

…र ४० कटेपछि रमाउँला र छुटौंलाको खाडल

काठमाडौं– वैदेशिक रोजगारीको पीडामा रहेका व्यक्तिको भावनालाई समेटेर हेमन्त रानाले गाए– सुन साइँली, सुन साइँली ४० कटेपछि रमाउँला।
उमेरमा बाध्यताका कारणले परदेशीएकाको यो भावना ग्रामिण व्यक्तिको जनजीवनलाई प्रभावित बनाउने भएकैले गीत निक्कै चल्यो। तर नेपालको सहरी समाज भने यो गीतको उल्टो भावमा दौडिएका कतिपय उदाहरण पर्याप्त छन्।
केही समयअघि पूर्वमिस नेपाल तथा मोडल उषा खड्गी र सञ्चारकर्मी जीपी तिमल्सिनाको डिभोर्स भयो। झन्डै दुई दशकको बैवाहिक जीवनबाट उनीहरू अलग भए। यसमा खास कारण र प्रतिक्रिया दिइएको पाइन्न। तर सम्बन्धमा उतारचढाव भएपछि सँगै नबस्ने निर्णयमा यो जोडी पुग्यो।
यस्तै यो जोडीभन्दा अघि गायक रामकृष्ण ढकाल र निलिमा राणाले पनि डिभोर्सको निर्णय लिए। कतिपयले ऋणमा चुर्लुम्म डुबेपछि डिभोर्स गरिएको चर्चा गरे पनि कानुनी रुपमा यसलाई सम्बन्धमा दरार आएको परिणामका रुपमा नै व्याख्या गरिएको छ।
स्ट्यान्डअप कमेडियन मनोज गजुरेल र मिना ढकालले पनि डिभोर्सको निर्णय लिए। केही समयअघि कोरोना भाइरसका कारण अस्पतालमा लामो समय बसेका गजुरेलले अर्को बिहेको तयारी गरेका खबरहरू पनि आएका छन्।
केही बर्ष पहिलो गायकगायिका मनोज राज र अञ्जु पन्तको डिभोर्सले पनि लामो समय चर्चा पाएको थियो। नेपाली कला क्षेत्रमा सम्बन्धमा आएका बिग्रहका यी केही प्रतिनिधि घटनामात्र हुन्। सहरी समाजमा कर्मचारी, बैंकिङ, शिक्षा, पत्रकारिता, राजनीति, व्यापारिक घराना सबैतिर डिभोर्सका प्रकरण व्याप्त छन्।
सेलिब्रिटी र समाजले उदाहरणीय मानेका व्यक्तिको जीवनमा देखिएका यस्ता घटनाक्रमले नराम्रो असर पार्ने गरेको समाजशास्त्रीहरू बताउँछन्।
विशेषगरी नेपाली समाजमा विहेलाई बन्धनका रूपमा लिने गरिएको छ। स्त्री–पुरुष सामाजिक प्रक्रियाबाट एकआपसमा सँगै बाँच्ने, सँगै दुःखसुख भोग्ने, सँगै जीविका चलाउने र सँगै मर्ने वाचा र विश्वाससहित जोडिने प्रक्रिया बिहे मानिन्छ।
विहेमा आफन्त, छरछिमेकी धेरैको उपस्थिति अनिवार्य ठानिन्थ्यो, जसको उद्देश्य उक्त स्त्री र पुरुषको विवाह बन्धनको साक्षी बस्नुरबसाउनु पनि हुन्थ्यो।
अहिले भने समाज परिवर्तन भइरहेको छ। कतिपय सामाजिक मूल्य मान्यतामा रूपान्तरणको प्रयास भइरहेको अवस्था छ। यसै क्रममा विहेको धारणा र मान्यता पनि परिवर्तन भइरहेको छ।
नेपाली समाजमा दुईथरी समाजमा बिहे वा बन्धनलाई व्यवाहारिक पक्षबाट केलाउनुपर्ने समाजशास्त्रीको मत छ। तल्लो र गरीखाने समाजले बिहेलाई जिम्मेवारी काँध थाप्ने विषयका रुपमा लिन्छन्। जसको ‘साइड इफेक्ट’का रुपमा कतिपयले घर न घाटको बनाएर हिँडेका पर्याप्त उदाहरण छन्। तर त्यो समाजको ठूलो जमातको मर्मचाहिँ जिम्मेवारीसँग गाँसिन्छ।
खासगरी डिभोर्स नेपाली समाजमा एउटा जडका रुपमा स्थापित हुन थालेको र यसले समाजमा नराम्रो असर गरिरहेको समाजशास्त्रीको मत छ। बालबच्चा हुर्किँदै गरेको अवस्थामा हुने यस प्रकारका निर्णयले बाल मनोविज्ञानमा समेत प्रभाव परेका विविध तथ्यांक र अध्ययनले पुष्टि गरेका छन्
तर सहरी समाजको मनोविज्ञानचाहिँ लामो समयसम्म साथै रहे पनि सम्पत्ती र त्यो भन्दा बढी अर्को आकर्षणको लतले ४० कटेपछि डिभोर्सको प्रक्रिया अघि बढेको पाइने समाजशास्त्री बताउँछन्।
कानुनले के भन्छ?
