हरर सिनेमा र बेभ सिरिजका कप्तान


भारतीय सिनेमा उद्योगमा हरर र बेभसिरिज भन्दा बित्तिकै त्यससँग जोडिएर आउने नाम हो विक्रम भट्ट । बलिउडका पुराना निर्देशक विजय भट्टका नाति र चर्चित सिने छायांकार, लेखक, निर्देशक प्रवीण भट्टका छोरा विक्रम भट्टको अहिले आफ्नै ब्राण्ड र नाम छ । यहाँहरुलाई जानकारी होला नै महात्मा गान्धीले आफ्नो जिवनकालमा एकमात्र फिल्म हेरेका थिए र फिल्मको नाम थियो रामराज्य । त्यो फिल्मको निर्देशन यिनै बिक्रम भट्टका हजुरबाले गरेका थिए । बिक्रमका पिता प्रवीण भट्ट त बलिउडका स्तरीय छायाँकार नै भए । उनले छायांकन गरेका केही प्रसिद्ध चलचित्रमा मासुम, आशिकि, उमराब जान, अग्नीपथ आदि हुन् । फिल्मी परिवारबाट आए पनि बिक्रम भट्टले आफनो बाटो र यात्रा आँफै तय गरेका हुन् ।

१४ बर्षको उमेरमा निर्देशक मुकुल आनन्दको चलचित्र ‘कानुन क्या करेगा’बाट यिनले आफ्नो फिल्म क्यारियर शुरु गरेका थिए । क्ल्याप ब्याईबाट क्यारियर शुरु गरेर पछि यिनले मुकुलको मुख्य सहायक निर्देशकसम्म भएर काम गरे । त्यसपछि यिनले फेरि करिब साढे २ बर्ष निर्देशक शेखर कपुरसंग काम गरे र महेश भट्ट संग करिब दुई बर्ष फेरि निर्देशक सहायक भएर काम सिके ।

निर्देशकका रुपमा यिनको पहिलो फिल्म जानम हो । यससँगै यिनले निर्देशन गरेका अरु तीन चलचित्र पनि फ्लप भएका थिए । काममा निरन्तर क्रियाशील भैरहने स्वभावका कारण असफल हुँदा पनि यिनी विचलित भएनन् । सफल निर्देशकका रुपमा यिनलाई पहिलो परिचय दिने चलचित्र फरेब हो । यसपछि यिनले लगालग गुलाम, कसुर, राज, आवारा पागल दिवाना आदि सफल चलचित्र निर्देशन गरे ।

शुरुमा रोमान्चित फिल्म र त्यसपछि कमेडी सिनेमा पनि बनाएका बिक्रम भट्ट, सन् २००८ देखि भने हरर फिल्मतिर लागे । यो क्षेत्रमा उनले शुरुमै ह्याट्रिक सफलता पाए १९२०, श्रापित, र हाउन्टेड नामका यिनका तीनै फिल्म हिट भए । थ्री डि फम्र्याटमा बनाएको फिल्म हाउन्टेडले त सन् २०११ अघिसम्म बलिउडमा बनेका सबै हरर फिल्मले भन्दा ज्यादा कमाई ग¥यो । टि सिरिज नामक कम्पनीसँग यिनले साइन्स फिक्सन र हरर फिल्मका लागि एकमुष्ट ५ सिनेमा साइन गरेका थिए । २०१४ मा स्टारप्लसबाट प्रसारण भएको इश्क किल नामक टिभी शोको निर्देशन पनि बिक्रम भट्टले गरे ।

Vikram Bhatt: Latest News, Videos, Quotes, Gallery, Photos, Images, Topics  on Vikram Bhatt

भट्टैकै फिल्म १९८२ इभिल रिर्टन्समा आधारित रहेर सामाजिक संजाल प्रोमोशनबाट गरिएको प्रचारले फिल्म रिलिजमा कस्तो प्रभाव पर्छ भनी एक अध्ययन भएको थियो । बेङ्लोरको ईन्स्टिच्युट अफ म्यानेजमेन्टले गरेको यो खोजको निष्कर्ष विश्वप्रसिद्ध हार्वड बिजनेसमा प्रकाशित छ । र आज पनि यसलाई केस स्टडीका रुपमा अमेरिका,क्यानडा,नर्वे, श्रीलंका जस्ता देशका फिल्म कलेजमा पढाइन्छ । हररमा आफ्नै ब्रान्ड बनाएका बिक्रमलाई सोधिने सबैभन्दा झुर प्रश्न, ‘हरर नै किन हो?’ यसको जवाफ प्रतिप्रश्नका रुपमा उनी यसरी दिन्छन् ‘के तपाईंले कहिलै कमेडी नै किन भनेर डेविड धवनलाई वा लभस्टोरी मात्रै किन भनेर यश चोपडालाई सोध्नु भो ?’

