

कारागारका नाइके फरार प्रकरणः पुर्पक्षका लागि युवती र प्रहरी जवान जेल चलान

घोराही — घोराही कारागारका नाइके यामराज परियार फरार प्रकरणमा दाङ जिल्ला अदालतले प्रहरी जवानसहित एक युवतीलाई पुर्पक्षका जेल चलान गर्न आदेश दिएको छ।
दाङ जिल्ला अदालतका जिल्ला न्यायाधीश हिमलाल बेल्वासेको एकल इजलासले कैदी भगाउन सहयोग गरेको भन्दै प्रहरी जवान धनबहादुर चौधरी र उनीसँगै होटलको कोठामा बसेकी तुलसीपुर उपमहानगरपालिका–१० की २२ वर्षीया समी चौधरीलाई पुर्पपक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो।
उनीहरूमाथि कारागारका नाइके यामराज परियारलाई भगाउन सहयोगी भूमिका खेलेको अभियोजनमा मुद्दा दर्ता भएको थियो।
अदालतका सूचना अधिकारी राजेन्द्र शर्माले सोमबार भएको थुनछेक बहसमा घोराही कारागारका सुरक्षा इञ्चार्ज प्रहरी सहायक निरीक्षक रुद्रबहादुर सेन ठकुरीसँग १० हजार र प्रहरी हवल्दार गणेशकुमार थारुलाई ५ हजार धरौटीमा छोड्न अदालतबाट आदेश भएको जानकारी दिए।
सो प्रकरणमा युवतीलगायत होटलको समेत व्यवस्थापनको काम गरेको आरोप लागेका घोराहीका सौजन्य खनाल र घोराही उपमहानगरपालिका वडा नं। १६ की विपाशा चौधरीलाई अदालतले साधारण तारेखमा छोड्न आदेश भएको सूचना अधिकारी शर्माले बताए।
कारागार बिभागले अनुमति नदिएपछि पुस १२ गते पक्राउ परेका कारागारका जेलर युवराज परियार भने पुस १६ गते नै छुटिसकेका थिए।