डिभोर्स सम्बन्धी कानुनी मान्यताका पनि विविध आधार छन्। देवानी संहिताको परिच्छेद ३ ले यससम्बन्धी व्याख्या गरेको छ। डिभोर्सका लागि के–के भएकै हुनुपर्छ?
नयाँ मुलुकी ऐनका अनुसार पति पत्नी दुवैले चाहेमा जहिलेसुकै पनि पति पत्नीको डिभोर्स गर्न सक्नेछन् । यद्यपी यो कानुनले महिलालाई बढि प्राथमिकता दिएको ठान्नेहरु पनि छन्।
तर पुरुषले चाहेको खण्डका पनि केही व्याख्या छन्। नयाँ ऐनले भन्छ–
कानून बमोजिम अंश लिई वा मानो छुट्टिई पति पत्नी भिन्न बसेको अवस्थामा बाहेक पत्नीले पतिको मञ्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा, पत्नीले पतिलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा डिभोर्स गर्न सकिन्छ।
यस्तै, पत्नीले पतिको अङ्ग भङ्ग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा, पत्नीले अन्य पुरुषसँग यौन सम्बन्ध राखेको ठहरेमा पुरुषले डिभोर्सको प्रक्रिया गर्न पाउँछ।
महिलाका लागि ऐनले भन्छ–कानून बमोजिम अंश लिई वा मानो छुट्टिई पति पत्नी भिन्न बसेको अवस्थामा बाहेक पतिले पत्नीको मञ्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा प्रक्रिया अगाडि बढाउन पाइन्छ।
यस्तै, पतिले पत्नीलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा, पतिले पत्नीको अङ्ग भङ्ग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा, पतिले अर्को विवाह गरेमा, पतिले अन्य महिलासँग यौन सम्बन्ध राखेको ठहरेमा, पतिले पत्नीलाई जबरजस्ती करणी गरेको ठहरेमा पनि महिलाले डिभोर्सका लागि प्रक्रिया अगाडि बढाउन सक्छन्।
दफा ९६ बमोजिम डिभोर्सको लागि निवेदन परेमा अदालतले दुवै पक्षलाई भरसक सम्झाई बुझाई मेलमिलाप गराउनु पर्ने उल्लेख छ ।
दफा ९७ बमोजिम सम्झाउँदा बुझाउँदा पनि पति पत्नीबीच मेलमिलाप गराउन नसकेमा र विवाह कायम राख्नुभन्दा डिभोर्स हुन उपयुक्त देखेमा अदालतले डिभोर्स गरिदिनु पर्ने व्यवस्था छ।
खासगरी डिभोर्स नेपाली समाजमा एउटा जडका रुपमा स्थापित हुन थालेको र यसले समाजमा नराम्रो असर गरिरहेको समाजशास्त्रीको मत छ। बालबच्चा हुर्किँदै गरेको अवस्थामा हुने यस प्रकारका निर्णयले बाल मनोविज्ञानमा समेत प्रभाव परेका विविध तथ्यांक र अध्ययनले पुष्टि गरेका छन्।