महेश भट्टसँग कुनै समय निर्देशन सिकेका यिनको बीचमा महेशसँग सम्बन्ध बिग्रेको थियोे । समय दौरानमा बीचतिर यिनका कुनै फिल्महरु चलेनन् । त्यस्तैमा एकदिन उनी महेश भट्टको अफिस गए । भट्टले उनलाई सम्मानपुर्वक सोफामा राखेर अंगालो मारे । आफुलाई वास्ता गर्दैनन् भन्ने सोचेर सम्बन्ध तोडेका बिक्रमले महेशको यो प्रेमभाव देखेर केहीबेर भक्कानिएका थिए । पछि उनले फेरि महेश भट्टको बिशेष फिल्मसका लागि राज बनाए जुन हिट भयो । महेश भट्टलाई आफ्नो पितासमान मान्ने बिक्रम भट्ट र महेश भट्टका बिच रगतको नाता भने पर्दैन ।

Vikram Bhatt opens up on his extramarital affair with Sushmita Sen

बलिउडमा समयसँगै अपग्रेड हुन सक्ने निर्देशकको सुचि बन्दा अगाडी नै आउने नामहरु मध्ये एक नाम बिक्रम भट्ट हो । सिनेमा हलको विकल्प खोज्नु पर्छ र एकदिन सिनेमा हलको पनि समय सकिन्छ भनेर वेभसिरिज तिर लाग्ने मुलधारे अग्र निर्देशक यिनै बिक्रम भट्ट हुन् । हुन पनि अहिलेको कोभिड–१९ को विश्वब्यापी महामारीले यिनको सोचलाई सही साबित गरिसक्यो । साँच्चै ओटिटि प्लेटफर्म विकास नगरेको भए बलिउडको के हाल हुँदो हो ? यीे प्लेटफर्महरुले अहिले बलिउडकै नाभी समातेर बसेको छ ।

बिक्रम भट्टले हालसम्म दर्जनौं बेभ सिरिजको निर्माण गरिसकेका छन् । कुनै समय बलिउड अभिनेत्रीहरु सुस्मिता सेन र अमिषा पटेलसँग नाम जोडिएका यी निर्देशकको श्रीमतीको नाम अदिती भट्ट हो भने यिनकी एक छोरी छन् कृष्ण भट्ट । जो वेभ सिरिज निर्देशक पनि हुन् । हालसम्म करिब ३५ फिल्म निर्देशन गरिसकेका बिक्रम भट्टको आफ्नो फिल्म कम्पनीको नाम लोन रेन्जर प्रडक्सन कम्पनी हो । ‘अ ह्यान्डफुल अफ सनसाइन’उनको आत्माकथाको किताब हो ।

Vikram Bhatt's daughter Krishna turns director - entertainment

नायिका बिपासा बसु र नायक जोन अब्राहमलाई ब्रेक दिएका यी निर्देशक आफुलाई कसैको गडफादर मान्दैनन् । बलिउडको चकाचौधलाई चार दिनकी चाँदनी भन्ने यी निर्देशकले एकपटक भनेका छन्, ‘मलाई कुनै भ्रम छैन कि मेरा फिल्मले मलाई अजर अमर बनाउँछन् ।’ गान्धीले जिवनमा हेरेको र तारिफ गरेको एक मात्र फिल्मका निर्देशकको दुःखद उतर्राद्ध आफ्नै आँखा अघि देखेका यिनमा कुनै भ्रम बाकी छैन । जीवनको अन्तिम क्षणमा पुग्दासम्म उनका हजुरबा बलिउडका लागि अपरिचित भैसकेका थिए । उनी भन्छन् ‘सिनेमा रंगीन हुन्छ तर वास्तविक जीवन कालो रंगको छ ।’ अध्यात्मातिर ढलकिसकेका बिक्रम भट्ट अचेल दार्शनिक जस्ता सुनिन्छन् । हरर जानरामा रमाइरहेका बिक्रम भट्ट हरर विधालाई विशुद्ध निर्देशकको फिल्म मान्छन् जसमा कुनै स्टारभ्यालुले काम गर्दैन ।

प्रतिक्रिया