
उपाधिका लागि नेपालसामु १ सय ८९ रनको लक्ष्य
काठमाडाैं- सिंगापुरमा जारी एसियाली खेलकुदको छनोट क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाली टोलीले हङ्कङबाट जितका लागि एक सय ८९ रनको लक्ष्य पाएको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङ्कङको टोलीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ८८ रन बनाएको हो ।
हङ्कङका लागि ओपनर अंशुमन रथले उत्कृष्ट अर्धशतकीय पाली खेले । विकेटकिपर ब्याट्सम्यान शाहिद वासिफले पनि अर्धशतक बनाए ।
अनुभवी ब्याट्सम्यान अंशुमनले टोलीका लागि ८० रनको योगदान गरे । लामो समय क्रिजमा टिकेका उनले ४५ बलमा ६ छक्का र ६ चौका पनि हिर्काए ।
विकेटकिपर ब्याट्सम्यान शाहिद वासिफले पनि टोलीको खातामा ५५ रन थपे । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका उनले केवल २८ बलको सामना गरी तीन छक्का र सात चौका हिर्काए ।
शिव माथुरले पनि टोलीको खातामा २६ रन थपे । चौथो नम्बरमा क्रिज समाल्न आएका उनले २१ बलमा एक छक्का र दुई चौका पनि प्रहार गरे ।
नेपाली टोलीका बलर शेर मल्ल एक्लैले चार विकेट लिए । उनले चार ओभरमा ३२ रन खर्चिए । करण केसीले पनि दुई विकेट हात पारे । सन्दीप लामिछानेले पनि एक विकेट कुम्ल्याए ।
यो प्रतियोगिताको सेमिफाइनलमा पुग्ने चारवटै टोली नेपाल, हङ्कङ, मलेसिया र ओमान यसअघि नै आगामी एसियाली खेलकुदमा छनोट भइसकेका छन् ।
प्रतियोगितामा मलेसियाले तेस्रो स्थानमा हासिल गर्यो । तेस्रो स्थानका लागि सोमबार नै खेलिएको खेलमा मलेसियाले ओमानलाई आठ विकेटले हरायो ।
एसियाली खेलकुदको २०औँ संस्करण आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म जापानमा आयोजना हुँदैछ ।



कागजपत्र |
