विपक्षी अवरोधपछि प्रतिनिधिसभा बैठक मंगलबारसम्म स्थगित


काठमाडौं– प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ। विपक्षी दलको अवरोधपछि सोमबार १५ मिनेटका लागि स्थगित गरिएको बैठक त्यसपछि सूचना टाँस गरी अर्को दिनसम्म सारिएको हो।

संसद् सचिवालयले जारी गरेको सूचनामा विशेष कारणवश तोकिएको समयमा बैठक सञ्चालन हुन नसक्ने उल्लेख गर्दै प्रतिनिधिसभा नियमावली २०८३ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले बैठक सार्ने निर्णय गरेको जनाएको छ।

यसअघि सोमबार बसेको बैठकमा सीमासम्बन्धी विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विपक्षी दलका सांसदहरूले विरोध जनाएका थिए।

उनीहरूले प्रधानमन्त्रीले संसद्मा आएर माफी माग्नुपर्ने तथा उक्त अभिव्यक्तिलाई रेकर्डबाट हटाउनुपर्ने माग गरेका छन्। लगातारको अवरोधका कारण बैठक कार्यसूची अघि बढ्न सकेको थिएन।

प्रतिक्रिया