इरान र इजरायलमा रहेका नेपालीहरू सुरक्षित : परराष्ट्र मन्त्रालय


काठमाडौं- इजरायल र इरानबीच सैन्य तनाव चुलिँदै गए पनि ती देशहरूमा रहेका नेपाली नागरिकहरू हालसम्म सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै इरानमा रहेका १२ जना नेपाली नागरिक सम्पर्कमा रहेको र उनीहरू सबै सुरक्षित रहेको स्पष्ट पारेको हो। साथै, कुनै समस्या परेमा सम्पर्क गर्न इरान हेर्ने दोहास्थित नेपाली राजदूतावासका नियोग उपप्रमुख कुमार राईको सम्पर्क नम्बरसमेत सार्वजनिक गरिएको छ।

त्यसैगरी, इजरायलमा करिब ५ हजार ५ सय नेपाली रहेका छन्। ती सबै नेपाली हालसम्म सुरक्षित रहेको मन्त्रालयले जानकारी दिएको छ। इजरायलमा रहेका नेपालीलाई आवश्यक परेमा तेलअभिभस्थित नेपाली दूतावाससँग सम्पर्क गर्न र सुरक्षाका लागि जारी गरिएको एडभाइजरी पालना गर्न पनि मन्त्रालयले आग्रह गरेको छ।

गएको शुक्रबार इजरायलले इरानमाथि हवाई आक्रमण गरेपछि स्थिति थप तनावग्रस्त बनेको छ। इरानले पनि जवाफमा इजरायलतर्फ मिसाइल प्रहार गरेको थियो। यस घटनाक्रमले मध्यपूर्वमा पुनः द्वन्द्व चर्किने संकेत देखिएको छ।

प्रतिक्रिया