प्रहरीकै मोटरसाइकल लिएर कैदी फरार प्रकरण : जेलर र सुरक्षा प्रमुखसहित सबै प्रहरी तानिए


घोराही – घोराही कारागारबाट कैदी भागेपछि कारागारका जेलर र नेपाल प्रहरीले सुरक्षार्थ खटाएका सबै प्रहरी तानिएका छन् । कर्तव्य ज्यान मुद्धामा जन्मकैद सजाय भोगिरहेका यामराज परियारलाई उपचारका लागि भन्दै त्यहाँबाट निकालिएको र मिलेमतोमा भगाएको प्रहरीको निष्कर्ष ।

कारागारका जेलर युवराज परियारलाई जिल्ला प्रशासन कार्यालयमा र सुरक्षा प्रमुख, प्रहरी सहायक निरीक्षक रुद्रबहादुर सेन ठकुरी सहित सबै प्रहरीलाई जिल्ला प्रहरी कार्यालयमा तानिएको दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए । छालाको उपचार गर्न भनि कारागारका नाईके कैदी परियारलाई प्रहरी जवान धनबहादुर चौधरीले बुधबार दिउँसो लु ३४ प ४१० नम्बरको मोटरसाइकलमा लिएर गएका थिए ।

तर उनीहरू अस्पताल नगई होटलमा पुगेको र त्यहीबाट भागेका प्रहरीको भनाई छ । प्रहरी र कैदीले घोराहीकै थकाली होटलमा दुई जना महिलालाई लिएर गएको अनुसन्धानबाट खुलेको छ ।

घटनामा संलग्न भएका प्रहरी जवान सहित अनुसन्धानका लागि कारागारका कार्यालय सहयोगी, ती दुई महिला र होटल सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कैदी परियारले प्रहरी जवानलाई होटलको कोठामा थुनेर भागेको प्रहरी अनुसन्धानले देखाएको छ ।

भाग्न प्रयोग गरेको मोटरसाइकल लमही ६ बेलदमारको जंगलमा बिहिबार फेला परेको थियो । तर कैदी परियार भने अझै फेला परेका छैनन् । डिएसपी मुकुन्दप्रसाद रिजालको कमाण्डमा जिल्लामा र बाहिरबाट सिआईविको टोलीले समेत खोजी तथा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया