


आरसीबीको विजयोत्सवमा भागदौड : ७ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडौं- बेंगलुरुको एम. चिन्नास्वामी रंगशालाबाहिर रॉयल च्यालेञ्जर्स बेंगलुरु (आरसीबी) को ऐतिहासिक जितपछि भव्य उत्सव मनाइँदै गर्दा दुःखद घटना घटेको छ। मंगलबार राति अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा सम्पन्न फाइनल खेलमा आरसीबीले पंजाब किंग्सलाई ६ रनले हराउँदै पहिलो पटक आईपीएल उपाधि जितेपछि समर्थकहरू विजयोत्सवमा रमाइरहेका थिए।
१८ वर्ष लामो प्रतीक्षा पछि आएको जितले समर्थकहरूमा अपार खुशीको माहोल सिर्जना गर्यो। फ्रेन्चाइज आइकन विराट कोहलीका लागि पनि यो उपाधि विशेष महत्वको रह्यो, किनभने उनले २००८ देखि नै आरसीबीका लागि खेलेका छन् तर उपाधि भने यसअघि जित्न सकेका थिएनन्।
तर, यो खुसीको माहोलमा एक दुःखद खबर पनि आएको छ। सामाजिक सञ्जालमा फैलिएका भिडियोहरू अनुसार, रंगशालाबाहिर अत्यधिक भिड भएका कारण स्थिति नियन्त्रण बाहिर जान थालेपछि कर्नाटक प्रहरीले भिड व्यवस्थापन गर्न हल्का बल प्रयोग गरेको थियो।
यसैबीच, चिन्नास्वामी रंगशालामा आरसीबीको विजयोत्सवको क्रममा भागदौड हुँदा सात जनाको मृत्यु भएको खबर आएको छ, जसमा एक बालक पनि छन्। घटनामा २५ भन्दा बढी मानिस घाइते भएका छन्, जसमा ६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
यो दुखद घटनाले आरसीबीको ऐतिहासिक जितको खुसीमा कालो छायाँ परेको छ।

