नेपालमा कृषि पर्यटनबारे बहस र संभावनाको खोजी
सामान्य तया, घरबाहिर २४ घण्टा भन्दा बढी वा एक बर्ष भन्दाकम समयका लागी गरिने यात्रा वा मनोरञ्जन नै पर्यटन हो । पर्यटनमा आर्थिक क्रियाकलाप भएको हुनुपर्छ । मानव सभ्यताको बिकाससँगै खाना, नाना, छाना,पानी सुरक्षा एवम् ब्यापारका निम्ति मानिस एक ठाउँबाट अर्को ठाउँमा यात्रा गर्न उत्प्रेरित थिए । पहिले मानिसहरु जनावर चढेर वा हिडेर आफ्नो यात्रा तथा आवश्यकता पूरा गर्दथे । अहिले प्रविधिमा आएको तिव्र बिकासले जल, वायु थल जस्ता द्रुत गतिका साधन प्रयोग गरि यात्रा गर्दछन् । यो पर्यटनको पछिल्लो बिकासक्रम पनि हो । अब त अन्तरिक्षमा पर्यटनको कुरा पनि छ ।
पर्यटन तथा पर्यटक शब्दको उत्पत्ति सन् १२९२ तिर भएको हो । बर्तमान समयमा यसको अर्थ व्यापक भएको छ । पर्यटन शब्द ल्याटिन भाषाको टोर्नोस बाट व्युत्पती भएको हो । यसको अर्थ बृत वा चक्र बुझाउने उपकरण भन्ने बुझिन्छ । जहाँ ब्यक्ति चक्रको एक उत्पत्ति स्थान बाट भ्रमण स्थान हँुदै पुनः उत्पत्ति स्थानमै आइ पुग्दछ । यहि अवधारणाबाट नै राउन्ड ट्रीप वा यात्रा व्यवस्थापन हुँदै पर्यटन शब्दको बिकास भएको हो ।
पर्यटनको पहिलो परिभाषा सन् १९१० मा अष्ट्रीयन अर्थशास्त्री हरम्यानवन स्कुलार्डले दिएका थिए । उनका अनुसार पर्यटन भन्नाले कुनै पनि निश्चित राष्ट्र, शहर वा क्षेत्रभित्र र बाहिर बिदेशीहरुको बसोबास, आवतजावत र आर्थिक प्रकृतिसँग प्रत्यक्ष सरोकारको सम्पुर्ण कार्यक्रम हो भनेर भनेका थिए । अहिले त पर्यटनको बिकास र बिस्तारमा निकै परिवर्तन आइसकेको छ । पर्यटनको विविधीकरणमा पनि अहिले निकै बिस्तार भएको छ ।
व्यवसायिक रुपमा पर्यटन क्षेत्रको विकास सन् १९५० भएको पाइन्छ । हुन त त्यसभन्दा अगाडि पर्यटन गतिविधि भइरहेकै थिए तर तीव्र र व्यवसायिक रुपमा सन् ५० को दशकका थालनीबाट भएको हो । आजको समयमा भन्नुपर्दा पर्यटन आर्थिक सुदृढिकरणका लागि सबैभन्दा सहज र सम्भावनायुक्त क्षेत्र भएको छ । पर्यटन क्षेत्र मात्र यस्तो क्षेत्र हो जसले प्रकृति र पर्यावरणमा ठूलो नोक्सानीबिना आर्थिक संचालन गतिविधि गर्दछ । नेपालका लागि पर्यटन क्षेत्र सधैं तुलनात्मक लाभको क्षेत्र रहेको छ र विविध नीति तथा कार्यक्रमको महत्वपूर्ण हिस्सा बन्दै आएको पनि छ तर अहिलेसम्म पनि हामीले पर्यटनलाई नयाँ–नयाँ अवधारणाहरुसँग जोड्न सकेका छैनौं ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुआयामिक तथा बहुसांस्कृतिक विशेषतायुक्त मुलुक हो । यहाँको प्राकृतिक छटा र सुन्दरताबारे विभिन्न समयमा अन्तर्राष्ट्रिय पत्रपत्रिका तथा व्यक्तिहरुबाट विशेष रुपमा नै पनि चर्चा गरिन्छ । नेपाल सम्पदाहरुले भरिपूर्ण देश पनि हो । नेपालको प्राकृतिक, साँस्कृतिक, पुरातात्विक सम्पदाहरुले विश्वमा नै विशिष्ट र मौलिक पहिचान बोकेका छन् । यहाँको मौलिक कला, संस्कृति, रहन सहन परम्परागत भेषभुषा भाषाआदि सबै हाम्रा सम्पदा हुन् । यसले हाम्रो पहिचानका साथै आर्थिक, सामाजिक, सांस्कृतिक र भौतिक विकासमा समेत सहयोग पु¥याउँदै आएको छ भने विश्वलाई परिचय दिनमा सहयोग गर्दै आएको छ ।
