भरतपुर कांग्रेस कार्यकर्ताद्वारा सामूहिक राजीनामा


काठमाडौं – चितवनमा कांग्रेसका दर्जनौं कार्यकर्ताले पार्टी सदस्यबाट राजीनामाको घोषणा गरेका छन्।

भरतपुर महानगरपालिकाको मेयर पद अर्को पार्टीलाई दिन लागिएको विरोधमा शनिबार दर्जनौं कांग्रेस कार्यकर्ताले पार्टी सदस्यबाट राजीनामाको घोषणा गरेका हुन्।

शनिबार भरतपुर-१७ बेलुवा टोलमा गरिएको कार्यक्रममा ५० जनाले स्वतन्त्र अभियानका लागि भन्दै सामूहिक राजीनामाको घोषणा गरेका हुन्। राजीनामा घोषणा गर्नेमा पूर्व वडाध्यक्ष, पार्टीका पूर्व वडा सभापतिहरू पनि छन्।

उनीहरूले पार्टीको नेतृत्व सत्तालिप्त भएको आरोप लगाउँदै स्वतन्त्र अभियान चलाउने घोषणा गरेका थिए। गत बुधबारमात्रै महानगरका वडा सभापतिहरुले भरतपुर महानगरको मेयर पार्टीले नपाए २९ वटै वडामा वडाध्यक्ष र सदस्यका स्वतन्त्र उम्मेदवार खडा गर्ने घोषणा गरेका थिए। उनीहरूले उक्त निर्णय पार्टी सभापति राजेश्वर खनाललाई बुझाएका थिए।

सत्तारूढ गठबन्धनभित्र भरतपुर महानगरको मेयर नेकपा माओवादी केन्द्रलाई दिने तयारी भएपछि चितवनका कांग्रेस कार्यकर्ता असन्तुष्ट बनेका छन्। जिल्ला नेताहरूले शीर्ष नेतालाई भेटेर भरतपुरको मेयर पद नछाड्न दबाब दिँदै आएका छन्।

प्रतिक्रिया