एमाले लुम्बिनी प्रदेश प्रमुख सचेतकमा यमुना, सचेतकमा नवराज


बुटवल-  नेकपा एमाले लुम्बिनी प्रदेशसभा संसदीय दलको प्रमुख सचेतकमा रोल्पाकी यमुना रोका मगर र सचेतकमा कपिलवस्तुका नवराज लामिछाने नियुक्त भएका छन्।

संसदीय दलका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एमाले लुम्बिनी प्रदेशसभा संसदीय दलको विधानअनुसार सोमबारदेखि लागू हुनेगरी उनीहरूलाई उक्त जिम्मेवारी प्रदान गरेका हुन्।

यसअघि प्रमुख सचेतकको जिम्मेवारी तुलसीप्रसाद चौधरीले सम्हाल्दै आएका थिए भने यमुना रोका मगर सचेतकका रूपमा कार्यरत थिइन्। चौधरीले सोमबार नै कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्रीको शपथ लिएपछि प्रमुख सचेतक पद रिक्त भएको थियो।

सोही रिक्त पदमा रोका मगरलाई प्रमुख सचेतक नियुक्त गरिएको हो। रोका मगर प्रमुख सचेतकमा नियुक्त भएपछि खाली भएको सचेतक पदमा एमालेले नवराज लामिछानेलाई नियुक्त गरेको छ।

नयाँ नियुक्तिसँगै एमाले लुम्बिनी प्रदेशसभा संसदीय दलको नेतृत्व टोलीमा जिम्मेवारी पुनः बाँडफाँट गरिएको छ।

प्रतिक्रिया