावरण एकदमै शान्त रहेको पाइयो ।

सुटिङ यूनिट र कलाकारबाहेक त्यहाँ कुनै किसिमका पर्यटक थिएनन् । एकजना प्रहरीलाई त्यहाँको सुरक्षा जिम्मा दिइएको छ । उनका अनुसार शनिबारबाहेक त्यहाँ मानिसहरुको भिड बिरलै लाग्छ ।

आकर्षक बगैंचा, वाटर फाउन्टेन र विशेष बत्तीले स्मारक सजाइएको छ । स्मारकको अगाडिपट्टी ठूलो ढुंगा खोपेर पुस्तकको आकार बनाइएको छ र त्यसमा ‘नेपालको संविधान २०७२’ लेखिएको छ । तर, त्यहाँ लेखिएका अक्षर मेटिइसकेका छन् । धुलो र फोहोरले त्यो पुस्तक मैलो देखिन्छ ।

त्योभन्दा अलि अगाडि जाँदा मुख्य स्मारकमा हिमाल, पहाड र तराई झल्किने गरी बालुवा, गिट्टी र सिमेन्टलगायत सामग्रीले नेपालको नक्सा बनाइएको छ । त्यो पनि फोहोर र धुलो जमेर चिन्नै नसकिने अवस्थामा छ । त्यहाँ जिल्ला देखाउन लेखिएका कतिपय नामप्लेट नै छैनन् ।

माथिल्लो बेसमेन्टमा पिरामिड शैलीमा निर्माण गरिएको ४ स्तम्भलाई जोड्ने फलामे रिङलाई छोपिएको पाता उक्किएर लत्रिएको छ । चारवटा स्तम्भमा प्रयोग भएका पाता खुइलिएर कालो भएका छन् ।

यी चारवटै स्तम्भका अलग–अलग विम्व छन् । पहिलो स्तम्भले गणतन्त्र स्थापनाका लागि जीवन अर्पण गर्ने सहिदहरु तथा दोस्रोले राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका व्यक्तिहरुको विम्व बोकेको छ । यस्तै तेस्रो र चौथो स्तम्भ अंगभंग भएकाहरुको स्मरणमा तयार पारिएको छ ।

यसैगरी स्मारकबारे जानकारी दिन राखिएको अक्षरहरू पढ्न नमिल्ने गरी रङ उडेका छन् । भुइँमा बिछ्याइएका टाइलहरूबिचबाट तल्लो बेसमेन्टमा पानी छिर्ने भएको हुँदा त्यहाँ सिमेन्टले टालिएका छन् । त्यहाँ भइरहेको सुटिङ युनिटका एकजना भन्छन्, ‘यो स्मारक बनाउन ४५ करोड खर्च भयो भन्छन् तर अहिले नै यति धेरै टुटफुट भइसकेको छ । प्रचारप्रसार पनि त्यति भएन सायद । त्यसैले यता सुनसान छ ।’

यस्तै लाइटिङ सिस्टम पनि खराब भइसकेको त्यहाँ लत्रिएका तारले बताइरहेको थियो । स्मारकको वरिपरि रहेका बगैँचाले पर्याप्त मात्रामा मलजल नपाउँदा फूल तथा बु्ट्यान सुकेको जस्तो देखिन्छ । फोहोराबाहेक अन्य संरचना जीर्ण अवस्थामा रहेका छन् । पानी रसाएको कारण तल्लो बेसमेन्टमा रहेको म्यूजियम मर्मतका लागि भनेर बन्द अवस्थामा रहेको छ । त्यहाँका कर्मचारीका अनुसार निर्माण कार्य चलिरहेकाले त्यहाँ प्रवेश निषेध गरिएको हो ।

सहरी विकास मन्त्रालयले गणतन्त्र पार्क र गणतन्त्र स्थापनाका क्रममा भएका विभिन्न सशस्त्र तथा शान्तिपूर्ण आन्दोलन झल्किने गरी गणतन्त्र स्मारक निर्माण गरेको थियो । स्मारक बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला २०६८ साल चैत ३ गते शिलान्यास भएको थियो । २०६९ मंसिरमा बिकोई/स्काई/बंगलामुखी ज्वाइन्ट इन्भेन्चरसँग सम्झौता गरी तीन वर्षभित्र निर्माण गर्ने गरी सरकारले जिम्मा दिएको थियो । तर, ८ वर्ष लगाएर ४५ करोड लागतमा निर्माण सम्पन्न भएको स्मारक पूर्ण रुपमा बनिसकेको छैन । यद्यपि २०७६ जेठ १५ गते केपी ओली सरकारको पालामा निर्माण कार्य नसकिँदै हतारमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट स्मारकको उद्घाटन गरिएको थियो । उद्घाटन भएको ४ वर्ष हुँदा पनि स्मारक अझै पूर्ण रुपमा निर्माण भएको छैन ।

हाल यो स्मारक सर्वसाधारणका लागि खुला गरिएको छ । तर, दिनमा करिब ५० जनाको हाराहारीमा मात्रै सर्वसाधारण आउने गरेको त्यहाँ कार्यरत कर्मचारीले जानकारी दिएका छन् ।

पूर्णरुपमा निर्माण सम्पन्न नभइकनै उद्घाटन भएको उक्त स्मारकका केही भाग जीर्ण भएको अवस्थामा मर्मतको कार्य सुरु हुने नारायणहिटी दरबार संग्रहालयका सूचना अधिकारी पुरुषोत्तम थापाले जानकारी दिए । स्मारक नारायणहिटी संग्रहालयको शाखा भएकाले सहरी विकास मन्त्रालयले मर्मत तथा पूर्ण कार्यसम्पन्न गर्न बजेट निकास नगरेको अवस्थामा काम रोकिएको उनले बताए ।

‘तल्लो बेसमेन्टमा माथिबाट लिकेज भइरहेको छ । त्यो मर्मतका लागि बन्द गरिएको हो । त्यसका लागि बजेट परेको छ भन्ने सुनिएको छ’ सूचना अधिकारी थापाले भने, ‘उहाँहरु (मन्त्रालय)ले हेरिरहनु भएको छ । त्यसको पूर्ण विवरण आइसकेको छैन । अब छिट्टै मर्मत गर्ने तयारी छ ।’

उनका अनुसार तलको बेसमेन्ट मर्मत गरेर म्यूजियम सूचारु गर्न मन्त्रालयमा आग्रह गरिएको धेरै समय भइसक्दा पनि उताबाट केही पहल भएको छैन ।

प्रतिक्रिया