यी ५ कै कारण चर्चित बन्यो यसपटकको स्थानीय तह निर्वाचन

भरतपुर, काठमाडौं, धनगढी, धरान र ब्यास चर्चाको शिखरमा रहे


वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा ७५३ मध्ये करिब ८० प्रतिशतभन्दा बढी स्थानको मतपरिणाम आइसकेको अवस्थामा मतगणनाको सुरुदेखि नै केही स्थानीय तह चर्चाको केन्द्रमा रहन सफल भए । केही निर्वाचन क्षेत्र उम्मेदवारी दिने दिन देखि नै चर्चाको शिखरमा रहे । सत्ता गठबन्धनले निर्वाचनमा पनि गठबन्धन गर्ने निर्णय गरेसँगै देशका केही स्थानीय तहमा विशेष चासोका रूपमा हेरियो ।

मतदान अघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल पुत्री रेणु दाहालले उम्मेदवारी दिएको भरतपुर सबैभन्दा बढी चर्चाको शिखरमा रहन सफल भयो भने मतगणना सुरु भएपछि काठमाडौं महानगरमा बालेन सबैभन्दा चर्चाको केन्द्रबिन्दु रहे ।

सुदूरपश्चिमकाे धनगढी उपमहानगरपालिकामा प्रधानमन्त्री पत्नी आरजु देउवाको मान्छेका लागि टिकट दिइयो भने, धरानमा अभियन्ता हर्क साम्पाङको उम्मेदवारी चर्चाको शिखरमा रह्यो । त्यस्तै तनहुँको ब्यास नगरपालिकामा कांग्रेस नेता रामचन्द्र पौडेल र गोविन्दराज जोशीबीचको टकराव देखियो ।

काठमाडौं महानगर, काठमाडौं

मतगणना सुरुभएपछि अर्को चर्चाको शिखरमा रह्यो काठमाडौं महानगर । एमालेले ‘सेलिब्रेटी’ उम्मेदवार केशव स्थापितलाई उम्मेदवार चयन गरेपछि निश्चित जितको नजिक रहे पनि मतदान अघिका उनका केही अभिव्यक्ति र विगतका केही ‘नैतिक छवि’का कारण उनी विवादित बनिरहे । जसको प्रत्यक्ष फाइदा नेपाली कांग्रेसले लिने अपेक्षा गरिए पनि कांग्रेसको उम्मेदवारी चयनले त्यसलाई निराश तुल्याइदियो । कांग्रेसले प्रकाशमान सिंह श्रीमतीलाई टिकट दिएपछि महानगर नेतृत्वका लागि मतदाताले वैकल्पिक शक्तिको खोजी गरे । त्यसमा सबैभन्दा अगाडि फेला परे चर्चित र्यापर–बालेन्द्र शाह उर्फ बालेन ।

मतगणनाको एक साताअवधि बितिसक्दासम्म बालेनले अन्य उम्मेदवारलाई धेरै पछाडि छाडिसकेका छन् । उनले सुरु देखिए नै पाएको मतको आधारलाई हेर्दा काठमाडौंमा उनको जितको बाधक कोही पनि नरहेको स्पष्ट पारिसकेका छन् । मुख्य उम्मेदवार स्थापित र सिंह दुवैको भन्दा धेरै मतले अगाडि रहेका बालेनले केशव स्थापितकै वडामा स्थापितलाई माथ खुवाउँदै अगाडि बढ्न सफल भएका थिए । यसबाट बालेनले काठमाडौंमा जित हात पार्ने पक्का देखिएको छ ।

यसबाहेक उपमेयरमा भने ‘ग्ल्यामरस’ सुनिता डंगोलले बाजी मार्ने देखिएको छ । प्रतिद्वन्द्वी भन्दा तेब्बरमतले अगाडि रहेकी डंगोललाई जितबिमुख गराउन कुनै पनि शक्तिको केही नलाग्ने अहिलेसम्मको तथ्यांकले देखाएको छ । सामाजिक अभियन्ताको रुपमा चर्चित रहेकी डंगोललाई नेकपा एमालेले उपमेयरको टिकटका साथ एमाले प्रवेश गराएको थियो । सुनिताकै कारण एमालेले केही भोट बढाउने अपेक्षा गरिए पनि स्थापितका अभिव्यक्तिबाट झन् घटेको देखिएको थियो ।

यसरी हेर्दा काठमाडौं महानगरप्रमुख उपप्रमुख दुवैमा यसपटक युवा उम्मेदवारले बाजी मार्ने देखियो, त्यो पनि स्वतन्त्र ३२ वर्षीय उम्मेदवारले नगरको बागडोर सम्हाल्ने भए भने उनलाई साथ दिने भइन् एमालेको साख जोगाइदिन एमाले प्रवेश गरेकी सुनिता डंगोलले । मतगणनासम्पन्न हुँदै गर्दा काठमाडौंले बालेन र सुनितालाई काठमाडौं मेयर उपमेयरमा देख्ने करिब करिब निश्चित भएको छ ।

भरतपुर महानगर, चितवन

प्रचण्डले भरतपुरमा रेणुको जित हारले देशकै भविष्य निर्धारण गर्ने अभिव्यक्ति दिएसँगै भरतपुर सबैको चर्चाको केन्द्रबिन्दु बनेको थियो । गत निर्वाचनमा पनि नेपाली कांग्रेसको मतले भरतपुर मेयर जितेकी रेणुले यसपटक पनि जितका लागि कांग्रेसकै साथ लिन बाध्य भइन् । तथापि कांग्रेसभित्रको विद्रोहका कारण जितबाट विमुख हुनुपर्ने भयबाट त्रसित रेणुले अहिले ठूलो अग्रता लिइरहेकी छिन् ।

कांग्रेस नेता जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिएका भरतपुरमा अहिले आएर रेणुको जितमा सबैभन्दा सहयोगी सिद्ध हुने लक्षण देखिएको छ । रेणुको जितका लागि देशभरिकै शक्ति खर्चिएको कांग्रेसले कुनै पनि मूल्यमा भरतपुरमा रेणुलाई जिताउनुपर्ने बताइरहेकै बेला कतिपय असन्तुष्ट कांग्रेस कार्यकर्ता तथा मतदाताले वैकल्पिक रुपमा पौडेललाई मत दिएको देखिएको छ । गत निर्वाचनमा रेणुको विरुद्धमा लागेका कांग्रेस कार्यकर्ताले नेकपा एमालेका देवी ज्ञवालीलाई मत दिँदा ज्ञवालीको मत बढी आएको थियो । ज्ञवालीले भरतपुरमा वडाअध्यक्षहरुले पाएको मत भन्दा करिब ५ हजार बढी मत ल्याएका थिए । त्यो मतलाई असन्तुष्ट कांग्रेसकै मत मान्न सकिन्छ । तर, यसपटक असन्तुष्ट कांग्रेसले एमाले उम्मेदवारलाई नभई बागी उम्मेदवार पौडेललाई मत दिएर रेणुको जितमा अप्रत्यक्ष सहयोग गरिरहेका देखिएको छ ।

मतगणनाको अहिलेसम्मको परिस्थिति हेर्दा रेणु करिब ५ हजार मतले अगाडि छिन् भने अब रेणुका लागि काठमाडौंमा एमाले उम्मेदवार केशव स्थापितले भन्ने गरेको ‘कोर एरिया’को मत गणना हुन बाँकी नै रहेकोले करिब जित निश्चित नै भएको देखिएको छ ।

धरान उपमहानगरपालिका, सुनसरी

यसपालिको निर्वाचनमा अर्को चर्चाको शिखरमा रह्यो धरान उपमहानगरपालिका । स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङको उम्मेदवारीसँगै हौसिएको धरानका मतदाताले अन्य उम्मेदवारलाई पाखा लगाउने लक्षण देखिएको छ । प्रमुख प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार किशोरकुमार राईलाई करिब १५ सय मतले पछाडि छाडेका छन् ।

