

एमालेका एक्ला मसिहा ओली बा !

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को दशौं महाधिवेशन चितवनको सौराहामा सम्पन्न भएको छ । महाधिवेशनले पार्टीमा अध्यक्ष केपी शर्मा ओलीले पुनः नेतृत्व सम्हाल्ने निर्णय गर्यो । निर्वाचनको कार्यतालिकापूर्व नै ओलीले प्रस्ताव गरेका व्यक्तिहरु नै पदाधिकारी र केन्द्रीय सदस्य बने । निर्वाचन र मतदान बन्यो तिनीहरुलाई आधिकारिकता प्रदान गर्ने माध्यममात्र ।
महाधिवेशनको निर्वाचनपछि ओलीले जे भनेका थिए, त्यही पुग्यो । एक हिसाबले उनी ज्योतिष हुन् वा पार्टीभित्रका एक्ला मसिहा, जसले आफूअनुकूल र स्वःनिर्णयबाट नै पार्टीलाई अगाडि बढाउन चाहन्थे अनि सक्थे र भए सफल पनि ।
बेलाबखत आफूलाई ‘क्रस’ गर्न सक्ने नेताहरुलाई पार्टीबाट बाहिर पठाउन सक्नु ओलीको खुबी थियो । त्यसैले महाधिवेशनबाट पुनः नेतृत्वमा जानका लागि उनले खासै मिहिनेत गर्नुपरेन ।
रावल र भुसालहरुले महाधिवेशनको मतपरिणामपछि पनि ओलीको प्रस्तावविपरित गएर सामान्य कार्यकर्ताकै रुपमा बाँकी चार वर्ष बिताउने सोच राखे भने स्पष्ट छ, उनीहरु त्यसपछि पनि साधारण कार्यकर्तामै सिमित हुन्छन् ।
आफू अनुकूलको प्रस्तावित नामले नै प्रतिनिधिहरुको मतबाट अनुमोदन हुँदा ओलीलाई आगामी दिनमा पार्टीभित्रको राजनीतिमा कसैले पनि प्रश्न उठाउन नसक्ने कुरा स्पष्ट छ । ओलीको विरुद्ध उम्मेदवारी दिएका भिम रावललाई कारबाही गर्नुपर्ने अभिव्यक्ति त्यसको ज्वलन्त उदाहरण हो । ओलीको यस जितसँगै एमालेभित्र ओलीवाद हाबी हुनेमा शंका गर्ने ठाउँ छैन ।
भीम रावलले आफू पराजित भईसकेपछि पार्टीमा सामान्य कार्यकर्ताको रुपमा रहन्छु भन्दा ओलीले केन्द्रीय सदस्यमा रावलले नलिएको सपथविरुद्ध अनुशासनको कारबाही गर्छु भन्नु ओलीको हैकमबाद शिवाय केही होइन । पार्टी अध्यक्षमा असफल भएको व्यक्ति केन्द्रीय सदस्यमा रहनैपर्छ भन्ने छैन ।
आगामी चार वर्षसम्मका लागि पुनः पार्टी सञ्चालनको साँचो पाएका ओलीले आफ्नो निर्णय र आफूविरुद्ध मैदानमा उत्रिएका सहकर्मीहरुलाई कारबाही गर्ने कि उनीहरुलाई मनाएर यथोचित स्थान दिने भन्ने कुराको छिनोफानो गर्नुपर्ने देखिन्छ ।
हुनतः अहिलेको परिवेशमा एमाले पार्टीभित्र ओलीलाई टक्कर दिने नेता कोही नै देखिएनन्, जुन दशौं महाधिवेशनको मतपरिणामले स्पष्ट पार्यो । नेकपाका तत्कालिन नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम जस्ता नेतृत्वमा आउनसक्ने र आफूलाई टक्कर दिन सक्ने नेताहरु आँफैं साइड लागेपछि ओलीलाई ‘बाटाको काँडा पन्छाइदिएको’ जस्तो भयो ।
एमालेका तल्लो तहका प्रतिनिधिहरु शायद अहिले पनि रामबहादुर थापा, टोपबहादुर रायमाझी र लेखराज भट्टलाई त्यति स्वीकार्दैनन् होला, जति घनश्याम भुसाल, भीम आचार्य र टंक कार्कीहरुलाई स्वीकार्छन् ।
