

प्रहरीको मोटरसाइकल लिएर कैदी फरार प्रकरणः कारागारका जेलर पक्राउ

दाङ – कैदी फरार भएको प्रकरणमा घोराही कारागारका जेलर युवराज परियार र तीन जना प्रहरीसहित सात जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
दाङ जिल्ला अदालतले सोमबार पक्राउ अनुमति जारी गरेपछि जेलर परियारसहित सात जनालाई सोमबार बेलुकी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिए।
कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय पाएका यामराज परियारलाई मिलोमतोमा फरार गराएको आशंकामा अनुसन्धान गर्न जेलर परियार, प्रहरी सहायक निरीक्षक रुद्रबहादुर सेन ठकुरी, प्रहरी हवल्दार गणेशकुमार थारु, प्रहरी जवान धनबहादुर चौधरी, दुई महिला र एक होटल सञ्चालकविरुद्ध जिल्ला अदालतले सोमबार पक्राउ अनुमति जारी गरेको थियो।
पक्राउ अनुमति जारी गरेलगत्तै उनीहरुलाई पक्राउ गरेर अनुसन्धान भइरहेको घोराही कारागारको जेलरको जिम्मेवारी सम्हालेका अमर वलीले बताए।
कैदी परियार उपचारका बहानामा कारागारबाट निस्केर भागेपछि जेलर परियारलाई जिम्मेवारीबाट पदमुक्त गरेर आइतबार जिल्ला प्रशासन कार्यालय तानिएको थियो।
त्यसपछि तुल्सीपुर कारागारका जेलर अमर वलीलाई घोराहीमा खटाइएको थियो। त्यस्तै कारागारका सुरक्षा प्रमुख प्रहरी सहायक निरीक्षक रुद्रबहादुर सेन ठकुरीलाई जिल्ला प्रहरी कार्यालयमा तानिएको थियो।
कर्तव्य ज्यान मुद्धामा जन्मकैदको सजाय काटिरहेका राजपुर गाउँपालिका–३ घर भएका २९ बर्षीय परियारलाई उपचारका लागि अस्पताल लैजाने भनी मिलेमतोमा भगाइएको प्रहरीको निष्कर्ष छ।
गत बुधबार छालाको उपचारका लागि भन्दै कारागारका नाइके परियारलाई लु ३४ प ४१० नम्बरको मोटरसाइकलमा लिएर प्रहरी जवान धनबहादुर चौधरी कारागारबाट निस्किएका थिए।
तर उनीहरु अस्पताल नगई दुई जना महिलालाई लिएर घोराहीको एक होटलमा पुगेको पाइएको दाङका प्रहरी प्रमुख काफ्लेले बताए। त्यही बेला कैदी परियार भागेको प्रहरी अनुसन्धानले देखाएको छ।
एसपी काफ्लेका अनुसार कैदी परियार र प्रहरी जवान चौधरी होटलको फरक–फरक कोठामा बसेको र त्यहीबेला कैदी परियारले प्रहरी जवानलाई कोठामा थुनेर भागेका हुन्। सो मोटरसाइकल लमही नगरपालिका६ बेलदमारको जंगलमा फेला एसपी काफ्लेले बताए।