पर्यटनको क्षेत्रमा काम गर्ने विभिन्न विश्वविख्यात जर्नल तथा संस्थाहरुमा उत्कृष्ट गन्तव्यको सूचीमा नेपाल सधैं परिरहन्छ । सांस्कृतिक विविधता, भौगोलिक पर्यावरण र संस्कारी परम्पराका कारण पर्यटकहरुको रोजाइमा नेपाल सधैं रहेको छ । तर हामीले समयसँगै आपूmलाई अपडेट गर्न सकेका छैनौ जसका कारण पर्यटनका नयाँ–नयाँ आयामका कुनै काम र कार्यक्रम नै विकास गरिँदैनन् । नेपालका लागि अथाह संभावना भएको कृषि पर्यटनबारे पनि हामीले अहिलेसम्म खासै केही सोचे जस्तो देखिन्न ।
कृषि क्षेत्रसँग सम्बन्धित पर्यटनलाई कृषि पर्यटन भनिन्छ । यो यस्तो प्रकृतिको पर्यटन हो । जसमा पर्यटकहरु कृषि क्षेत्रमा गएर कृषिसँग सम्बन्धित क्रियाकलापबाट मनोरञ्जन अथवा ज्ञान हासिल गर्दछन् । विश्वका विशेष गरि रक्सी उत्पादन गरिने क्षेत्रहरू जस्तै इटाली र स्पेनमा यस्तो पर्यटन ज्यादा भएको पाइन्छ ।
अमेरिकामा पनि कृषि पर्यटनलाई विशेष महत्व दिइएको छ । जहाँ कृषि फार्महरु पर्यटकका लागि निश्चित समयमा खोलिन्छ । त्यस्ता फार्महरुमा पर्यटकहरु फलफुल र सागसब्जी टिपेर, घोडा चढेर, मह चाखेर फलफुल खाँदै र कृषि सम्बन्धी विभिन्नजानकारी बटुल्दै अनि कृषि उत्पादन र उपकरण खरिद गरि मनोरञ्जन लिने गर्दछन् ।
नेपाल एक कृषिप्रधान देश भएकाले यहाँ कृषि पर्यटनको सम्भावना व्यापक रहेको छ । आन्तरिक तथा बिदेशी पर्यटकहरुलाई कृषि पर्यटन मार्फत कृषि सम्बन्धि शिक्षा, अनुसन्धान र बिकासबारे ज्ञान र सेवा दिई आर्थिक लाभ उठाउन सकिन्छ । यसका साथै कृषि पर्यटनको अथाह बिस्तार हुन सके यसले गरिबी निवारण जस्ता राज्यका महत्वपूर्ण कार्यक्रममा पनि मद्दत गर्दछ ।
कृषि पर्यटन खास गरेर हाम्रो जस्तो देशमा ग्रामिण भेगमा गरिने हुँदा यसले त्यहाँका मानिसको आर्थिक क्रियाकलापमा मद्दत पनि हुन्छ । कृषिपर्यटनको विकासका लागि यसका केही पूर्वाधार बिकास र पर्यटकिय गन्तव्यस्थल पनि हुनुपर्छ ।
कृषि पर्यटकिय स्थलका रुपमा मुख्यतः
राष्ट्रिय कृषि अनुसन्धान परिषद र अनुसन्धान केन्द्रहरू
काठमाडौ उपत्यका स्थित खुमलटार र विभिन्न जिल्लाहरुमा अवस्थित राष्ट्रिय कृषि अनुसन्धान परिषदका केन्द्रहरु र र तिनका विभिन्न कार्यक्रमहरु कृषि पर्यटनका लागि उचित गन्तव्य स्थल हुन् जसमा केन्द्रित गरेर स्वदेशी र बिदेशी कृषि पर्यटकहरुलाई अनुसन्धानमा आधारित आधारित कृषि ज्ञानवर्धक पर्यटन प्याकेजका रुपमा बिकास र बिस्तार गर्न सकिन्छ ।
त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विश्वविद्यालय
