मुलुकका ११ विश्वविद्यालय सुधार्न अति नै जरुरी छ : शिक्षामन्त्री पौडेल


काठमाडाैं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मुलुकका ११ विश्वविद्यालय सुधार्न अति नै जरुरी रहेको बताएका छन् ।

गोदावरी नगरपालिका–११ मा अवस्थित जनभावना क्याम्पसको ३१औं वार्षिकोत्सव तथा डिजिटल जूम स्टुडियो फर इन्टरनेसनल कन्फरेन्स एवं जेबीसी खबर डट्कमको उद्घाटन गर्दै सोमवार उनले त्रिभुवन विश्वविद्यालय अन्तर्गत क्याम्पसलाई समयमै सुधार नगरे गुणस्तरीय शिक्षा प्रदान गर्न कठिन हुने गुनासो गरे ।

उनले भने, ‘यहाँका विश्वविद्यालय सुधार गर्न सरकार मात्रै नभएर सामूहिकरूपमा अघि बढ्नुपर्ने देखिन्छ । शिक्षालाई परम्परागतरूपमा मात्रै नभएर प्रविधिमार्फत पनि अघि बढाउनुपर्ने भएको छ ।’ शिक्षा सुधारका लागि आफूहरूले ४ ऐन बनाएर विभिन्न निकायमा छलफलका लागि पठाएको उनको भनाइ छ ।

मुलुकमा अघि बढिरहेको माध्यमिक शिक्षा सुधारका लागि समेत मन्त्रालयले काम अघि बढाइरहेको पौडेलले बताए । ‘जमलस्थित केशर पुस्तकालयमा रहेका दस्तावेज आफूहरूले संकलन गरी यसलाई प्रविधिमैत्रीमा रुपान्तरण समेत गर्ने योजना अघि बढाएका छौं,’ उनले थपे, ‘यस क्याम्पस वनमा फुल्ने लालिगुराँसझैं मुलुकको सुन्दर क्याम्पस बनोस् भन्ने हामी चाहन्छौं ।’

मुलुकमा थुपै प्रशासनिक तथा कानूनी जटिलता समेत रहेको उल्लेख गर्दै उनले मन्त्रालयले अघि बढाएका शिक्षाका योजनाले केही समयपछि पूर्णता पाउने दाबी गरे । ललितपुर क्षेत्र नम्बर १ प्रतिनिधि सभाका सांसद नवराज सिलवालले क्याम्पसले विश्वविद्यालय तहको शिक्षा प्रदान गर्ने अपेक्षा बोकेर अघि बढ्दा नगरपालिकाले उपलब्ध गराएको जमिनमा नयाँ भौतिक पूर्वाधार निर्माणका लागि आफूलेसमेत मन्त्रालयमार्फत बजेटको अपेक्षा गरेको भनाइ राखे ।

उनले भने, ‘मुलुकका सामुदायिक क्याम्पसको गुणस्तर सुधार गरी निजीतर्फ आकर्षित हुनेक्रम घटाउन जरुरी छ ।’ देशका कुनै पनि विद्यालय तथा क्याम्पस मात्रै प्रमाणपत्र बिक्री गर्ने कारखाना नबनोस् भन्ने उनको मत थियो ।

प्रतिक्रिया