कैदीका नाइके भगाउन तीनजनाको मिलेमतो रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पुष्टि

प्रहरी जवान चौधरी थुनामा


फरार कैदीका नाइके यामराज परियार।

दाङ – दाङको घोराही कारागारका कैदीलाई भगाउन सहयोग गर्ने थप एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक (एसपी) सुरेश काफ्लेले दिएको जानकारी अनुसार तीनजनाको मिलेमतोमा कैदीलाई भगाइएको प्रहरी प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ।

अहिले अनुसन्धानमै रहेकाले उनीहरूको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन्।

एसपी काफ्लेले प्रहरीभित्र र बाहिरका व्यक्तिहरुसँग मिलेर कैदी भगाइएको र कल डिटेलको आधारमा अन्य व्यक्तिहरु पक्राउ पर्नेक्रम जारी रहेकाले अनुसन्धान पूरा भएपछि सार्वजनिक गर्ने बताए।

एकजना प्रहरी जवान र दुईजना बाहिरका मान्छेको मिलेमतो रहेको देखिएपछि सोहीअनुसार प्रहरीको अनुसन्धान अघि बढाइएको उनले बताए।

कैदी भगाउन सहयोग गर्ने प्रहरी जवान धनबहादुर चौधरीलाई बिहीबार नै पक्राउ गरी अनुसन्धान थालिएको छ। अन्य दुईमध्ये एकजनालाई शुक्रबार बिहान पक्राउ गरिएको र अर्का एकजनाको खोजी भइरहेको प्रहरी प्रमुख काफ्लेले बताए।

‘तीनजनाको मिलेमतोमा भगाइएको हाम्रो प्रारम्भिक अनुसन्धानले देखाएको छ, तीमध्ये प्रहरी जवानलाई हिजै पक्राउ गरिसक्यौँ, अर्का एकजनालाई आज बिहान पक्राउ गरेर अनुसन्धान गरिरहेका छौँ,’ काफ्लेले भने, ‘थप अर्का एकजनाको पनि खोजी कार्य भइरहेको छ, सबै अनुसन्धान पूरा गरेर सार्वजनिक गर्छौ।’

फोन ट्रयाकिङको आधारमा अनुसन्धान गर्दा उनीहरूको संलग्नता भएको देखिएको प्रहरीले बताएको छ। कैदीका नाइकेसमेत रहेका राजपुर गाउँपालिकाको बेलाका निवासी २९ वर्षीय यामराज परियार बिहीबार बिहान ११ बजेतिर प्रहरीकै मोटरसाइकल लिएर भागेका थिए।

कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद फैसला भई घोराही कारागारमा जेलजीवन बिताइरहेका उनी छालाको बिरामी थिए।

त्यसकै उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको र उपचारका क्रममा ती व्यक्तिको हतकडी खोलिएको थियो।

त्यही मौकामा उनी प्रहरीकै लु३४प ४१० नम्बरको मोटरसाइकल चढेर फरार भएका छन्। उनलाई प्रहरी जवान चौधरीले नै सोही मोटरसाइकलमा राखेर अस्पताल लगेका थिए।

घटना बिहानको समयमा भएको थियो, तर प्रहरी जवान चौधरीले साँझ ४ बजे मात्रै खबर गरेपछि उनकै मिलेमतोमा भगाइएको आशंका गरिएको छ। ती कैदीले सात वर्ष जेलजीवन बिताइसकेका थिए।

उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया