युट्युबमा छाडा बोलेपछि साजन श्रेष्ठसहित तीन जनाले साइबर ब्यूरोमा पुगेर मागे माफी


काठमाडौं-  तीन कमेडियन साजन श्रेष्ठ, उत्सव सापकोटा र विशाल गौतमलाई नेपाल प्रहरीको साइबर ब्यूरोले बोलाएर सम्झाएको छ ।

पडकास्टमार्फत प्रहरी संगठनको मानहानी हुने गरी अभिव्यक्ति दिएको आरोपपछि उनीहरूलाई ब्यूरोमा बोलाएर भविष्यमा त्यस्ता अभिव्यक्ति नदिने कागज गराई पठाइएको हो ।

ब्यूरोका एसपी दिलीपकुमार गिरीका अनुसार साजन श्रेष्ठको च्यानलबाट प्रसारित पडकास्टमा उनीहरूले प्रहरी संगठनलाई बदनाम गर्ने किसिमका टिप्पणी गरेका थिए ।

तीन दिनअघि ब्यूरोमा बोलाएर उनीहरूलाई आफ्नो गल्ती स्वीकार गर्न लगाइएको र अब यस्तो नदोहोर्याउने सर्तमा कागज गराइएको एसपी गिरीले जानकारी दिए ।

तीनै जना कमेडियन अश्लील शब्द प्रयोग गर्ने शैलीका कारण चिनिन्छन् । तर, औपचारिक उजुरी नपरेको कारण उनीहरूमाथि कानुनी प्रक्रिया अघि नबढाइएको प्रहरीले जनाएको छ । प्रहरीलाई लक्षित गरी गरिएको अभिव्यक्तिका कारण भने ब्यूरोले उनीहरूलाई सचेत गराएको हो ।

यसअघि साजन श्रेष्ठ एक गायकलाई गिज्जाएको आरोपमा कानुनी विवादमा समेत तानिएका कलाकार हुन् ।

प्रतिक्रिया