ओली पार्टीमा कतिसम्म शक्तिशाली रहेछन् भन्नेको अर्को उदाहरण हुन्– महेश बस्नेतको सचिवका लागि उम्मेदवारी घोषणा अनि केन्द्रीय सदस्यको स्वीकारोक्ति । नेकपा समर्थित युवाहरुका केन्द्रबिन्दु रहेका महेश बस्नेतले महाधिवेशन अगाडि नै नेकपा एमालेको सचिव पदका लागि उम्मेदवारी घोषणा गरेका थिए । यदि उनले उम्मेदवारी दिएको भए देशभरबाट सायद सर्वाधिक मत ल्याएर सचिवमा जित्थे होला, तर भएन त्यस्तो, ओलीको सचिवलिस्टमा नअटेपछि उनी सीमित भए केन्द्रीय सदस्यमै । उनीसँगै थिए अर्का चर्चित पात्र गोकुल बास्कोटा, जसले आफू पनि सचिवमा उठ्ने घोषणा गरेका थिए । तर, जब ओलीले उनीहरुलाई सचिव नभई केन्द्रीय सदस्यमा प्रस्तावित गरे उनीहरु ‘आज्ञापालक’ बने । ओलीको बोलीसँगै उनीहरुको सचिव पदको उम्मेदवारी पनि रोकियो । ओलीका विश्वासपात्र एवं नजिकका व्यक्तिहरु ओलीविरुद्ध लाग्न अवश्य पनि सक्दैनथे, हुँदैनथ्यो र पनि बसे केन्द्रीय सदस्यमै ।
पार्टीमा ओलीशक्ति कति हाबी भन्ने अर्को तथ्य हो, माओवादीबाट एमाले छिरेका तीन नेताको जितबाट । एमालेका तल्लो तहका प्रतिनिधिहरु शायद अहिले पनि रामबहादुर थापा, टोपबहादुर रायमाझी र लेखराज भट्टलाई त्यति स्वीकार्दैनन् होला, जति घनश्याम भुसाल, भीम आचार्य र टंक कार्कीहरुलाई स्वीकार्छन्, तर निर्वाचन हो, मतदान हो, त्यसमा देखियो, ओलीवाद एवं ओलीभक्तिपन । जसले उनीहरु पनि एमालेमै अट्ने परिस्थिति बन्यो ।
एमाले महाधिवेशनको समापनसँगै अबको एमाले एक ढिक्का हुने भन्नेमा कुनै शंका नै रहेन, जसरी जुन रुपमा केपी ओलीले पार्टी सञ्चालन गर्छन् त्यसरी नै पार्टी अगाडि बढ्छ । ओलीद्वारा प्रस्तावित १९ पदाधिकारी र ३०१ केन्द्रीय सदस्यहरु रहेको पार्टीमा उनीविरुद्ध आवाज उठ्ने प्रश्नै उठ्दैन । र, अब मतदानबाट जित हासिल गरिसकेपछि उनीहरु विरुद्ध लाग्नु पनि हुँदैन । जनताको मतको सम्मान गर्नु नै उनको अभिव्यक्ति र प्रस्तावविपरित नै गएर भएपनि उम्मेदवारी दिएका नेताहरुको कर्तव्य हुन आउँछ ।
आगामी दिनमा भिम रावल, घनश्याम भुसालहरुले पार्टी अध्यक्ष ओलीले चाहेको अवस्थामा पार्टीका लागि जिम्मेवार पदमा बसेर काम गर्नुपर्छ । यदि उनीहरु सामान्य कार्यकर्ता मात्रै रहेर बस्छु भन्ने घमण्ड गरे भने अर्को पटकको नेतृत्वमा पनि ओलीकै प्रस्तावले स्थान पाउनेमा कुनै द्विविधा छैन । रावल र भुसालहरुले महाधिवेशनको मतपरिणामपछि पनि ओलीको प्रस्तावविपरित गएर सामान्य कार्यकर्ताकै रुपमा बाँकी चार वर्ष बिताउने सोच राखे भने स्पष्ट छ, उनीहरु त्यसपछि पनि साधारण कार्यकर्तामै सिमित हुन्छन् । पार्टी नेतृत्वको सपना देख्नेहरुले नेतृत्वसँग टाढा रहेर नेतृत्वमा पुग्न सकिँदैन भन्ने कुरा बुझ्नु आवश्यक हुन्छ ।

