


शुभलाभ फार्मालिंकको सेफिट्रक्जोन इन्जेक्सनमा प्रतिबन्ध

काठमाडौं- औषधि व्यवस्था विभागले पर्सास्थित शुभलाभ फार्मालिंक प्रालिद्वारा उत्पादित सेफिट्रक्जोन इन्जेक्सनको बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ।
बजार अनुगमनको क्रममा विभागले उक्त कम्पनीद्वारा उत्पादन गरिएको ब्याच नम्बर N192403 को सेफिट्रक्जोन इन्जेक्सन गुणस्तरहीन रहेको निष्कर्ष निकालेको हो। त्यसैले औषधि ऐन, २०३५ को दफा १४ अनुसार औषधिको बिक्री, वितरण र प्रयोगमा रोक लगाइएको विभागले जानकारी दिएको छ।
विभागले औषधि बजारबाट तत्काल फिर्ता गर्न र त्यसको विवरण पेश गर्न निर्देशन दिएको छ। साथै, सो औषधिको सिफारिस, बिक्री तथा प्रयोग नगर्न सबै सरोकारवालालाई आग्रह गरिएको छ।

