

पशुपतिमा पाकेटमार गर्ने भारतीय युवा–युवती पक्राउ

काठमाडौं – प्रहरीले पशुपतिनाथ मन्दिरको परिसरमा बसेर पाकेटमार गर्ने दुई जानलाई पक्राउ गरेको छ। पक्राउ पर्ने दुवैजना भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ।
पाकेटमारी गर्ने गरेको आरोपमा एक महिला र एक पुरूष गरी दुई जनालाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) दिनेश मैनालीले बताए।
भारतको बनारस के २०/१२८ दुर्गाघाट घर भएका २६ वर्षका गोपाल अग्रवाल र वडा नम्बर १६ चितहा फुलवार सुगौली भारत घर भएकी १८ वर्षकी मुस्कान गुप्तालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ परेकाहरूसँग सोधपुछ गर्दा यसअघि गोरखाको मनकामना र कास्की पोखरालगायत ठाउँमा बसेर पनि पाकेटमार गर्ने गरेको उनीहरूले स्वीकार गरेको एसपी मैनालीले बताए।
एसपी मैनालीका अनुसार पछिल्लो समय उनीहरू पशुपतिनाथ परिसरभित्र पाकेटमार गर्ने र जयबागेश्वरीस्थित सित्तला गेस्ट हाउसमा बस्ने गरेको खुलेको छ। उक्त गेस्ट हाउसको १०८ कोठामा उनीहरू बस्ने गर्दथे।
उक्त कोठा चेकजाँच गर्दा उनीहरुको साथबाट ५ वटा मोबाइललगायत सामान बरामद भएको र उनीहरूलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको छ।
उनीहरूको साथबाट १२ प्रो आइफोन, आइफोन आड प्लस, वान प्लस नोट, सामसुङ ग्यालेक्सी एम३० र टेक्नो स्पार्क मोबाइल बरामद भएको प्रहरीले जनाएको छ। यस्तै उनीहरूको साथबाट ४२ हजार नगद पनि बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।
साथै पर्स दुई थान, चक्कु एक थान पनि बरामद भएको छ।

