

कैदी फरार प्रकरण : जेलरले बिदाकै बिचमा अस्पताल लैजाने अनुमति दिएका थिए !

दाङ – घोराही कारागारका नाइके २८ वर्षीय यमराज परियारलाई अस्पताल लैजाने अनुमती बिदा बसेका कारागारका जेलरले बिचमै आएर दिएको रहस्योद्घाटन भएको छ । यसले झन् घटना थप शंकास्पद बनेको छ ।
जेलर युवराज परियार बिदामा बसेपनि बिदाकै बिचमा अस्पताल लैजान अनुमती दिएपछि यो घटनामा थप अनुसन्धान गर्नुपर्ने देखीएको छ । जिल्ला कारागार घोराहीका जेलर युवराज अहिले जिल्ला प्रशासन कार्यालयमा तानिएका छन्।
कारागारका नाइके यमराज परियार भागेपछि जेलर परियारलाई जिम्मेवारीबाट मुक्त गरी आइतबारदेखि जिल्ला प्रशासन कार्यायमा तानिएका हुन् ।
कारागारका जेलर परियार पुस ६ गतेदेखि १३ गतेसम्म बिदामा बसेको तर, त्यहीँ बिचमा बिदा बसेका जेलरले कारागारका नाइके यमराजलाई पुस ८ गते आएर आफैं औषधि उपचारका लागि जान दिएको प्रहरी अनुसन्धानबाट खुलेको दाङका प्रहरी प्रमुख एसपि सुरेशप्रसाद काफ्लेले बताए ।
जेलर युवराजको भूमिका निकै शंकास्पद देखिएको र उहाँले नै आफूखुसी यमराजलाई कारागारको नाइके पनि तोकेकाले घटना थप रहस्यमय देखिएको हो ।
जेलर परियारले नाइके परियारलाई कारागार मात्रै होइन आफ्नो कार्यालयमा आउन-जान तथा सँगै उठबसमा पनि पुरै स्वतन्त्रता दिएका कारण यो घटना घटेको प्रहरीले आरोप लगाएको छ ।
त्यस्तै प्रहरी अनुसन्धानकाक्रममा प्रहरीको मोटरसाइकल लिएर फरार घोराही कारागारका नाइके २८ वर्षीय यमराज परियारलाई भगाउन युवतीको प्रयोग भएको पत्ता लागेको छ ।
सिसी टिभी फुटेजले युवतीको संलग्नता पुष्टि भएको अनुसन्धानमा देखीएकाले पुर्ब योजना अनुसार युवतीको प्रयोग गरि उसलाई भगाइएको स्पष्ट भइसकेको अनुसन्धानमा सलग्न एक प्रहरी अधिकारीले बताए ।
परियारलाई भगाउन भूमिका खेलेको भन्दै प्रहरीले दुई युवतीलाई पक्राउ गरेर थुनामा राखेको छ ।
बिहीबार बिहान ११ बजेतिर कारागारबाट स्वास्थ्य उपचारका लागि भनेर प्रहरी जवान धनबहादुर चौधरीले आफ्नो लु १४ प ४१० नम्बरको मोटरसाइकलबाट कारागारका नाइके यमराज परियारलाई उपचार गर्न लगेका थिए।
चौधरीले परियारलाई सोझै अस्पताल नलगेर घोराही १५ स्थित प्याराडाइज होटेल एण्ड रेष्टुँरामा खाजा खान लगेका थिए।
त्यसपछि एउटा रेष्टुँरामा नास्ता खाने क्रममा नाइके परियार प्रहरी जवान चौधरीकै मोटरसाइकल लगेर फरार भएका थिए।
खाजा खाने क्रममा प्रहरी जवान चौधरीलाई युवतीसँग भुलाएर परियार भागेको र पप्रहरीले सोमबार बेलुकासम्म घटनाबारे अध्ययनबाट प्राप्त बिस्तृत विवरण सार्वजनिक गर्ने तयारी गरेको छ ।
कारागारका नाइके परियारलाई भगाउन युवतीको प्रयोग हुनुमा योजनाबद्ध रूपमा काम भएको अनुसन्धानमा खटिएका अधिकारीले दाबी पनि गरे।
प्रहरी अधिकारीका अनुसार राजपुर गाउँपालिका बेलकाका यमराज परियारले कतर्व्य ज्यान मुद्दामा जेल परेका थिए।
प्रहरीका अनुसार, २०७१ जेठ २२ गते साविक सतवरिया गाविसकी २३ वर्षीया ४ महिनाकी गर्भवति हेमा चौधरीको हत्या आरोपमा उनी जेल परेका हुन्।
झन्डै साढे ७ वर्ष कैद भुक्तान गरिसकेका यमराज नाटकीय ढंगले पुस ८ गते अस्पताल जाने भनेर भाग्न सफल भएका हुन्।

