अग्नि सापकोटाविरुद्धको रिटमा उत्प्रेषणको आदेश


काठमाडौं- पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दामा सर्वोच्च अदालतले उत्प्रेषण आदेश जारी गरेको छ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको संयुक्त इजलासले बुधबार सुनुवाइपछि यस्तो आदेश दिएको हो।

यसअघि अदालतले मुद्दासम्बन्धी अनुसन्धान विवरण पेश गर्न आदेश दिएको थियो। बुधबारको आदेश पूर्णिमाया लामाद्वारा दायर रिटमा आएको हो, जसमा उनले मन्त्रिपरिषद्, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित सात जनालाई विपक्षी बनाएकी थिइन्।

यो मुद्दा सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन सबैभन्दा पुरानो मुद्दा थियो। लामो समयपछि पुनः सुनुवाइ गर्दै इजलासले उत्प्रेषण आदेश दिएको हो।

यस्तै, यस प्रकरणमा परेको कनकमणि दीक्षित र सुशील प्याकुरेलद्वारा दायर रिट सर्वोच्चले खारेज गरिदिएको छ। सापकोटाले उनीहरूविरुद्ध दायर गरेको रिटमा भने अदालतले ‘दाबी नपुग्ने’ फैसला सुनाएको छ।

उक्त मुद्दामा प्रारम्भिक रूपमा न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले मुद्दालाई संवैधानिक इजलासमा लैजाने आदेश दिएको थियो।

मुद्दाको पृष्ठभूमि अनुसार, २०६२ साल वैशाखमा काभ्रेको छत्रबाँझस्थित कृष्ण माविका व्यवस्थापन समितिका अध्यक्ष अर्जुन लामाको हत्या माओवादी कार्यकर्ताबाट भएको थियो। सापकोटा त्यतिबेला काभ्रे जिल्लाको माओवादी नेतृत्वमा थिए, र हत्या प्रकरणमा संलग्न रहेको आरोप मृतकको परिवारले लगाउँदै आएको छ।

 

प्रतिक्रिया