


काठमाडौं महानगरको क्यान्सर परीक्षण शिविरमा १२६ महिलामा एचपीभी संक्रमण पुष्टि

काठमाडौं – काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको एक महिने क्यान्सर परीक्षण शिविरमा परीक्षण गरिएका २,५६४ महिलामध्ये १२६ जनामा ह्युमन पेपिलोमा भाइरस (एचपीभी) पोजेटिभ देखिएको छ। शिविर महानगर र राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स)को सहकार्यमा चैत १२ देखि वैशाख १२ सम्म सञ्चालन गरिएको थियो।
शिविरमा सहभागी चिकित्सक टोलीले सोमबार महानगरलाई नतिजासहितको प्रतिवेदन बुझाएको हो। वीर अस्पतालकी क्यान्सर विशेषज्ञ प्रा. डा. सन्ध्या चापागाईँका अनुसार एचपीभी पोजेटिभ देखिएको भन्दैमा क्यान्सर भएको भन्ने अर्थ नलाग्ने बताइन्। तर, एचपीभी संक्रमणले भविष्यमा क्यान्सरको जोखिम बढाउने भएकाले सचेत रहनुपर्ने उनको भनाइ थियो।
१२६ पोजेटिभ केसमध्ये १३ जनामा एचपीभी–१६ र १५ जनामा एचपीभी–१८ देखिएको छ। बाँकी ९८ जनाको संक्रमण अन्य एचपीभी समूहमा परेपनि हाल त्यस्ता भाइरस परीक्षण गर्ने प्रविधि नहुँदा वर्गीकरण गर्न सकिएको छैन। उपकरण उपलब्ध भएमा नमूनाको पुनः परीक्षण गरी नतिजा स्पष्ट पार्न सकिने डा. चापागाईँले जानकारी दिइन्।
शिविरमा ६७० जनाको मेमोग्राम, ३७० जनाको स्तन क्यान्सर परीक्षण, ११३ जनाको कोलपोस्कोपी गरिएको थियो। सहभागीमध्ये करिब ८५ प्रतिशत महिलाले पहिलो पटक क्यान्सर परीक्षण गराएका थिए। परीक्षण गरिएकामध्ये ३८ जनाको परिवारमा स्तन क्यान्सरको इतिहास थियो भने ५ जनामा स्तन र सर्भाइकल क्यान्सर, २ जनामा डिम्बाशयको क्यान्सर तथा ३४ जनामा सर्भाइकल क्यान्सरको पारिवारिक इतिहास पाइयो।
परीक्षणमा मुख्यतः ३० देखि ६९ वर्ष उमेर समूहका महिलाहरू सहभागी भएका थिए। गत वर्ष परीक्षण गराएकामध्ये केही व्यक्तिहरूले यो वर्ष पनि परीक्षण गराएका थिए। एचपीभी संक्रमणले क्यान्सरको जोखिम पुर्याउने भाइरस समूहमा एचपीभी १६ र १८ प्रमुख मानिन्छन्, जसको परीक्षण नेपालमा मात्र उपलब्ध छ।
वीर अस्पतालको अङ्कोलोजी विभाग प्रमुख डा. विवेक आचार्यका अनुसार महानगरसँगको सहकार्यमा भविष्यमा परीक्षणलाई नियमित सेवा बनाउने योजना बनाइएको छ। महानगरका स्वास्थ्य विभाग प्रमुख दीपककुमार केसीले पनि परीक्षणलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।
क्यान्सर परीक्षण विधिमा स्तनको क्लिनिकल परीक्षण, शंका लागेमा मेमोग्राफी तथा अल्ट्रासाउन्ड, पाठेघरको मुखको क्यान्सरका लागि एचपीभी डीएनए पीसीआर परीक्षण, पोजेटिभ केसमा कोलपोस्कोपी र बायोप्सी गरिएको थियो। यो शिविर २०८१ सालमा सुरु गरिएको परीक्षण कार्यक्रमको दोस्रो चरण थियो।
गत वर्ष ८,१४५ महिलाले परीक्षण गराउँदा ६,६३४ जनाको एचपीभी परीक्षण गरिएको थियो भने ४५३ जनामा संक्रमण पुष्टि भएको थियो।

