माओवादी राष्ट्रिय सम्मेलनः महासचिवका लागि लबिङ गर्दै देवेन्द्र पौडेल


काठमाडौं – नेकपा (माओवादी केन्द्र)को रााष्ट्रिय सम्मेलन नजिकिँदै गर्दा पार्टीका प्रभावशाली नेताहरुले अध्यक्ष बाहेकका पदमा आउनका लागि सक्रियता बढाएका छन्।

अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’को विकल्प नभएको बताइरहँदा त्यसपछिको शक्तिशाली पद महासचिवमा धेरै नेताहरुले आकांक्षा राखेका छन्।

यस्तैमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा स्थायी समिति सदस्य देवेन्द्र पौडेलले पनि महासचिव लागि लबिङ गरिरहेका छन्। अध्यक्ष निकट पनि भएकाले उनको सम्भावना पनि बलियो छ।

यद्यपि पार्टीभित्र रहेका अन्य नेताहरुले भने उनलाई स्वीकार्न गाह्रो मान्ने अवस्था छ। पौडेलनिकट स्रोतका अनुसार महासचिवका लागि उनले लबिङ गरिरहेको र त्यसबाट पछि हट्न परे उपाध्यक्षमा दाबी गर्नेछन्।

‘उनको पहिलो दाबी महासचिवमा रहन्छ,’ स्रोतले भन्यो, ‘महासचिव त्याग्नुपरेमा उपाध्यक्षको स्वतः हकदार हो।’
पञ्चायतकालमा तीन वर्ष र जनयुद्धका क्रममा १० वर्ष भूमिगत भएका पौडेलको राजनीतिसँगै साहित्यमा पनि रुचि छ।

अखिल क्रान्तिकारीबाट विद्यार्थी राजनीति सुरू गरेका पौडेल संगठनको कोषाध्यक्ष, महासचिव, उपाध्यक्ष हुँदै अध्यक्षसम्म बनेका थिए।

२०७१ मा माओवादीको केन्द्रीय सदस्य, २०७२ मा पोलिटव्यूरो सदस्य हुँदै पौडेल २०७५ मा नेपाल कम्युनिष्ट पार्टी नेकपा को स्थायी कमिटी सदस्य बनेका थिए।

माओवादी जनयुद्धमा सुरूवाती चरणदेखि सहभागी पौडेल २०४२ देखि ०४४ सम्म करिब १८ महिना धनगढी जेल बसेका थिए। त्यस्तै ६ महिना सदरखोरमा थुनामा पनि परे।

राजनीति शास्त्रमा स्नाकोत्तर गरेका पौडेल २०६८ मा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उनको राजनीतिक सल्लाहकार भएर काम गरेका थिए। भट्टराईले तत्कालीन एकीकृत माओवादीबाट विद्रोह गरि नयाँ शक्ति बनाउँदा उनीसँगै गएका पौडेल पछि माओवादीमै फर्किएर अध्यक्षनिकट भएर काम गरिरहेका छन्।

पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा हुने माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमार्फत कार्यकारी अधिकार अध्यक्ष र महासचिवलाई हुने भएकाले नेताहरूको आकर्षण महासचिव पद परेको हो। पार्टीका अन्य नेताले पनि यो पदमा आफ्नो दाबी रहने घोषणा गरिसकेका छन्।

गत साउनमा सम्पन्न माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले पार्टीको पदाधिकारीमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिवको व्यवस्था गरेको छ। तर, विधानतः कार्यकारी अधिकार भने अध्यक्ष र महासचिवलाई मात्र दिइएको छ।

प्रतिक्रिया