लोकदोहोरीमा अश्लीलता बढेको भन्दै प्रतिष्ठान कानुनी कारबाहीमा उत्रिने


काठमाडौं-  लोकदोहोरी क्षेत्रमा पछिल्लो समय बढ्दै गएको अश्लीलता र विकृतिप्रति राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कडा रूपमा प्रस्तुत हुने भएको छ।

गायक प्रकाश अधिकारी र गायिका कोपिला छिनालको भाइरल लाइभ दोहोरी, गायिका ज्योति मगरको स्टेज प्रस्तुति तथा मोडल रिया खड्काले धार्मिक स्थलमा गरेको नृत्यलाई लिएर चर्को आलोचना भएपछि प्रतिष्ठानले कानुनी कारबाहीसम्म जाने तयारी गरेको हो।

प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरका अनुसार गीत–संगीतको नाममा भइरहेको अनुशासनहीनता र मर्यादाविपरीत गतिविधिलाई अब सहन नसकिने अवस्थामा पुगेको छ। यसपटक प्रतिष्ठान केवल आन्तरिक चेतावनीमा सीमित नभई कानुनी उपचारको बाटो रोज्ने तयारीमा रहेको उनले बताइन्।

अध्यक्ष थापा मगरले यस विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका मन्त्रीसँग भेट गरी ज्ञापनपत्र बुझाउने र साइबर अपराधसम्बन्धी कारबाहीका लागि साइबर ब्युरोसँग समन्वय गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिइन्।

उनका अनुसार प्रतिष्ठानले सम्बन्धित कलाकारहरूलाई लिखित रूपमा स्पष्टिकरण दिन र सार्वजनिक रूपमा क्षमायाचना गर्न आग्रह गरेको छ। साथै, स्टुडियो सञ्चालक, वाद्यवादक कलाकार र प्रस्तुतिलाई प्रोत्साहन दिने दर्शकसमेत जिम्मेवार रहेको उनको भनाइ छ।

प्रतिक्रिया