भिजिट भिसा सेटिङ प्रकरणमा नेपाल वायुसेवा निगमका दुई कर्मचारी पक्राउ


काठमाडौं-  भिजिट भिसाको आवरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश पठाउन ‘काउन्टर सेटिङ’ गरेको आरोपमा प्रहरीले नेपाल वायुसेवा निगमका दुई कर्मचारीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याण्डेलिङ सेवामा करारमा कार्यरत प्रबिन लामिछाने र सुमित्रा चन्द रहेका छन्। उनीहरूलाई आइतबार पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

ग्राउण्ड ह्याण्डेलिङमा कार्यरत कर्मचारीहरूले यात्रु विदेश पठाउन काउन्टर सेटिङ गर्ने गरेको सूचना पाएपछि अध्यागमन विभागले अनुसन्धानका लागि प्रहरीलाई पत्राचार गरेको थियो। अध्यागमन विभाग र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको पत्रका आधारमा अनुसन्धान अघि बढाइएको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार पक्राउ परेका कर्मचारीहरूले एक भारतीय नागरिकलाई सुरुमा भारत जाने बोर्डिङ पास उपलब्ध गराएका थिए। तर सुरक्षा जाँच पार गरेपछि उनलाई पुनः दुबई जाने अर्को बोर्डिङ पास दिइएको आरोप छ।

अध्यागमन विभागको अभिलेखअनुसार ती भारतीय नागरिक जेठ ३ गते दुबई पुगेका थिए। नेपालबाट तेस्रो मुलुक जान भारतीय नागरिकले ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) पेश गर्नुपर्ने व्यवस्था भए पनि उक्त प्रक्रिया पूरा नगरेका यात्रुलाई विदेश पठाउन सेटिङ गरिएको आशंका गरिएको छ।

अनुसन्धानका क्रममा ती यात्रुलाई इन्डिगो एयरलाइन्सको भारत जाने बोर्डिङ पास र फ्लाइ दुबईको दुबई जाने बोर्डिङ पास उपलब्ध गराइएको खुलेको छ। विमानस्थलको सीसीटीभी फुटेजमा सुरक्षा जाँचपछि सुमित्रा चन्दले यात्रुसँग रहेको इन्डिगो एयरलाइन्सको बोर्डिङ पास फिर्ता लिएको देखिएको अध्यागमन विभागका एक अधिकारीले बताएका छन्।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया