


विश्वकप लिग–२ः नेपालको लगातार दाेस्रो जित, नेदरल्याण्डसविरूद्ध आरिफको शानदार पारी

काठमाडौं – विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डमा जारी त्रिकोणात्मक एकदिवसीय खेलमा नेपाल लगातार दोस्रो खेलमा जित निकाल्न सफल भएको छ।
गएराति भएको आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित सहित अङ्क तालिकामा १४ खेलबाट १० अङ्क बनाउन सफल भयो। तालिकामा नेपाल एकल अङ्कबाट दोहोरो अङ्क (डबल डिजिट) मा पुगेको हो।
स्कटल्याण्डको डन्डी स्थित फोर्थहिल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले दिएको २ सय २६ रनको लक्ष्य पछ्याएको नेपालले उक्त लक्ष्य ४७ दशलमव १ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो।
नेपालका लागि आरिफ शेखले ९९ बलमा ७ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ७८ रनको इनिङ खेल्दा दिपेन्द्र सिंह ऐरीले ३८ रन बनाएर अविजित रहे। उनलाई गुल्सन झाले ११ रन बनाएर साथ दिए।
कप्तान रोहित पौडेलले २३ रन बनाउँदा आसिफ शेखले १९ र कुशल भुर्तेलले २५ रन बनाएर आउट भएका थिए।
डच टोलीका लागि माइकल लेभिटले २ विकेट लिंदा भिभियन किंग र पउल भान मिकरेनले समान १–१ विकेट लिएका थिए।
त्यसअघि टस जितेर ब्याटिङ गरेको डच टोली ४९ दशलमव १ ओभरमा अलआउट हुँदै २ सय २५ रनमा समेटियो। नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवार्डले ४६ रन बनाउँदा नोच क्रोएसले ४८ रन बनाएका थिए।
त्यस्तै विक्रमजित सिंहले ३८ रन बनाउँदा जाच लियोन क्याचेटले २७ रन बनाए। त्यस्तै तेजा निदामनुरुले १३ रन रोलअफ भान डेर म्यार्युले २१ रन बनाएका थिए।
नेपालका लागि सोमपाल कामीले ३ विकेट लिंदा करण केसी, सन्दीप लामिछाने र ललित राजवंशीले समान २–२ विकेट लिए।
नेपालले अब अर्को खेल आगामी आइतबार घरेलु टोली स्कटल्याण्ड र सोमबार नेदरल्याण्डसँग खेल्नेछ।