त्रिभुवन विश्वविद्यालय र कृषि विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरु कृिष पर्यटन संचालन र दिगो विकासका लागि महत्त्वपूर्ण पर्यटकीय गन्तव्यस्थलहरु हुन् । त्यहाँ भएका पुस्तकालय, प्रयोगशाला, बागबानी फार्म, बाली बिज्ञान फार्म, पशु फार्म, माछा पोखरी तथा अनुसन्धान फार्म आदि कृषिपर्यटन गतिविधि संचालन हुने केन्द्रहरु हुन् । यी केन्द्र कृषि पर्यटनको ज्ञानकेन्द्रका रुपमा रहने गर्दछन् । अनुसन्धानमुलक पर्यटनमा रुचि भएका पर्यटकका लागि यी उपयोगी हुन्छन् ।
कृषिविभाग र कृषि ज्ञान केन्द्रहरू
राष्ट्रिय र विभिन्न प्रदेशस्तरका बालीबिकास कार्यक्रमहरु, कृषि ज्ञान केन्द्रहरु र त्यससँगै भएका बीउ उत्पादन केन्द्र, मौरी बिकास, फलफुल बगैंचा बिकास, ब्यवसायिक तरकारी उत्पादन, केरा खेती आदि कृिष पर्यटनको आकर्षण केन्द्रका रुपमा रहने गरेका हुन्छन् ।
पशु सेवा बिभाग र भेटेनरी अस्पताल अनि पशु सेवा केन्द्रहरु
पशु सेवा केन्द्रहरुले पनि आधारभुत पशु प्याकेज कार्यक्रमहरु मार्फत कृषि पर्यटन प्रबर्द्धनमा स्रोत र सम्पदाको रुपमा कार्य गर्न सक्छन् ।
प्राङ्गारिक खेती र हर्वल फार्म, कृषि बन सामुदायिक बन जडिबुटी बगैंचा फुल ब्यवसाय कृषि संग्रहालय आदि ।
कृषि पर्यटकहरुले कृषि सम्बन्धि ज्ञान आर्जन गर्न, कृषिका आकर्षणबट मनोरञ्जन गर्न कृषि पर्यटनमा भाग लिन्छन् । कृषि पर्यटन प्रबर्द्धनका लागि केहि नमूना कार्यक्रमहरुको बिकास गर्दै कृषि पर्यटनलाई निरन्तर विकास र विस्तार गर्न सकिन्छ ।
कृषि पर्यटन बिकासका लागि के गर्ने ?
पर्यटन उद्दमसँग सरोकार राख्ने विभिन्न संघ संस्था र ब्यक्तिहरुको सक्रिय सहभागितामा कृषि पर्यटनको दीर्घकालीन योजना तर्जुमा गर्नुपर्दछ ।
कृषि पर्यटनसम्बन्धि पाठ्य सामाग्री बनाई स्कुल कलेज र बिश्व बिद्यालयहरुमा पठन पाठन संचालन गरि योग्य र सक्षम जनशक्ति निर्माण गर्ने ।
कृषि पर्यटनको आधारभूत संरचना तयार गर्न र प्रचार–प्रसारका लागी नेपाल पर्यटन बोर्ड र जिल्ला पर्यटन विकास समिति तथा अन्य सरोकारवाला निकायहरुलाई संलग्न गराइ एउटा बृहत संजाल तयार गर्ने ।
कृषि पर्यटन संचालन र बिस्तार गर्न इच्छुक कृषक र अन्य उद्दमीहरुलाई पर्यटनबाट हुने सकारात्मक र नकारात्मक असर बारे चेतना दिने ,कृषि पथप्रदर्शक तयार गर्ने ,पर्यटन ब्यवसाय संचालन र ब्यबस्थापन गर्ने, बाताबरण संरक्षण र ब्यबस्थापनबारे तालिम दिने आदि जस्ता कामलाई निरन्तरता दिनु पर्दछ ।
खास गरि स्थानिय निकायहरु नगरपालिका र गाउँ पालिकाहरुले कृषिमा यो कार्यक्रमलाई महत्व दिनै पर्दछ । यसले एकातिर त्यहाँ रोजगार सिर्जना हुन्छ भने अर्कातिर स्थानिय उत्पादनले प्रचार प्रसार पनि पाउँछन् । कृषि पूर्वाधार र विकासका लागि पनि कृषि पर्यटन सहगोगी बन्न सक्छ ।
नेपालका लागि कृषि पर्यटनको अथाह संभावना छ । हामीले अहिलेसम्म पर्यटनको यो ग्रिन स्वरुपमा कुनै ठोस कार्यक्रम संचालन गर्न सकेका छैनौं । यसबारे सरोकारवालाहरुको ध्यानाकर्षण हुनु जरुरी भैसकेको छ ।