धरानका हरेक काममा चासो र जनहितका काममा जहिले अगाडि सर्ने साम्पाङलाई साथ दिएर यसपटक धराने मतदाताले इतिहास रच्ने अभियानमा रहेको स्पष्ट भइसकेको छ ।

धनगढी उपमहानगरपालिका, कैलाली

यसपालि अर्को चर्चाको शिखरमा रह्यो प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवाको निर्वाचन क्षेत्र कैलालीको धनगढी उपमहानगरपालिका । नेपाली कांग्रेसबाट टिकट पाउने अपेक्षा गरेका गोपाल हमाललाई आरजुकै दबाबका कारण टिकट नदिइएपछि हमालले स्वतन्त्र रुपमा उम्मेदवारी दिए ।

पार्टीले हमाललाई बागी उम्मेदवारको रुपमा कारबाहीको निर्णय गरिसक्यो । तर, मतगणनामा उनले कांग्रेसका आधिकारिक उम्मेदवारलाई ठूलो अन्तरले लिड गरिरहेका छन् । अहिलेसम्मको तथ्यांकलाई हेर्दा धनगढीमा स्वतन्त्र उम्मेदवार हमालले जित हात पार्नेमा कुनै द्विविधा देखिएको छैन । उनले अहिलेसम्मको मतगणनाबाटै जित पक्का गरिसकेका छन् ।

अहिलेसम्मको गणनामा प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार नृपबहादर वडभन्दा ११ हजार मतले अगाडि रहेका छन् । हमालले २२ हजार मत ल्याउँदा वड ११ हजारमा सीमित रहेका छन् । यसबाट धनगढीमा स्वतन्त्र उम्मेदवार हमालले बाजी मार्ने निश्चित देखिएको छ ।

ब्यास नगरपालिका, तनहुँ

तनहुँको सदरमुकामसमेत रहेको ब्यास नगरपालिका अर्को चर्चित स्थानीय तह बन्न पुग्यो । नेपाली कांग्रेस नेता रामचन्द्र पौडेल र गोविन्दराज जोशीबीचको द्वन्द्व यसपटक ब्यासमा स्पष्ट रुपमा देखियो ।

पौडेलका उम्मेदवारविरुद्ध जोशीका छोरा दिपकराज जोशीले उम्मेदवारी दिए, र उनलाई साथ दियो नेकपा एमालेले । त्यसको नतिजाको रुपमा अहिलेको गणनासम्म ब्यासमा स्वतन्त्र उम्मेदवार जोशीले अग्रता लिइरहेका छन् ।

नेपाली कांग्रेसले निवर्तमान नगर प्रमुख बैकुण्ठ न्यौपानेलाई मैदानमा उतारेको थियो । ब्यासको यो उम्मेदवारीलाई बैकुण्ठ र दिपकराजको लडाइँभन्दा पनि रामचन्द्र पौडेल र गोविन्दराज जोशीको लडाइँमा हेरिएको छ ।

जोशीको लोकप्रियताले त्रसित पौडेल पक्षले निर्वाचनका दिन जोशीलाई सांघातिक हमला गरेपछि एक साताको अस्पताल बसाईपछि शुक्रबार मात्रै अस्पतालबाट डिस्चार्ज भएका छन् । जोशीले कुटाई खाएपछि स्थगित भएको एउटा मतदान केन्द्र अनि अन्य एकसातासम्मको आफ्नो निर्वाचन क्षेत्रबाट टाढा रहनु परेको अवस्थाबाट मुक्त भएका छन् । उनी अस्पतालमै रहेका बेला स्थगित केन्द्रमा मतदान भयो । मतदान सुरु भयो, र सुरु देखि नै अग्रता लिँदै गए र उनका मतदाताले अपेक्षा राखेका छन्, अन्तिमसम्म पनि यस्तै रहोस् भन्ने ।

प्रतिक्रिया