अब साउदी अरेबियाको रियादमा नेपाल एयरलाइन्सले सीधा उडान, भाडा कति ?


काठमाडाैं – राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले वैशाख ९ गतेदेखि साउदी अरेबियाको रियादमा सीधा उडान गर्ने भएको छ ।

वाइड बडी ए ३३० जहाजले रियादमा उद्घाटन उडान भर्ने निगमले जनाएको छ । कार्यकारी अध्यक्ष युवराज अधिकारीले रियादमा सीधा उडान शुरू गर्न लागिएको जानकारी दिए ।

‘वैशाख ९ गतेदेखि निगमले रियाद गन्तव्यमा उडान सेवा सञ्चालन गर्दैछ यो निगमका लागि निकै गौरबको विषय हो, लामो प्रयासपछि निगमले साउदी अरेवियाका विभिन्न गन्तव्यमा पनि उडान अनुमति पाएको छ, शुरुमा रियाद र क्रमशः अन्य गन्तव्यमा पनि उडान विस्तार गर्ने योजना छ,’ कार्यकारी अध्यक्ष अधिकारीले भने ।

निगमले हालै रियाद, दमाम र जेद्दामा उडानको अनुमति पाएको थियो । रियादस्थित नागरिक उड्डयन कार्यालयको जेनरल अथोरीटी अफ सिभिल एभिएसन्स्ले त्यहाँका तीनवटा सहर जेद्दा, दमाम र रियादमा दुईतर्फी उडानको अनुमति दिएको थियो ।

निगमले पहिलो चरणमा वैशाख ९ गतेदेखि काठमाडौं–रियाद–काठमाडौं सातामा दुई उडान गर्नेछ । सातामा तीन दिन उडान गर्ने योजना रहे पनि हाललाई सातामा दुई र छिट्टै सातामा नियमित तीन उडान गरिने भएको छ ।

एकतर्फी ३७ हजार भाडा

काठमाडौं-रियाद गन्तव्यका लागि एकतर्फी भाडादर ३७ हजार रूपैयाँ कायम गरिएको जनाइएको छ । निगमका प्रवक्ता अर्चना खड्काले हाललाई एकतर्फी भाडादर कायम गरिएको बताइन् ।

निगमले साउदी अरेबिया उडानका लागि वाइडबडी र न्यारोबडी दुवै जहाजले उडान गर्नेगरी ‘स्लट’ पाएको छ । उद्घाटन उडान वाइडबडीबाट गरिने र पछि नियमित उडान पनि वाइडबडी जहाजमार्फत हुने उनले जानकारी दिइन् ।

यो गन्तव्यको उडानमा निगमले सहुलियतपूर्ण भाडादर, यात्रुलाई सुविधा ‘इनफ्लाइट’ खाना तथा रियादबाट फर्कंदा यात्रुले ४० केजी लगेज सुविधा पाउनेछन् ।

काठमाडौं–रियाद एकतर्फी उडान अवधि ६ घण्टा १५ मिनेट र रियाद–काठमाडौं उडान अवधि ४ घण्टा ५० मिनेटको हुने निगमले जनाएको छ । नेपाली कामदारको बाहुल्य रहेको मुलुक साउदी अरबको उडानले निगमलाई आर्थिक रुपमा लाभ हुन सक्ने अनुमान गरिएको छ । विभिन्न पेसा व्यवसायमा पनि साउदीका विभिन्न गन्तव्यमा नेपाली छन् । अन्य मुलुकबाट ट्रान्जिट भएर आउन पनि यात्रुलाई सहज हुने भएकाले यो गन्तव्य उपयोगी हुने विश्वास गरिएको छ ।

आठ देशका १० गन्तव्यमा उडान विस्तार

नेपाली ध्वजावाहक वायुसेवा निगमको रियादको उडानसँगै अब आठ देशका १० गन्तव्यमा नियमित उडान हुने भएको छ। निगमले यसअघि भारतका तीनसहित सात देशका ९ गन्तव्यमा उडान भर्दै आएको थियो । निगमले भारतको नयाँदिल्ली, मुम्बई, बैंग्लोर, दुबई, दोहा, क्लालालम्पुर, हङ्कङ, बैङ्कक र जापानको नारितामा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ ।

यसअघि साउदीमा हिमालय एयरलाइन्सले दमाम र रियादमा नियमित उडान गर्दै आइरहेको छ । साउदी अरबले यसअघि निगमलाई सन् २००२ र सन् २०२० मा पनि उडान अनुमति दिएको थियो । तर, जहाज अभाव र कमजोर व्यवस्थापनका कारण निगम साउदी जान सकिरहेको थिएन ।

निगम लामो समयको प्रयासपछि रियादमा उडान भर्न सफल भएको र यो अवसर पाउँदा निगम निकै गौरवान्वित भएको जनाइएको छ । देशको शान र पहिचान जोडिएको निगमको अन्तर्राष्ट्रिय गन्तव्यको उडानले कूटनीतिक सम्बन्ध विस्तार र बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउन राष्ट्रिय ध्वजावाहकको ऐतिहासिक भूमिका रहँदै आएको छ र अगामी दिनमा पनि यो कायमै रहने निगमको विश्वास छ ।

कार्यकारी अध्यक्ष अधिकारीले निगमको व्यवस्थापन सुधारदेखि सेवा सुदृढीकरण र बजार विस्तारमा निगम व्यवस्थापन अहोरात्र लागिपरेको बताए । व्यवस्थापनको मेहनत, कर्मचारीको साथ र सहयोगले नै छोटो समयमा निगमभित्र धेरै सकारात्मक परिवर्तन गरिएको र यसलाई परिणाममुखी बनाउन निगम अग्रसर रहेको उनको भनाइ जियो ।

अन्य काममा पनि निगमभित्रका कर्मचारीहरुको सहयोग र तालुकदार मन्त्रालय र नियामक निकायसँगको समन्वयमा केही नतिजामुखी काम भएको पनि अध्यक्ष अधिकारीको जिकिर थियो ।

प्रतिक्रिया