‘लालीबजार’ प्रदर्शनमा अदालतको रोकपछि कलाकार सडकमा


काठमाडौं – प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘लालीबजार’माथि उच्च अदालत पाटनले रोक लगाएपछि चलचित्रकर्मीहरू सडकमा उत्रिएका छन् ।

अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै फिल्म प्रदर्शन रोक्न निर्देशन दिएपछि कलाकार तथा निर्माण पक्षले विरोध जनाएका हुन् । बादी समुदायको कथामा आधारित उक्त फिल्मको मंगलबार तय गरिएको प्रिमियर पनि अन्तिम समयमा रद्द गरिएको छ ।

नायिका स्वस्तिमा खड्का मुख्य भूमिकामा रहेको ‘लालीबजार’ले बादी समुदायसँग सम्बन्धित ‘नथिया कुप्रथा’को विषय उठाएको निर्माण पक्षको भनाइ छ ।

फिल्मले समुदायको चरित्रमा प्रश्न उठाएको भन्दै रोशनी नेपालीले उच्च अदालतमा रिट दायर गरेकी थिइन् । सोही रिटमाथि सुनुवाइ गर्दै अदालतले दुवै पक्षलाई वैशाख २२ गते उपस्थित हुन आदेश दिएको छ ।

अदालतको आदेशको सम्मान गर्दै निर्माण पक्षले प्रदर्शन स्थगित गरे पनि यसले अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने प्रयास भएको भन्दै चलचित्रकर्मीहरूले आपत्ति जनाएका छन् ।

विरोधस्वरूप कलाकार तथा चलचित्रकर्मीहरू माइतीघर मण्डलामा भेला भएका थिए ।  विरोधमा सहभागी हुनेहरूमा स्वस्तिमा खड्का, प्रदीप भट्टराई, रवीन्द्रसिंह बानियाँ, म्याक्स दीपेश खत्रीलगायत कलाकार तथा चलचित्र पत्रकारहरू रहेका छन् ।

‘लालीबजार’ षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको हो भने यसको लेखन तथा निर्देशन यम थापाले गरेका हुन् ।

प्रतिक्रिया