
विदेशमा सर्भर राखेर कर छली, ‘नेपाल क्यान मुभ’ कम्पनीविरुद्ध १ अर्ब ३६ करोडको मुद्दा
काठमाडौं- राजस्व अनुसन्धान विभागले सर्भर विदेशमा राखेर अनलाइन कारोबारमार्फत ठुलो परिमाणमा कर छली गरेको आरोपमा ‘नेपाल क्यान मुभ प्रालि’ नामक कुरियर कम्पनी र त्यसका सञ्चालकहरूमाथि पाटन उच्च अदालतमा १ अर्ब ३६ करोड ८८ लाख रुपैयाँभन्दा बढीको माग दाबीसहित मुद्दा दायर गरेको छ।
विभागका अनुसार उक्त कम्पनीले आफ्नो अनलाइन पोर्टल nepalcanmove.com को सर्भर अष्ट्रेलियामा राखी नेपालमै व्यवसायिक सेवा सञ्चालन गर्दै आएको थियो। यसरी विदेशी सर्भर प्रयोग गरेर कम्पनीले नेपालको कर प्रणालीको निगरानीबाट बच्ने प्रयास गरेको अनुसन्धानबाट खुलासा भएको हो।
२०७६/७७ देखि २०८१/८२ सालको फागुन मसान्तसम्मको अवधिमा कम्पनीले आफ्नो वास्तविक बिक्री आय लुकाएर कर कम देखाएको पाइएको छ। विभागले जारी गरेको विज्ञप्तिअनुसार कम्पनीले मूल्य अभिवृद्धि कर (भ्याट) र आयकर गरी करिब ७८ करोड रुपैयाँ बराबरको कारोबार गोप्य रूपमा सञ्चालन गरेको हो।
अनुसन्धानपछि विभागले कूल ६८ करोड ४४ लाख रुपैयाँको कर छली भएको देखाउँदै सोही रकम बराबरको जरिवाना समेत जोडेर १ अर्ब ३६ करोड ८८ लाख रुपैयाँ असुलउपर गर्न माग दाबी गरेको हो।
मुद्दामा ‘नेपाल क्यान मुभ’ कम्पनीसँगै यसका सञ्चालकहरू सुदिप आचार्य, जीवन ज्ञवाली, गङ्गा बहादुर थापा, मनिष प्रसाद आचार्य, मिठु पौडेल र उपकार्यकारी निर्देशक संगम पौडेल प्रतिवादी बनाइएको छ। सुदिप आचार्य र जीवन ज्ञवालीलाई विभागले पटक–पटक बोलाउँदा समेत नआएको भन्दै फरारको सूचीमा राखेको छ।
संगम पौडेललाई भने मुख्य कसुरदारलाई सहयोग पुर्याएको आरोपमा मतियारका रूपमा आधा सजायको माग गरिएको छ।
Skip to PDF content


कागजपत्र |
