स्थायी प्रतिपक्षीको भूमिकाका लागि आयौं हामी


पञ्चकन्या मिडिया ग्रुप प्रालिको प्रकाशनका रुपमा आजका मितिदेखि www.kagajpatra.com मार्फत मिडियाको डिजिटल दुनियाँमा हामी पनि एउटा सदस्यका रुपमा जोडिएका छौं ।

मूर्धन्य नाम कमाउने अभिलासा होइन, मनग्य धन कमाउने लोभ पनि होइन अति नै सुखी र खुसी नेपालीको मनोकांक्षामा परिरहेको आघातहरूमाथि प्रश्न गर्ने जोशमा जोडिएका हौं । जब राज्य बलियो हुन्छ सदनको प्रतिपक्षीको भूमिका अल्पमतमा पर्छ । तर सबैभन्दा ठूलो जनमत जनतासँग हुन्छ । ती तमाम जनताको तर्फबाट प्रश्न गर्ने स्थायी प्रतिपक्षीको सार्थक भूमिका निभाउने प्रयत्न र अभ्यासका लागि हामी जोडिएका हौं ।

भनिन्छ– पत्रकारका लागि सम्पूर्ण सत्यले कथाको आकार लिन्छ । हामी त्यो पत्रकारिताको लालयीत यात्रामा जानेछौं । अहिलेका विशेष मुद्दा राजनीतिक स्थायीत्व, भ्रष्टाचारशुन्य प्रशासन, समाज र सरकार नै हुन् । अनेक विषय प्रत्यक्ष र परोक्ष रुपमा यीसँग नै जडित छन् । यति धेरै मिडियाले यी अनेक विषयसँग प्रकारान्तरले सम्बन्धित समाचारका पोको तयार पार्दै जनतासामु खोल्नैपर्छ । अरुले कसो गर्छन् भन्नेतिर हैन, हामीचाहिँ जनतासामु शब्द र अक्षरको हाेइन, कामको प्रतिबद्धता लिएर आएका हौं ।

यो मैदानमा आफैंले उठाएका प्रत्येक मुद्दा, विषय र त्यसका पुष्टिकरणमा केन्द्रित रहनेछौं । यो आफैंसँगको निरन्तरको स्पर्धा हुनेछ । तर जनताका पक्षबाट राज्यलाई स्थायी प्रतिपक्षका रुपमा बारम्बार मुद्दा देखाउनेछौं, प्रश्न गर्नेछौं । दुष्टका लागि पत्रकारितामार्फत उदाङ्गो पार्नुभन्दा अर्को ठूलो कानुन कुनै हुँदैन भन्ने उद्दरणको लयमा नै हाम्रो सम्पादकीय टिमले काम गर्नेछ ।

राष्ट्रिय स्वाधिनता, स्वाभिमान, लोकतन्त्र, प्रेस स्वतन्त्रताको पक्षमा अटल उभिनु र राष्ट्रिय विखण्डनकारी, राजनीतिका नाममा अराजनीतिक र आपराधिक गतिविधि, भ्रष्टाचार, विकास निर्माणमा ठगी, आर्थिक क्षेत्रमा मुलुकलाई आघात पार्नेका लागि सँधै ‘फूलो’ बन्नु हाम्रो मूल लक्ष्य हुनेछ । अवस्था र परिवेश जोखिपूर्ण छ, मिडियाका लागि पनि जोखिम छ । पत्रकारहरू बेरोजगार हुनुपर्ने अवस्था निक्कै दुखदायी हो । पत्रकार बेरोजगार हुनु भनेको जनताले पाउनुपर्ने सूचनाको कमी हुनु हो । त्यसैले यो जोखिमलाई नजरअन्दाज नगरी थोरै भए पनि जानकारी दिन सकिन्छ भन्ने धेयले नै आएका हौं- जोखिम छ तैपनि आयौं ।

हामी डिजिटल प्ल्याटफर्ममार्फत आधुनिक विश्वसँग समाचारीय, विचारीय सम्बन्धसहित जोडिएका छौं, हाम्रो विश्वसनियतामाथि कुनै प्रकारको शंका भएका निर्वाध प्रतिक्रियाको अपेक्षासहित आजदेखि विश्वबजारको मैदानमा औपचारिक रुपमा आएका छौं । हामी कामका माध्यमले असली ‘बधाई’को लोभमा छौं, पाठकको मायाका लागि ‘लालची’ छौं ।

रवि धामी, प्रधान सम्पादक

प्रतिक्रिया