


६ दिनमै एयर इन्डियाका ८३ उडान रद्द, बोइंग ७८७ विमानको सुरक्षामाथि प्रश्न

काठमाडौं– पछिल्ला छ दिनमा एयर इन्डियाका ८३ उडान रद्द भएका छन् । भारतको नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) का अनुसार जुन १२ देखि १७ सम्मको अवधिमा ती उडानहरू रद्द भएका हुन् ।
डीजीसीएले जनाएअनुसार रद्द भएका उडानमध्ये ६६ वटा बोइंग ७८७ विमानका थिए । एयर इन्डिया र एयर इन्डिया एक्सप्रेसले दैनिक संयुक्त रूपमा एक हजारभन्दा बढी अन्तर्राष्ट्रिय र घरेलु उडानहरू गर्दै आएका छन् ।
विमान रद्द भइरहँदा डीजीसीएले दुवै एयरलाइन्सका वरिष्ठ अधिकारीहरूसँग उच्चस्तरीय बैठकसमेत गरेको छ । प्रारम्भिक जाँचमा बोइंग ७८७ मा सुरक्षा समस्या नदेखिएको डीजीसीएले जानकारी दिएको छ ।
एयर इन्डियासँग ३३ बोइंग ७८७ विमान छन्, जसमध्ये २४ विमानको जाँच १७ जुनसम्म सकिएको जनाइएको छ । बाँकी विमानको जाँच कार्य जारी रहेको छ ।
यसैबीच, इजरायल–इरान संघर्षका कारण केही हवाई मार्गहरू बन्द हुँदा तथा उडान मार्ग परिवर्तन गरिँदा पनि उडानमा असर परेको बताइएको छ ।
यता, गत बिहीबार गुजरातको अहमदाबादबाट बेलायतका लागि उडेको एयर इन्डियाको बोइंग ७८७ विमान दुर्घटनामा परेको थियो । उडेको केही मिनेटमै भएको दुर्घटनामा चालक दलसहित २४१ जनाको ज्यान गएको थियो भने एक जनाको जीवित उद्धार गरिएको थियो ।

