

नाइके फरार प्रकरणः कारागार विभागले मुद्दा चलाउन अनुमति नदिएपछि जमानीमा छुटे जेलर!
प्रमाण नपुगेरै छोड्न आदेश भयो होलाः सिडिओ रेग्मी

दाङ – कारागार विभागले अनुमति नदिएपछि घोराही कारागारबाट कैदी फरार प्रकरणमा पक्राउ परेका जेलर युवराज परियारविरुद्ध मुद्धद्दा दर्ता नभएको तथ्य सार्वजनिक भएको छ। जेलर परियारविरुद्ध मुद्दा दर्ता गर्न खोज्दा विभागले नमानेपछि उनी जिम्मा जमानीमा छुटेका हुन्।
‘अदालतले छोड्न आदेश दिएपछि जेलर रिहा भएका छन्,’ प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मील भने, ‘अदालतले खोजेको बेला उपस्थित हुने गरि हाजिरी जमानतमा छोड्न आदेश दिएको हो। प्रमाण नपुगेरै छोड्न आदेश भयो होला।’
जिल्ला सरकारी वकिल कार्यालय दाङले अदालतमा मुद्दा दर्ता गर्न खोज्दा अन्तिम समयसम्म विभागले अनुमती दिएको थिएन्। कारागारभित्रको घटना अनुसन्धान गर्ने जिम्मा कारागार विभागलाई नै रहने कानुनी प्रावधान छ।
जिल्ला सरकारी वकिल कार्यालयका सह न्यायाधीबक्ता ढकबहादुर रावतले कारागार विभागले अनुमति नदिँदासम्म जेलरविरुद्ध मुद्दा दर्ता नहुने बताए। कारागारकै जेलरले यो मुद्दा अनुसन्धान गर्ने भएकाले प्रहरी र सरकारी वकिल कार्यालयको भुमिका समन्वयकारी मात्रै हुने उनले बताए।
विभागको निर्देशककै दबाबमा जेलर परियारविरुद्ध मुद्दा दर्ता नभएको खुलासा भएको हो।
घोराही कारागारबाट कैदी फरार प्रकरणमा संलग्नता देखिएपछि अनुसन्धानका लागि पक्राउ परेका जेलर परियारविरुद्ध अभियोग दर्ता नभएपछि शुक्रबार जिम्मा जमानीमा रिहा भएका हाल सो कारागारका जेलर रहेका अमर वलीले बताए।
‘जेलर परियारविरुद्ध मुद्दा दर्ता भएको छैन। घटनाको अनुसन्धान भइरहेको छ,’ वलिले भने, ‘आवश्यक परेको बेला उपस्थित हुने गरी जिल्ला सरकारी वकिल कार्यालयको निर्णय बमोजिम जिम्मा जिमानीमा छोडिएको हो।’
कैदी यामराज परियार फरार घटनामा संलग्न भएको आशंकामा पक्राउ परेका तीन प्रहरीसहित ६ जनाविरुद्ध भने जिल्ला अदालतमा अभियोग दर्ता भएको वलीले बताए। फरार नाइके प्रकरणमा पक्राउ परेका तीन प्रहरीसहित अन्य ६ जना भने थुनामै रहेका छन्।
फरार नाइके यामराज परियार र जेलर युवराजका बीचमा दाजुभाइको जस्तै सम्बन्ध रहेको तथा त्यही भएर कारागारभित्रै पनि यामराजलाई लज जस्तै सुविधा, अधिकार दिएको आरोप लागेको थियो।
कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय पाएका परियारलाई ८ पुसमा छालाको उपचारका लागि भन्दै लु ३४ प ४१० नम्बरको मोटरसाइकलमा लिएर प्रहरी जवान धनबहादुर चौधरी कारागारबाट निस्किएका थिए।
त्यहीक्रममा उनीहरु अस्पताल नगई दुई महिलासहित होटलमा छिरेका थिए। प्रहरी जवान होटलको कोठाभित्र रहेका बेला चौधरीलाई बाहिरबाट ढोका बन्द गरेर परियार मोटरसाकल नै लिएर फरार भएका थिए।
कर्तव्य ज्यानमुद्दामा साढे सात वर्ष कैद भुक्तान गरेका कारागारका नाइके परियारलाई जिल्ला अदालतबाट २० वर्ष सजाय तोकिएको छ। फरार नाइके परियारको खोजी कार्यका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)को टोली पनि खटिएको छ।
घटनामा संलग्नहरुको बारेमा अनुसन्धान गर्न दाङका प्रहरी नायब उपरीक्षक (डिएसपी) मुकुन्दप्रसाद रिजालको नेतृत्वमा एउटा छानबिन समिति पनि गठन गरेको छ।

