
त्रिभुवन विमानस्थलबाट झण्डै २ किलो सुनजस्तो देखिने पदार्थसहित चिनियाँ नागरिक पक्राउ
काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने झन्डै २ किलो पहेँलो अर्धठोस पदार्थसहित एक जना चिनियाँ नागरिक पक्राउ परेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचरद्वारा जारी प्रेस विज्ञप्ति अनुसार हङकङबाट काठमाडौँ आएका ५८ वर्षीय चिनियाँ नागरिक JIANHUA WANG पक्राउ परेका हुन्।
मिति २०८३/०८/०२ गते बिहान अन्दाजी ०१:२५ बजे नेपाल वायुसेवा निगमको उडान नं. RA410 मार्फत हङकङबाट काठमाडौँ ओर्लिएका वाङको गतिविधि शङ्कास्पद लागेपछि सुरक्षा जाँच गरिएको थियो। जाँचका क्रममा उनले आफ्नो मलद्वारभित्र प्लाष्टिकले बेरी लुकाइछिदाइ ल्याएको अवस्थामा सुनजस्तो देखिने पहेँलो गोलाकार अर्धठोस पदार्थ (४ वटा प्लाष्टिकको प्यापसहित जम्मा १ के.जी. ८०३.७७ ग्राम) बरामद गरिएको हो।
भन्सार एरिया पार गरी बाहिर निस्कने क्रममा फेला पारिएका निज वाङलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा प्रचलित कानुनबमोजिम कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा पठाइएको प्रहरीले जनाएको छ।



कागजपत्र |
