‘प्रवेश निषेध ढोकामा लेखिन्छ, मैदानमा होइन’
हरेक मान्छे कुनै न कुनै रुचीसाथ हुर्किरहेको हुन्छ । जिवनमा केही न केही बन्ने सपना सबैको हुन्छ तर अक्सर समय अन्तरालमा धेरै मान्छेको सपनाहरु परिमार्जित हुन्छन् । समयले, उमेरले, संगतले वा परिस्थितिले मान्छेको सपना पनि परिमार्जित हुन्छन् वा बद्लिन्छन् । त्यसैले सानोमा हामीले भन्ने गरेको ठूलो भएपछि यो बन्छु भन्ने प्रण ठूलो भएपछि फरक पर्न सक्छ !
भारतीय सिनेमामा एक सफल निर्देशकको परिचय बनाएका राजकुमार गुप्ताको सपना पनि यसरी नै परिवर्तन भयो । ८ सेप्टेम्बर १९७७ मा भारतको झारखण्डमा जन्मिएका राजकुमार बच्चा हुँदा आफ्नो बाबू जस्तै एक सफल बैंकरको जागिरे हुन् चाहान्थे तर त्यसो हुन सकेन । र त्यसो नभएर कसैको पनि केही क्षति भएन तर राजकुमार गुप्ता निर्देशक नबनेको भए केही कालजयी हिन्दी सिनेमा चाहिँ बकेट लिस्टमा नआउने रहेछन् ।
हरेक इन्डस्ट्रीका सकारात्मक र नकारात्मक पाटा हुन्छन् नै र तिनका केही नियम पनि बनाइन्छ । भारतीय सिनेमामा पनि इन्साइडर र आउटसाइडर नामको भेदभावपूर्ण मानसिकता छ । तर यदि तिमीसँग क्षमता र विश्वास छ भने त्यो ढोका फोडेर तिमी प्रवेश गर्न सक्छौ, किनकी प्रवेश निषेध केवल ढोकामा लेखिएको हो भित्र मैदान तिम्रा लागि पनि खाली नै छ ।
पहिलो केवल शब्द मात्र होईन यसले धेरै खाले सोच र परिस्थितिलाई इन्डिकेट गरेको हुन्छ । जस्तो पहिलो पद, पहिलो माया, पहिलो नोकरी आदि इत्यादि पहिलोसँग मान्छेको स्मरण खुबै जोडिएको हुन्छ तर पहिलो सबैलाई सजिलै कहाँ मिल्छ र !
बलिउड फिल्म इन्ड्स्ट्रीमा पनि पहिलो ब्रेकको बहुत ठूलो अर्थ रहन्छ र हुटहुटी ज्यादा भयो भने मान्छेले विकल्प नै निर्माण गर्न पनि सक्छ। राजकुमार गुप्तालाई पनि जब पहिलो सिनेमा बनाउने तिव्र इच्छा जाग्यो तब उनी कुनै न कुनै जुगाडको खोजमा लागे। आफ्नो पहिलो फिल्मको स्कृप्ट यिनले कसलाई सुनाएन होला । कपडा पसले, मिठाइ पसले सबैले यिनको कथा सुने, नराम्रो कसैले भनेन, राम्रो भनेर लगानी गर्छु भन्ने पनि कोहि निस्केनन् । तर प्रसव पीडामा पनि देखेको सपना पूरा गर्ने उनको प्रतिबद्धतामा एक इन्च कमि आएन ।
आफ्नो संघर्षको बारेमा उनले एकपटक भनेका छन् सिनेमा क्षेत्रमा आउदै गर्दा यो ठाउँमा मेरो गडफादर कोही थिएन । म सँग गुमाउनलाई केही थिएन त्यसैले मसँग कुनै डर पनि थिएन । म सँग केवल आत्मविश्वास थियो जुन कसैले लग्न सक्दैनथ्यो। राजकुमार गुप्ताको पहिलो फिल्म आमिर थियो जसका लागि निर्माता खोज्नै दुई बर्ष लागेको थियो । सिनेमा बुझेका बिकास बहल जो आजको चर्चित निर्देशक बने र जसले ‘क्विन’ र ‘सुपर-३०’ जस्ता सिनेमा बनाएका छन् । उनी नै पहिलो मान्छे थिए जसले उनको स्क्रिप्टलाई सिरियसली लिए । र उनलाई मद्दत गर्न अघि आए ।
तर पहिलो सिनेमाका लागि एकदमै न्यून लगानी फेला पारेका राजकुमारले सिनेमालाई बजेट भित्रै सक्न आफ्नो फिल्ममा आफुजस्तै सिनेमाको हुटहुटी भएका धेरैलाई मौका दिए । नयाँ संगीतकार, नयाँ छायाँकार र नयाँ कलाकार लिएर रियल लोकेशनमै पुगेर राजकुमार गुप्ताले फिल्म ‘आमिर’ बनाए । २२ दिनमा नै छायांकन सकिएको यो फिल्म बनाउन राजकुमारलाई निकै सकस परेको थियो । खर्च घटाउन उनले फिल्मलाई दिउँसोमा मात्र शुटिङ गरेका थिए ।
दुखमसुखम फिल्म त बन्यो तर अब फिल्मको प्रचारप्रसार गर्न कुनै बजेट थिएन, अब बस काममाथी नै बिश्वास गर्नु शिवाय केही थिएन । तर भनिन्छ, राम्रो चिजको प्रचार ढिलो चाँडो भै छाड्छ । नभन्दै आमिरका हकमा यो सत्यसाबित नै भयो माउथ टु माउथ पब्लिसिटीबाटै सिनेमा चल्यो र हिट बन्यो । आमिर सिनेमा राजकुमार गुप्ताले तयार गरेको छैटौं कथा थियो ।
निर्देशकमा लेखकीय क्षमता हुनैपर्छ भन्ने मान्यता राख्ने यी निर्देशकले यसपछी बलिउडमै कालजयी बनेको फिल्म बनाए र फिल्मको नाम हो– ‘नो वान किल्ड जेसिका’ । भारतको दिल्लीमा घटेको चर्चित जेसिका लाल हत्या घटनालाई फिल्ममा उतारेका गुप्ताले यो फिल्मबाट नाम र दाम दुवै कमाए र मज्जाले कमाए । नारी सशक्तीकरण र अन्य सामाजिक कोणलाई अब्बल रूपमा उठाएको यो सिनेमाले राजकुमार गुप्तालाई बलिउडमा एक फरक परिचय दियो ।
आज पनि महिलामाथि हुने अन्याय र शोषणको विरुद्ध र न्यायको आवहानमा यस्तै नारा उठ्छन् । नेपालमा पनि निर्मला पन्तलाई न्याय माग्ने अभियानमा नो वन किल्ड निर्माला भन्ने नारा बनेको थियो । नो वन किल्ड जेसिकापछि राजकुमार गुप्ताले ‘घनचक्कर’ बनाए तर त्यो फिल्म सोचे जस्तो बनेन । फिल्मले बक्स अफिसमा त कुनै जादु गरेन नै समिक्षकबाट पनि राम्रो प्रतिक्रिया बटुलेन । घनचक्करपछि राजकुमार गुप्ता केही समय सिनेमा दुनियाँबाट गुप्त भए ।
यही बिचमा उनले विवाह पनि गरे । केही समय पछि उनी फेरी बलिउडमा फर्के र अजय देवगनसँग फिल्म ‘रेड’ बनाए । सत्य घटनामा आधारित यो सिनेमाले व्यावसायिक र समिक्षागत दुवैतिर बाट सकारात्मक तारिफ बटुलेको थियो । ‘रेड’ पछि राजकुमार गुप्ताले आफ्नो महत्त्वपूर्ण फिल्मको रुपमा इन्डियास मोस्ट वान्टेड नामक फिल्म बनाए तर यो फिल्म चलेन । नेपालमा पनि छाँयाकन भएको यो फिल्मले निर्देशकलाई निराशा सिवाय केही दिएन ।
स्टार भन्दा स्क्रिप्टलाई ज्यादा महत्व दिने यी निर्देशकको भनाइ छ, दुनियाँमा यस्तो कुनै एक्टर हुँदैन जसले बक्स अफिस सफलताको शतप्रतिशत ग्यारेन्टी दिन सकोस् त्यसैले एक्टरभन्दा स्क्रिप्ट दमदार हुनैपर्छ । मलाई सोध्नुहुन्छ भने म त सिधै भन्छु मलाई स्क्रिप्ट नै विश्वासिलो लाग्छ । निर्देशक राजकुमार गुप्ता रियल लोकेशनमा फिल्म सुट गर्न मन पराउँछन् ।
सन् २००९ मा यिनले फिल्म ‘बार आना’ बनाएका थिए । यिनको कम्पनी रापचिक फिल्म्सले ‘आब्बा’ नामक शर्ट फिल्म पनि बनाएको छ जुन फिल्मले बर्लिन फिल्म फेस्टिभलमा प्रेस्टिजियस इन्टरनेशनल अवार्ड जितेको थियो । एक अन्तर्वार्ताका दौरान यिनले काल्पनिक फिल्म आफुले नबुझ्ने बताएका थिए। कुनै समय अनुराग कश्यपसँग ‘ब्ल्याक फ्राइडे’ र ‘नो स्मोकिङ’मा काम सिकेका राजकुमार गुप्ताले आज बलिउडमा आफ्नै सानो स्पेस बनाउन सफल भएका छन् । राजकुमारको बुझाई छ सपना देख तिनलाई परिमार्जित पनि गर र बाटोमै नहराए पुग्छ, गन्तव्य बदिलए पनि खराब ठाउँमा अवश्य पुगिन्न ।