फरार कैदी प्रकरणमा आईजीको चासो, कारागार प्रशासन र प्रहरीबीचमा आरोप–प्रत्यारोप!


काठमाडौं – जिल्ला प्रहरी कार्यालय, दाङले अस्पतालबाट भागेका भनिएका घोराही कारागारका नाइके जयराम परियार भनेर चिनिने यामराज परियार रेष्टुराँबाट नास्ता खाने क्रममा भागेको तथ्य फेला परेपछि प्रहरी प्रधान कार्यालयले चासो प्रकट गरेको छ।

घोराहीस्थित प्याडाइज रेष्टुराँमा नास्ता खाने क्रममा परियार भागेको सीसीटिभी फुटेज बाहिरिएपछि प्रहरी प्रधान कार्यालयले चासो प्रकट गर्दै छानबिनबाट दोषी देखिने सबैलाई कानुनी दायरामा ल्याउन निर्देशनसमेत दिएको छ।

प्रहरी महानिरीक्षक (आईजी) शैलेश थापा क्षेत्रीले लुम्बिनी प्रदेश प्रहरी प्रमुख नायब महानिरीक्षक (डिआईजी) प्रकाश अधिकारीमार्फत सो घटनाबारेमा जिल्ला प्रहरी प्रमुख र कारागार प्रशासनका जेलरको भूमिकाबारे छानबिन गर्न निर्देशन दिएका छन्।

प्रहरी प्रधान कायौलय उच्च स्रोतका अनुसार डिआईजीमार्फत कैदी फरार प्रकरणबारेमा जिल्ला प्रहरी प्रमुख र कारागार प्रशासनका जेलरको भूमिकाबारे छानबिन गर्न निर्देशन दिइएको छ।

यता, केन्द्रीय प्रवक्ता एवं प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त बहादुर कुँवरले आफूहरुले घटनाकै दिनदेखि अहिलेसम्म प्रहरी अनुसन्धानमा देखिएका सबै घटनाक्रम नजिकबाट नियालिरहेको बताए।

प्रहरीले परियार भागेको दृश्य कैद भएको सीसीटिभी फुटेज शुक्रबार नै लिएर अनुसन्धान सुरु गरेको छ। दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुरेश काफ्लेले फुटेज हेर्दा चरम लापरबाही देखिएको बताए।

सरासर अस्पताल नलगेर रेष्टुराँमा नास्ता खान लगिनुले चरम लापरबाही र मिलेमतो स्पष्ट रुपमा देखिन आएको एसपी काफ्लेले टिप्पणी गरे। ‘हामी अनुसन्धान पूरा गरेपछि तथ्य कुरा सार्वजनिक गर्छौं,’ एसपी काफ्लेले भने, ‘पानीमुनि गएपनि दोषी जो कोही भए पनि हामी कसैलाई छोड्दैनौं।’

कर्तव्य ज्यान मुद्दामा साढे ७ वर्ष कैद भुक्तान गरिसकेका घोराही कारागारका नाइकेलाई उपचारका लागि भनेर अस्पताल लैजाँदा हत्कडी पनि लगाइएको थिएन।

परियारलाई प्रहरी जवान धनबहादुर चौधरीले आफ्नै लु३४प ४१० नम्बरको मोटरसाइकलमा राखेर उपचार गराउन भनेर बिहीबार बिहान ११ बजेतिर अस्पताल लगेका थिए।

तर, अस्पताल नपुग्दै उनीहरू रेष्टुँरामा नास्ता खान पसेको र त्यही मौका छोपी परियार प्रहरी जवान चौधरीकै मोटरसाइकल लगेर भागेका हुन्। यसअघि प्रहरीले अस्पतालबाट परियार भागेको जानकारी दिएको थियो।

कारागारका नाइकेलाई हत्कडी लगाउने चलन नभएको प्रहरीले जनाएको छ। कुनै पनि बिरामी नरहेका परियारलाई अस्पताल उपचारका लागि किन लगिएको हो भन्ने कुरा नै रहस्यमय रहेको एसपी काफ्लेले बताए।

जिल्ला कारागार घोराहीका जेलर युवराज परियारले भने रिपोर्टिङका आधारमा छाला सम्बन्धी उपचार गराउनका लागि नाइके परियारलाई उपचारका लागि पठाउनुपरेको बताउँदै आएका छन्।

कारागारका नाइके परियार भागेपछि कारागार प्रशासन र प्रहरीका बीचमा आरोप–प्रत्यारोप चल्न थालेको छ। एकले अर्कोलाई कमजोरी तथा लापरबाही गरेको हुँदा परियार भाग्न सफल भएको दोषारोपण गर्न थालेका छन्।

प्रहरीले प्रहरी जवान चौधरीसहित थप तीनजना सर्वसाधारणलाई परियारलाई भगाउन भूमिका खेलेको भन्दै नियन्त्रणमा लिइसकेको छ। एसपी काफ्लेले अन्यको पनि त्यसमा मिलेमतो देखिएको र उनीहरूको पहिचान खुले पनि फरार रहेकाले खोजी जारी रहेको जानकारी दिए।

प्रहरीले शुक्रबार मात्रै परियारले भाग्न प्रयोग गरेको मोटरसाइकल लमही बजारभन्दा केहीमाथि जंगलमा फेला परेको जानकारी दिएको छ। प्रहरीले फरार परियारको खोजी तीब्र पारिएको तथा भारत प्रवेश गर्ने नाकाहरू पनि सिल गरिसकेको बताएको छ।

यता, प्रदेश प्रहरी कार्यालय, लुम्बिनीले एकजना प्रहरी नायब निरीक्षक (डिएसपी) को नेतृत्वमा घटनाबारे अनुसन्धान गर्न छानबिन समिति गठन गरेको छ।

प्रतिक्रिया